Mar 23, 2023

धनगढीको सन्देश- जितको बधाईभन्दा असल काममा आशिर्वाद दिने संस्कार बसोस्

May 22 , 2022

‘मैले गरेको कामले धनगढीका जनतालाई फाइदा भएछ र धनगढीको अनुहार फेर्न सफल भएछु भने मात्र म जनताको बधाई र आशिर्वादको हकदार हुनेछु। यो मेरो जित होइन धनगढीको जित हो’, उपमहानगरपालिकामा मेयर निर्वाचित भएलगत्तै गोपी (गोपाल) हमालले भने, ‘जताततै निराशा र अस्तब्यस्त रहेको अवस्थामा धनगढीका जनताले मलाई विश्वास गरेका छन्, मैले काम नगरे यो भोटको अपमान मात्र होइन जनताको विश्वास भरोसा, आशा र सपनाको हत्या हुनेछ। म बोलेर होइन काम गरेर देखाउने छु।’

गोपी हमाल किन जिते र कसरी जिते म त्यसमा जान चाहन्नँ। राजनीतिक विश्लेशक र राजनीतिज्ञले यो काम गरिहाल्छन्।

मेरा लागि यो चुनावको भावनात्मक महत्व छ। म यो र यस अघिको चुनावलाई सुदूरपश्चिमको सुन्दर सुदूरपश्चिम बन्ने यात्राको ऐतिहासिक कदम मान्छु।

यसअघिको स्थानीय चुनाव ऐतिहासिक यस अर्थमा थियो कि, विभेदको राजधानी भनिने सुदूर पश्चिममा एउटा दलितको छोरोले चुनाव लड्यो र जित्यो। सुदूरका नौ वटै जिल्लाका मानिस बसोबास गर्ने धनगढीले त्यस पटक कुनै जातभात भनेन। त्यस पटक नृप वडलाई जिताउनु न्यायमा विश्वाश गर्ने सबै धनगढीबासीको नैतिक जिम्मेवारी थियो।

नृप वडले कस्तो काम गरे, के गरेनन्? त्यसको लेखाजोखा गर्ने हैसियत म राख्दिनँ।

चुनावले कमजोर तप्का र सोशित पीडित बर्गका मान्छेलाई अवसर दिनु र जिताउनु समाजको जिम्मेवारी हो। तर अवसर पाएपछि सदुपयोग गर्ने नैतिक जिम्मेवारी निर्वाचित ब्यक्तिको हुनुपर्छ। चाहे त्यो जुनसुकै जात या धर्मको नै किन नहोस्।

यो निर्वाचनको नतिजाले धनगढी सुन्दर बन्न चाहन्छ, सफा सास लिन चाहन्छ।  सफा पानी पिउन चाहन्छ। सडक, बिजुली, शिक्षा चाहन्छ। गरिब, मध्यम, धनाढ्य सबैको शहर बन्न चाहन्छ।

समग्रमा धनगढी एउटा बस्ती होइन, दिगो शहर बन्न चाहन्छ त्यो जनचाहनालाई पुरा गर्ने जिम्मेवारी अब गोपी हमालको काँधमा आएको छ।

गोपी हमाल एक कुशल ब्यवस्थापक हुन्। तर राजनीति ब्यवस्थापन मात्र होइन यो खेल पनि हो।  यो खेल बडो बुद्धिमतापूर्ण तरिकाले उनले खेल्नुपर्ने छ। सुन्दर सुदूरपश्चिमको अवधारणालाई जसरी गोपी हमालले अगाडि बढाए र सुदूर पश्चिम सम्भावनाको थलो हो भन्ने कुनै सरकारी पद नलिँदा पनि  गरेर देखाए त्यसको नतिजा पनि हो आजको जित। उनले कसरी काम गर्छन् त्यो आगामी दिनले बताउनेछ।

धनगढीको बासिन्दा भएकाले आज गोपी हमाललाई म बधाई भन्दा पनि केही सुझाव दिन चाहन्छु।

  • तपाईँ तुरून्तै काम सुरू गर्नुहुनेछ भन्ने आशा गर्छु। सम्मान र बधाई ग्रहण गर्न  समय खेर नफाल्नु होला। अति आवश्यकबाहेक उद्‍घाटन र गोष्ठिमा समय खर्च नगर्नुहोला।
  • जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापना गर्नुहोला।
  • स्मार्ट सिटी जस्ता जनताले नबुझ्ने जार्गन र नाराबाजी नर्गनुहोला।
  • आफूले चुनावी घोषणा-पत्रमा उल्लेख गरेका बाचा कार्यान्वय गर्न समय तालिका बनाइ सम्पन्न  गरेको  रिपोर्ट जनतालाई बुझाउनुहोला।
  • गरिब, कमजोर र पिछडिएका समुदायलाई मुलधारमा ल्याउन हरसम्भव प्रयास गर्नुहोला।

मैले गोपी हमाल आजीवन धनगढीमा पसिना र आँशु  बगाएर सुदूरको आत्मासँग जोडिएको ब्यक्ति हुन्।

जितले उहाँमा कति पनि अहंकार नपलाओस्। जनताको सच्चा सेवक बन्ने सौभाग्य गोपीलाई प्राप्त छ।

धनगढीका जनताले जिताएर इतिहास लेखिसके। अब असल काम गरेर इतिहास लेख्ने जिम्मा गोपीको हो।

यो चुनाव कसैको हार होइन, भोटको शक्तिको जित हो। यो जितले कसैलाई मालिक बनाउने छैन। यो सुदूर पश्चिममा एउटा नयाँ संस्कारको थालनी हो।

जितमा बधाई भन्दा असल काममा आशिर्बाद दिने संस्कार जो पुरा देशलाई आवश्यक छ। धनगढी दिगो विकास, न्याय र लोकतन्त्रको उदाहरण् बनोस् शुभकामना।