Aug 08, 2022

जो नेपाल धानमा आत्मनिर्भर भएको हेर्न चाहन्थे

Jun 29 , 2022

आज असार १५, हामी नेपालीले दहीचिउरा खाने दिन अनि राष्ट्रिय धान दिवस।

आज उन्नाइसौं धान दिवस मनाइरहँदा कुनै पनि रेडियोमा धानभोला सुनिएनन्। कुनै टेलिभिजनमा धानभोला देखिएनन्। नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को कार्यक्रममा पनि छैनन्। कतै कुनै रोपाइँमा पनि धानभोला देखिएनन्।

धानभोलाले आफ्नो पेसागत जीवनभर धान हेरे, धान खोजे, धान पत्ता लगाए, धानका अनेक उन्नत बिउ दिए।

धान रोप्ने तरिका दिए।

ब्याडको माटो तयार गर्ने, ब्याड राख्ने, रोपाइँको माटो बनाउने, रोप्ने, मल हाल्ने, सिँचाइ गर्ने, गोडमेल गर्ने, रोगकीराको ओखती गर्ने, धानको बिउ जम्मा गर्ने, बिउ छान्ने, धान काट्ने, सुकाउने, भण्डारण गर्ने, चामल बनाउने इत्यादि तरिका सिकाए।

धानभोलाले फिलिपिन्सस्थित अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था ‘इरी’ मा धान पढे, धान अनुसन्धान गरे, धान सिके। त्यहाँ आर्जन गरेको धानज्ञान धनुषाको ‘हर्दिनाथ कृषि फार्म’ मा १५ वर्षभन्दा बढी उपयोग गरे। अहिलेको ‘राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम’ त्यही कृषि फार्म हो।

संयुक्त राष्ट्रसंघले सन् १९६६ मा धानलाई ‘वर्ष बाली’ घोषणा गरेको थियो। त्यसपछि भोकमरीविरूद्ध जागरण ल्याउने अभिप्रायले संसारमा सबभन्दा बढी खेती हुने अन्न धान प्रवर्द्धनका लागि सन् २००४ लाई ‘धान नै जीवन हो’ भन्ने सन्देशसहित ‘अन्तर्राष्ट्रिय धान वर्ष’ घोषणा गर्‍यो। राष्ट्रसंघलाई धान वर्ष घोषणा गर्न नेपालसहित ४३ देशले आग्रह गरेका थिए।

धानखेतीको सुरूआत कहिले भयो होला!

धानभोलाले फेला पारेका प्रमाणअनुसार बढीमा १५ हजार वर्षअघि धानखेती सुरू भएको मान्न सकिन्छ।

दक्षिण एसिया, अझ खासगरी नेपाल–भारततिर यो अन्नको नाम धान नै किन रह्यो होला!

धानभोला हाँस्दै भन्थे– मानिसको प्राण धान्ने भएकाले नाम नै ‘धान’ भएको हो नि, यति पनि नबुझ्ने!

नेपाल धानले नै धानेको देश हो भन्थे उनी। धान उत्पादन राम्रो भएको वर्षको आर्थिक वृद्धिदर अघि सार्थे अनि हो कि होइन भन्नुस् त भन्थे।

यही तर्क अघि सार्दै धानबाली अनुसन्धान र विकासको कामलाई राज्यले प्राथमिकता दिनु अति जरूरी छ भन्थे। संंसारको करिब आधा जनसंख्याले शरीरलाई आवश्यक क्यालोरी प्राप्त गर्ने प्रमुख स्रोत पनि धान नै हो भन्थे। कुनै कुनै देशमा त धानलाई ‘सुनको दाना’ भन्छन् भन्थे।

धानभोलाको विचारमा हामी नेपालीले एकअर्कासँग कुराकानी सुरू गर्नुअघि ‘भात खानुभो’ भनेर सोध्ने चलन यसै चलेको होइन। भात धानबाट मात्रै बन्छ। हाम्रो मुख्य खाना भात नै हो। ‘भात खानुभो’ भनेर सोध्नुका पछाडि हाम्रो खाद्य परम्पराको चित्र छ।

