Sep 23, 2023

गगन थापाले गरे बलात्कारको उजुरी दिने हदम्यादबारे पुनर्विचार गर्न माग

May 20 , 2022

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको अभियोग लागेका व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभामा बोल्दै थापाले आठ वर्ष अघि आफू बलात्कारमा परेको भन्दै एक युवतीले सार्वजनिक गरिसकेपछि दोषीमाथि अनुसन्धान हुनुपर्ने बताएका हुन्।

हिजो साँझ घर जाँदा मेरो श्रीमती र दुई छोरीहरू एउटा सामाजिक सन्जालमा आएको नौजवानले आफूमाथि आठ वर्षअघि भएको बलात्कारबारे बताइरहेको भिडियो हेरिरहेका थियौं। त्यसको प्रतिक्रियामा मैले मेरी छोरीको आँखामा डर देखेँ,’ उनले भने, ‘यत्रो विषय सार्वजनिक भैसकेपछि तत्कालै जसलाई अभियोग लागेको छ तत्कालै उसलाई अनुसन्धानको दायरामा ल्याउनका निम्ति म अनुरोध गर्दछु।’

थापाले बलात्कार सम्बन्धी कानुनमा रहेको हदम्यादमा आवश्यक पुनर्विचार गर्न पनि सरकारसँग माग गरेका छन्। ‘हामीले यही संसदबाट बनाएको बलात्कार सम्बन्धी कानुन मुलुकी फौजदारी संहिताको खास गरी हदम्याद सम्बन्धी विषयका सम्बन्धमा पुनर्विचार गर्न पनि सरकारलाई निर्देशन दिन पनि अनुरोध गर्न चाहन्छु।’

मुलुकी फौजदारी संहिताले बलातकारका घटनामा एकवर्षसम्म उजुर गर्न पाइने व्यवस्था गरेको छ। बालबालिकामाथि भएका बलात्कार तथा यौन शोषणका घटनाबारे दुई थरि हदम्यादको व्यवस्था हाम्रो कानुनमा छ। एउटा हदम्यादको व्यवस्था घटनाभएको वर्षदिनसम्म उजुरी दिन पाउने हो।

पिडित बालबालिका १८ वर्ष पुगेको (बालिग भएको) एकवर्षसम्म आफैले उजुरी गर्न पाउने व्यवस्था पनि कानुनमा छ।