Sep 26, 2023

कमल थापाले सूर्य चिन्हमा चुनाव लड्ने सहमति गरे तर पाएनन् एउटै पालिका

Apr 28 , 2022

स्थानीय चुनावलाई राप्रपा नेपालले नेकपा एमालेसँग तालमेलको सहमति गरे पनि कुनै पनि पालिकामा प्रमुख वा उपप्रमुखको उम्मेवारी दिन पाएन।

वैशाख ११ र १२ मा स्थानीय चुनावका लागि उम्मेदवारी दर्ता भए पनि कमल थापा नेतृत्वमा रहेको राप्रपा नेपालबाट कुनै पनि पालिका प्रमुख वा उपप्रमुखमा उम्मेदवारी परेको छैन।

चैत ३० गते एमालेसँग पाँच बुँदे सहमति गर्दै राप्रपा नेपालले सूर्य चिन्हबाट आफ्ना उम्मेदवारले उम्मेदवारी दिने सहमति गरेको थियो।

उनीहरूबीच ‘देशभरि तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने’ सहमति भएको थियो। तर राप्रपाले एउटै पालिका प्रमुख वा उपप्रमुखमा आफ्ना उम्मेदवार उठाउन पाएन।

राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले पार्टी परित्याग गर्दै राप्रपा नेपाल ब्युँताएका थिए। उनले छोटो समयमा सबै जिल्लामा पार्टी समितिहरू बनेको तथा संगठन विस्तार भएको दाबी गर्दै आएका थिए।

राप्रपा नेपालका स्थानीय तह निर्वाचन परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले पार्टीबाट कहाँ, को उम्मेदवार भए भन्ने यकिन जानकारी प्राप्त भइनसकेको बताए।

उनकाअनुसार पालिका प्रमुख र उपप्रमुखमा भने पार्टीबाट उम्मेदवारी परेको छैन।

‘यतिउति उम्मेदवारी पर्‍यो भन्ने अहिलेसम्म थाहा भइसकेको छैन। गाउँगाउँमा तालमेल भएका छन्। यसको विवरण जिल्ला अध्यक्षहरूलाई पनि थाहा भइसकेको छैन,’ उनले सेतोपाटीसँग भने, ‘पालिका प्रमुख/उपप्रमुखमा भने हाम्रो पार्टीबाट उम्मेदवारी परेको छैन। वडाध्यक्ष र वडा सदस्यमा भने उम्मेदवारी परेको जानकारी छ।’

उनले कुन-कुन जिल्लामा कुन पदमा उम्मेदवारी परेको भन्ने अहिलेसम्म जानकारी नआएको दाबी गरेका छन्।

राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले केही जिल्लामा तालमेल भए पनि यकिन विवरण आउन समय लाग्ने बताए।

‘पाँचथर, सुनसरीलगायत जिल्लामा उम्मेदवारी परेको छ,’ उनले भने, ‘गोरखा, काठमाडौंतिर पनि हो कि… यकिन विवरण छैन। वैशाख १७ पछि थाहा होला।’

राप्रपा नेपाल र एमालेसँग भएको चुनावी तालमेलको ४ नम्बर बुँदामा ‘राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने। निजहरू निर्वाचित भएपश्चात पनि राप्रपा नेपालमै आवद्ध रहने’ उल्लेख छ।

यो हेर्नुस् सहमति पत्र:

निर्वाचनमा जुन चिन्हबाट उठेको हो जितेपछि उक्त व्यक्ति सोही पार्टीको भएको मानिने उल्लेख छ। निर्वाचन ऐन र राप्रपा तथा एमालेबीचको सहमतिको बुँदा बाझिएको थियो।

स्रोतका अनुसार दुई कारणले राप्रपा नेपालले यो चुनावमा आफ्ना उम्मेदवारहरू पालिका प्रमुख तथा उपप्रमुखमा उम्मेदवारी दिन सकेनन्। पहिलो- संगठन बलियो नहुँदा एमालेले प्रमुख पद छाड्न चाहेन। दोस्रो- राप्रपा नेपालका कार्यकर्ताले सूर्य चिन्हमा उठ्न चाहेनन्।

राप्रपा नेपालले तीर चिन्ह लिएर चुनावमा जाने तयारी गरिरहँदा अध्यक्ष थापाले पार्टीमा छलफलबिनै एमालेसँग सहमति गर्दै सूर्य चिन्ह लिएर उठ्ने निर्णय गर्दा केही नेता असन्तुष्ट थिए।

राप्रपा नेपालले भने श्रेष्ठको नेतृत्वमा संवाद समिति नै बनाएर एमालेसँग चुनावी तालमेलको गृहकार्य गर्दै आएको थियो।

एमालेसँग घोषित चुनावी तालमेल नगरेको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले भने पार्टीलाई फाइदा हुने गरी चुनावी तालमेल गरेको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीकै गृहनगर झापाको दमकमा सत्तागठबन्धनसँग मिलेर मेयरमा राम थापालाई उठाएको छ भने त्यहाँ एमालेसँग प्रतिस्पर्धा हुँदैछ।

चितवनको भरतपुर महानगरमा भने राप्रपाले उपप्रमुख लिएको छ भने माडी र गैंडाकोटमा पनि उपप्रमुख लिएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!