पृथ्वीमा खेती गरिएका पुराना बालीमध्ये धान पनि एक हो भन्थे धानभोला। संसारकै सबभन्दा विविध स्थानहरूमा खेती गरिने बाली पनि धानै हो। नेपालको सबभन्दा होचो ठाउँ झापाको केचनाकवलमा बासमती फल्छ अनि सबभन्दा उचाइमा जुम्लाको लेकमा जुम्ली मार्सी फल्छ। जुम्लाको मार्सी चामल नेपालको ब्रान्ड बन्ने क्रममा छ।

नेपालको अन्न बालीमा धान नै मुख्य भए पनि धानको उत्पादकत्वमा धानभोला चिन्ता प्रकट गर्थे। घट्दो धानखेत र बढ्दो जनसंख्या उनको चिन्ताको मुख्य विषय थियो।

नेपालको वर्तमान उत्पादकत्वले हामी धानमा आत्मनिर्भर हुन सक्दैनौं भन्ने उनको सिधा निष्कर्ष थियो। हाल नेपालको धान उत्पादकत्व साढे तीन हजार किलोग्राम प्रतिहेक्टर वा केही बढी छ। चार हजार किलोग्राम पुगेको छैन।

हालको उत्पादकत्व दोब्बर बनाउन सके मात्रै नेपाल धानमा आत्मनिर्भर हुन्छ, निर्यात गर्न सक्ने अवस्थामा पुग्छ।

धानको उत्पादकत्व सात हजार किलोग्राम प्रतिहेक्टर पुर्‍याउने काइदा उनीसँग थियो। यसमा राज्यको सहयोग चाहिन्छ, किसान एक्लैले गर्न सक्दैन भन्थे। राज्यले गर्न सक्ने कामको सूची थियो धानभोलासँग।

सन् असी दशकको आधाउधीसम्म त नेपालले धान निर्यात गरेको हो। ‘धान–चामल निर्यात कम्पनी’ नै थियो। धानभोलाका अनुसार तराईमा यस्तै प्रकृतिका कम्पनी आठवटा थिए। यी कम्पनीले सात वर्ष धान निर्यात गरे। आठौं वर्ष नेपालले धान आयात गर्‍यो अनि बन्द भए निर्यात कम्पनी।

अहिले नेपालले कुल चामल मागको कम्तीमा एक चौथाई आयात गर्छ।

धानभोला दहीचिउरा खाने दिन असार १५ गते राष्ट्रिय धान दिवस मनाउन चाहन्थे। धानबाटै चिउरा बन्ने भएकाले धान दिवसका लागि यही दिन सबभन्दा बढी उपयुक्त देखेका थिए।

नेपाली कहावतमा कामको धमाधम बुझाउन ‘असारको पन्ध्र’ भन्ने गरिन्छ। धान किसानका लागि असारका प्रत्येक दिन असार पन्ध्र नै हुन्छन्। त्यसैले असार १५ प्रति धानभोलाको विशेष अनुराग थियो।

राष्ट्रसंघको घोषणाअनुसार सन् २००४ अर्थात २०६१ सालमा नेपालले पनि ‘अन्तर्राष्ट्रिय धान वर्ष’ मनाएको थियो। यही मौकामा धानभोलाले असार १५ गतेलाई ‘राष्ट्रिय धान दिवस’ घोषणा गराउने पहल गरे।

नभन्दै २०६१ मंसिर २९ गते कृषिमन्त्रीले मन्त्रीस्तरीय निर्णयबाट हरेक वर्ष असार १५ गते ‘राष्ट्रिय धान दिवस’ मनाउने घोषणा गरे।

धान दिवस मनाउन थालेपछि धानभोलालाई असार १५ का दिन रेडियोमा अन्तर्वार्ता दिन भ्याईनभ्याई हुन्थ्यो। पत्रिकालाई लेख दिनुपर्थ्यो। उता ‘नार्क’ को कार्यक्रममा खुमलटार पनि पुग्नै पर्थ्यो।

उनी धानमा भएका ‘क्रान्ति’ को कथा हाल्थे।

सन् १९६६ मा ‘इरी’ ले सिफारिस गरेको ‘आइआर ८’ जातको धानले विश्वभर चमत्कार नै ल्यायो। अनायासै भएको अनपेक्षित उत्पादनबाट खुसी भएर भारतको चेन्नईका एक किसानले आफ्नो नवजात छोराको नाम नै ‘आइआर आठ’ राखेका थिए अरे।

