Sep 26, 2023

जमिनबाट सेना र प्रहरी, आकाशबाट हेलिकप्टरले खोज्दैछन् सम्पर्कविहीन तारा एयरको जहाज

May 29 , 2022

पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य जारी राखिएको छ।

नेपाली सेना र फिस्टेल एयरको हेलिकप्टरबाट धौलागिरि रेन्जमा खोजी कार्य जारी राखिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी जहाज सम्पर्कविहीन भएका सम्भावित क्षेत्रमा हिँडेरै पुगेका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रामकुमार दानीले सम्पर्कविहीन जहाजको खोजी जमिन र आकाशबाट गरिएको बताए।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली, ३१ नम्बर गुल्म हेडक्वार्टरबाट सशस्त्र प्रहरी र नारायण दल गणबाट नेपाली सेना परिचालन भएका छन्।

‘फिस्टेल एयरको हेलिकप्टर सम्भावित क्षेत्रमा तीन पटक पुगेर फर्केको छ। फेरि जाँदैछ,’ उनले  भने, ‘नेपाली सेनाको हेलिकप्टर पनि भर्खरै आइपुगेको छ, सम्भावित क्षेत्रमा सेनाको हेलिकप्टर जाँदैछ।’

धौलागिरि रेन्जतर्फ केन्द्रित गरी खोजी कार्य जारी राखिएको उनले जानकारी दिए।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको थियो।

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।

जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन छ। तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।

  • जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।
  • जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए। चालक दलका सदस्य र यात्रुको विवरण सेतोपाटीलाई प्राप्त भएको छ।
  • आइतबार बिहान समिट एयर र तारा एयरका जहाज सँगसँगै पोखराबाट जोमसोमका लागि उडेका थिए।
  • जोमसोम विमानस्थलका प्रमुख पुष्कल शर्माका अनुसार सँगै सँगै आइरहेका दुई जहाजले मुस्ताङको आकाशमा पुगेपछि जोमसोम विमानस्थलमा सम्पर्क गरेका थिए। ‘समिटको जहाज ल्यान्ड भयो। पछि आइरहेको ताराकोलाई पनि ल्यान्डिङका लागि सम्पर्क गरौं भन्दा सम्पर्क हुनै सकेन,’ शर्माले सेतोपाटीसँग भने,‘पाइलटले जहाजमा कुनै समस्या आएको संकेत पनि विमानस्थलको एटिसीलाई दिएका थिएनन्।’ समिट एयरले आजै जोमसोममा अर्को फ्लाइट पनि गरिसकेको थियो भने तारा एयरको पहिलो फ्लाइट थियो। जोमसोम जाने जहाज लेतेको आकाशमाथि पुगेपछि जोमसोम टावरसँग सम्पर्क गर्छन्।
  • फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो। जहाज युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो। जुन नेपाली समय अनुसार बिहान १० बजेर ७ मिनेट हुन्छ। जहाज घाँसासिखा क्षेत्रबाट हराएको देखिन्छ।
  • अधिकारीहरूले जहाज लेतेदेखि टुकुचेको बिचमा हराइरहेको हुनसक्ने आशंका गरेका छन्। लेते थासाङ गाउँपालिकामा पर्छ। थासाङका अध्यक्ष प्रदीप गौचनले लेतेदेखि टुकुचेको बीचमा मौसम खराब भएकाले जहाज त्यहीँ हराएको हुन सक्ने बताए। ‘लेतेदेखि टुकुचेबीच निकै बादल लागेको छ। अहिले यहाँ सिमसिम पानी पनि परिरहेको छ,’ गौचनले भने।
  • जहाजको खोजीका लागि नेपाली सेना र अरू निजी कम्पनीका हेलिकप्टर परिचालन गरिएको छ।
  • बादल लागेको र सिमसिम पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको छ।
  • नेपाली सेनाले जहाजको खोजीका लागि पैदल पनि टोली पठाएको छ।
  • काठमाडौंस्थित भारतीय दूतावासले जहाजमा आफ्ना चार नागरिक रहेको भन्दै उनीहरूको परिवारसँग सम्पर्कमा रहेको बताएको छ।
  • मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार क्याप्टेन घिमिरेको मोबाइलमा अहिले पनि घन्टी गइरहेको छ। ‘फिस्टेलको हेलिकप्टरबाट खोजी जारी राखेका छौं। पोखराबाट नेपाली सेनाको हेलिकप्टर पनि मुस्ताङतर्फ आउँदैछ। अहिले मौसम केही सफा भएको छ,’ शर्माले सेतोपाटीसँग भने, ‘पाइलट प्रभाकर घिमिरेको मोबाइलमा फोन गएको हुनाले उक्त मोबाइल ट्र्याक गरेर त्यो लोकेसनमा खोजी गर्दैछौं।’
Facebook Notice for EU! You need to login to view and post FB Comments!