माइक्रोसफ्ट टिम्समा अब अनलाइन गेम पनि खेल्न मिल्ने

काठमाडौं । माइक्रोसफ्टले आफ्नो भिडिओ कल प्लेटफर्म टिम्समा गेम उपलब्ध गराउने तयारी गरेको छ । माइक्रोसफ्टले हाल टिम्समा सोलिटेयर, कनेक्ट फोर, वर्डामेन्ट लगायतका अनलाइन गेम परीक्षण गरिरहेको छ ।
यो गेम टिम्समा भएका प्रयोगकर्ताले एक-अर्कासँग खेल्न सक्नेछन् । व्यावसायिक मिटिङ तथा अन्य छलफलहरूमा आइसब्रेक अथवा लामो मिटिङबाट बीचमा केही समयको विश्राम लिने उद्देश्यले यी गेम उपलब्ध गराउन लागिएको बताइएको छ ।
सामान्य गेममात्र उपलब्ध हुने बताइएकोमा कुन कुन गेम तथा कतिवटा हुनेछन् भन्ने विषयमा भन्ने ठ्याक्कै केही जानकारी बाहिरिएको छैन ।
यसका लागि कम्पनीले टिम्समा एउटा भर्चुअल स्पेस तयार गर्दैछ, जुन स्पेसमा रहेर टिम्समा सहभागीले एक-अर्कासँग मिलेर उपलब्ध खेलहरू खेल्न सक्नेछन् ।
यो भर्चुअल स्पेस माइक्रोसफ्टको भावी मेटाभर्स प्लेटफर्मको योजना अन्तर्गत रहेको छ । कम्पनीले केहि समयअगाडि मात्र टिम्समा थ्रीडी अवतारहरू उपलब्ध गराएको थियो ।
रिमोट वर्क अथवा कार्यालय नगई आफूलाई पायक पर्ने ठाउँमा बसेर काम गर्ने कुरालाई प्रोत्साहन गर्न कम्पनीले विभिन्न फिचरहरू उपलब्ध गराउँदै आइरहेको छ ।