भियतनामका किसानले एक वर्षको ‘आइआर ८’ धान बेचेर होन्डा मोटरसाइकल किन्न सके रे। यसपछि त्यहाँ यो धानको नाम नै ‘होन्डा धान’ भएछ अरे।

यति कथा सुनाइसकेर धानभोला दिल खोलेर हाँस्थे। उनको गोलो, चम्किलो अनुहारमा ओठको दुवैतिरका गालाका कोठी झन् चम्किला देखिन्थे।

केही होचा, केही मोटा धानभोला एउटा झोला बोकेर काठमाडौंको बत्तीसपुतलीस्थित आफ्नो घरबाट निस्केपछि धानकै लागि दिनभरि घुम्थे। कहिले कुन रेडियोमा हुन्थे त कहिले कुन टेलिभिजनमा। कहिले ‘नार्क’ मा पुग्थे त कहिले कृषि मन्त्रालय।

धानभोलासँग धान मात्रै थिएन। धानको साथी ढैंचा पनि थियो। उनी नाइट्रोजनको प्रचुरतायुक्त ढैंचालाई हरियोे मलको रूपमा उपयोग गर्न प्रेरित गर्थे, सिकाउँथे अनि भन्थे– धानको साथी ढैंचा।

उनले धानसँगै ढैंचाको अनुसन्धान गरे। हर्दिनाथमा काम गर्दा उनले ढैंचाको पनि बिउ उत्पादन गरे।

धानखेतीमा पनि धानभोलाको जोड चैते धानमा थियो। उनका अनुसार धानको उत्पादन सूर्यबाट प्राप्त गर्ने रापमा भर पर्छ। नेपालमा चैत, वैशाख, जेठ प्रचण्ड घाम लाग्ने अर्थात अत्यधिक राप प्राप्त हुने महिना हुन्।

धानभोलाले हर्दिनाथमा गरेको एक अनुसन्धानमा फूल फुलेपछि चैते धानले छ सय क्यालोरी प्रतिदिन प्रतिसेन्टिमिटर राप पाएको पत्ता लगाए।

वर्षे अर्थात असारमा रोपिने धानले प्रतिदिन प्रतिसेन्टिमिटर पाँच सय क्यालोरी मात्र राप पाउँदो रहेछ।

घामको रापको सय क्यालोरी फरकले धानको उत्पादकत्व प्रतिहेक्टर २० देखि २५ प्रतिशतसम्म फरक पार्दो रहेछ। वर्षे धानभन्दा चैते धान २५ प्रतिशतसम्म बढी उत्पादन हुँदो रहेछ।

धानको उत्पादकत्व बढाएर नेपाल धानमा आत्मनिर्भर हुने, भोकमरी हुन नदिने, धान–चामल निर्यात गर्ने र देशको आर्थिक वृद्धिदर बढाउने एउटा प्रमुख माध्यम चैते धान नै हुन सक्छ भन्थे।

धानभोला भन्थे– धानखेतीमा अत्यावश्यक धानको राप ‘निःशुल्क प्रविधि’ अर्थात ‘नन कस्ट टेक्नोलोजी’ हो।

यसो भन्दै गर्दा उनको अनुहारमा टल्केको आभा छिनभरमै हराउँथ्यो र खिन्न देखिन्थे।

कारण के थियो भने नेपालमा चैते धान जम्मा १ लाख ५० हजार हेक्टरमा मात्रै हुन्छ जबकि समग्रमा वार्षिक सरदर १४ लाख हेक्टर जमिनमा धान खेती हुन्छ।

धानभोलाले अठारपटक राष्ट्रिय धान दिवस मनाए। उन्नाइसौं दिवसमा यस वर्ष धानभोला छैनन्। किनभने धानभोला यो संसारमै छैनन्। गत वर्ष साउन अन्तिम साता कोरोना संक्रमणले उनलाई यो सांसारिक मायाजालबाट चटक्क चुँडेर लग्यो।

यी धान वैज्ञानिक भोलामानसिंह बस्नेतलाई उनका साथीहरू प्रेमले ‘धानभोला’ भन्थे।

उन्नाइसौं राष्ट्रिय धान दिवसका अवसरमा हार्दिक श्रद्धाञ्जलि भोलामान सर! आत्माले शान्ति पाओस्।