मानसरोवर लैजाने नाममा रकम ठगी गरेको खुलासा (विज्ञप्तीसहित)

काठमाडौं, १० पुष ।
शिवम ग्रुप होलिडेज प्रा.ली.का सञ्चालक रामचन्द्र श्रेष्ठले तीर्थ यात्रामा लैजाने भन्दै करोडौं ठगी गरेको खुलासा भएको छ ।
श्रेष्ठले भारतीय ट्राभल व्यवसायी विवेक बिश्नोईलाई माध्यम बनाएर सन् २०१८ र २०१९ मा गरी जम्मा एक करोड ११ लाख ६९ हजार ८ सय पचपन्न रुपैयाँ ठगी गरेका हुन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बिस्नोईले यस्तो आरोप लगाएका छन् ।
उनकाअनुसार सन् २०१८ मा ३३ जना भातरीय तथा गैरआवासीय भारतीय तीर्थयात्रीलाई तिब्बतको हिल्सामा ७ दिनसम्म अलपत्र पारेपछि प्याकेजको रकमभन्दा बाहेक आपत्तिकालिन भन्दै २६ लाख भारतीय रकम रामचन्द्रलाई बुझाईएको थियो ।
उनले भने,‘सुरुमा रामचन्द्रले २६ लाख भारु ठगी गरे र सन् २०१९ को अगष्टमा ५६ यात्रीबाट उठाईएको ८५ लाख भारतीय रुपैयाँ ठगी गरे । सनु २०१८ र २०१९ मा गरेर उनले हामीसँग कुल एक करोड ११ लाख ६९ हजार ८ सय पचपन्न रुपैयाँ भारतीय रकम ठगेका हुन् ।’
आफूले श्रेष्ठले गरेको उक्त ठगीको बारेमा नेपालका सम्बन्धित निकायमा जानकारी गराएको पनि जनाए । उनले थपे,‘तर, कुनैपनि निकायबाट हामीलाई न्याय भएन् । निज रामचन्द्रसँग मैले पूरा बैंकिङ कारोबार गरेको थिएँ । आवश्यक रकमपनि मैले निजलाई बैंकमार्फत नै ट्रान्सफर गरेको थिएँ। यसबारे सम्पूर्ण प्रमाण मसँग सुरक्षित नै छ ।’
सन् २०१९ मा मानसरोवर जान नपाएका ५६ जना तिर्थ यात्रीहरुले अहिले आफ्नो विरुद्धमा ठगी मुद्दामा उजुरी (एफ.आई.आर) दर्ता गराएको पनि बिश्नोईले जानकारी दिए । उनले भने,‘रामचन्द्र श्रेष्ठको ठगी धन्दाको असरले मेरो सम्पूर्ण व्यापार तथा व्यवसाय नै अहिले ठप्प भएको छ । मेरो सामाजिक प्रतिष्ठामा समेत आँच आएको छ ।’ नेपाल सरकारले श्रेष्ठलाई कडाभन्दा कडा कारबाही गरी ठगेको रकम पनि तुरुन्त फिर्ता गराउन पहल गरिदिनुपर्ने उनको माग छ ।