May 26, 2023

सन् २०२३ पछि पनि नेपालले एकदिवसीय मान्यता कसरी पाउन सक्छ?

Jun 07 , 2022

नेपालले सन् २०१८ मा पहिलोपटक एकदिवसीय क्रिकेट टिमको मान्यता पाएको थियो। सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटको प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गरेर नेपालले इतिहासमा पहिलोपटक एकदिवसीय टिमको मान्यता पाएको थियो।

नेपालको एकदिवसीय मान्यता सन् २०२२ सम्मका लागि भनिएको थियो। तर कोभिड-१९ कारण अन्तर्राष्ट्रिय क्रिकेटका खेल तालिका प्रभावित भएसँगै नेपाललाई सन् २०२३ को विश्वकप छनोटसम्मका लागि एकदिवसीय मान्यता छ।

नेपालले एकदिवसीय मान्यता पाएसँगै अहिलेसम्म २१ एकदिवसीय खेल खेलेको छ। जसमा ११ खेलमा जित निकाल्दा १० खेलमा पराजय भोगेको छ।

एकदिवसीय मान्यता पाएसँगै नेपालसहित सात देशले आइसिसी क्रिकेट विश्वकप लिग-२ खेल्ने अवसर पाएका थिए। सन् २०२३ सम्म चल्ने यो सिरिजमा नेपालसहित प्रत्येक टिमले ३६ एकदिवसीय खेल खेल्ने तालिका छ। जसमा ९ वटा त्रिकोणात्मक एकदिवसीय समावेश हुनेछन्।

लिग-२ आइसिसी क्रिकेट विश्वकप २०२३ को छनोट प्रतियोगिता हो। लिग-२ मा नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका छन्। यी सातै देश एकदिवसीय मान्यता पाएका टिम हुन्।

लिग-२ विश्वकप छनोट मात्र नभएर एकदिवसीय टिमको अस्थायी मान्यता निर्धारण गर्ने प्रतियोगिता पनि हो।

जारी लिग-२ सकिदा शीर्ष पाँच टिम भित्र पर्न सक्ने टिमले अर्को विश्वकप छनोटसम्मका लागि एकदिवसीय मान्यता पाउनेछन्।

लिग-२ को सातमध्ये पुछारका दुई टिमको भने एकदिवसीय मान्यता धरापमा पर्नसक्छ।

यद्यपि लिग-२ को पुछारका दुई टिमलाई आफ्नो एकदिवसीय मान्यता जोगाइराख्न एक अवसर बाँकी नै रहन्छ।

लिग-२ मा ‍पुछारका दुई टिम र आइसिसीको तेस्रो श्रेणीको लिग (आइसिसी विश्वकप च्यालेन्ज लिग) बाट आउने शीर्ष दुई टिमबीच एकदिवसीय मान्यताका लागि प्लेअफ हुनेछ।

आइसिसीका अनुसार लिग-२ र च्यालेन्ज लिग गरी कुल चार टिमले एकदिवसीय मान्यताका लागि प्रतिस्पर्धा गर्नेछन्। जसमा शीर्ष दुई टिमले एकदिवसीय मान्यता पाउनेछन् भने पुछारका दुई टिमले च्यालेन्ज लिग खेल्नुपर्नेछ।

नेपालको सम्भावना

नेपालका लागि आफ्नो एकदिवसीय मान्यता जोगाइराख्न अहिले खेलिरहेको आइसिसी विश्वकप लिग-२ मा शीर्ष पाँचभित्र परे पुग्छ।

लिग-२ मा शीर्ष पाँचभित्र पर्न नसके नेपालले एकदिवसीय मान्यताका लागि प्लेअफ खेल्नुपर्ने हुन्छ। च्यालेन्ज लिगका दुई र लिग-२ पुछारका दुई गरी चारमध्ये शीर्ष दुई भित्र परे नेपालको एकदिवसीय मान्यता सुरक्षित रहन सक्छ।

नेपाल जारी लिग-२ मा १२ खेलबाट १२ अंक जोडेर अंक तालिकामा छैठौं स्थानमा छ। नेपालले लिगमा अझै २४ खेल खेल्न बाँकी छ।

शीर्ष स्थानको ओमानको ३२ खेलबाट ४० अंक छ भने दोस्रो स्थानको स्कटल्यान्डको २० खेलबाट २८ अंक छ। तेस्रो स्थानको युएईको २२ खेलबाट २६ अंक छ। यस्तै अमेरिकाले २० खेलबाट १८ अंक जोड्दै चौथो स्थानमा रहँदा नामिबिया १४ खेलबाट १४ अंक जोडेर पाँचौ स्थानमा छ।

नेपालभन्दा पछि रहेको सातौं स्थानको पपुवा न्युगिनीले २० खेलबाट २ अंक मात्र जोडेको छ। लिग-२ मा नेपाल सबैभन्दा कम खेल खेल्ने टिम हो।

पपुवा न्युगिनीभन्दा निकै अघि रहेको नेपालले अंक तालिकामा अघि रहेका नामिबिया र अमेरिकालाई पछि पार्न सक्ने सम्भावना छ। जसले गर्दा नेपालको एकदिवसीय मन्यता जोगिन सक्छ।

आगामी दुई सिरिज महत्वपूर्ण

नेपालले भोलिदेखि अमेरिकामा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ। सिरिजमा नेपालले ओमान र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। सिरिजमा नेपालले आफ्नो पहिलो खेल बिहीबार राति ओमानसँग खेल्नेछ।

यस्तै नेपालले असारको अन्तिम साता स्कटल्यान्डमा अर्को सिरिज खेल्नेछ। सिरिजमा नेपालसँगै घरेलु टोली स्कटल्यान्ड र नामिबिया बीच प्रतिस्पर्धा हुनेछ। सिरिजमा नेपालले पहिलो खेल नामिबियासँग असार २७ मा खेल्नेछ।

यी दुई सिरिजका आठ खेलमा नेपालले राम्रो खेल्न सकेमा एकदिवसीय मान्यता जोगिनसक्छ। यी सिरिजमा सोचेअनुरूप खेल्न नसके नेपाल एकदिवसीय मान्यताका लागि प्लेअफमा धकेलिनसक्छ। प्लेअफ २०२३ मा हुने तय भए पनि अहिलेसम्म तालिका सार्वजनिक गरिएको छैन।

अमेरिकामा हुने सिरिजमा नेपालको खेल तालिका

  • नेपाल भर्सेस ओमान : जेठ २६
  • नेपाल भर्सेस अमेरिका : जेठ २८
  • नेपाल भर्सेस ‌ओमान : जेठ ३१
  • नेपाल भर्सेस अमेरिका : असार १

(सबै खेल नेपाली समयअनुसार राति ९:१५ मा सुरू हुनेछ)

स्कटल्यान्डमा हुने सिरिजमा नेपालको खेल तालिका

  • नेपाल भर्सेस नामिबिया – असार २७
  • नेपाल भर्सेस स्कटल्यान्ड –  असार २९
  • नेपाल भर्सेस नामिबिया –  असार ३२
  • नेपाल भर्सेस स्कटल्यान्ड – साउन १
Facebook Notice for EU! You need to login to view and post FB Comments!