Mar 19, 2023

पल शाहलाई थुनामै राख्न आदेश

Jun 03 , 2022

नाबालिग बलात्कार मुद्दामा थुनामा रहेका पूर्ण विक्रम शाह (पल शाह) लाई तारेखमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ।

उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले तनहुँ अदालतकै आदेश सदर गर्ने निर्णय गरेको हो।

तनहुँ उच्च अदालतले गत चैत १० गते आदेश दिँदै पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

‘उपरोक्त विषयमा तनहुँ जिल्ला अदालतले दिएको आदेश सदर गर्ने इजलासले आदेश दिएको छ,’ उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले भने, ‘आदेशमा तनहुँ जिल्ला अदालतको आदेशलाई परिवर्तन गर्न परेन।’

नाबालिग गायिकाले आफूमाथि पटक पटक बलात्कार गरेको भन्दै पलविरूद्ध तनहुँ र नवलपुर जिल्ला अदालतमा जाहेरी दिएकी थिइन्।

उक्त जाहेरीमाथि सुनुवाइ गर्दै तनहुँ जिल्ला अदालतले पललाई थुनामा पठाएको थियो।

‘राति १२ बजेतिर पीडितलाई म्यासेज गरी साथीहरूसँग खाई बाँकी रहको बियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई निज प्रतिवादीले स्वीकार गरेको पाइयो,’ तनहुँ जिल्ला अदालतले जारी गरेको थुनछेक आदेशमा भनिएको छ, ‘एक्लै सुतेकी बालिकाको कोठामा राति १२ बजेतिर प्रवेश गर्नुपर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन, यसरी राति पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्तिको सोही राति निजले पीडितलाई जबरजस्ती करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको देखियो।’

पीडित गायिका र उनका परिवारले पछिल्लो समय अदालतमा बकपत्र गर्दा बयान फेरेका थिए। बयान फेरे पनि अदालतले अभियुक्त पललाई रिहा गर्न अस्वीकार गरेको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!