May 15, 2022

सेयर किन्नेलाई भेदभाव- कसैलाई सबै सूचना दिने, कसैबाट लुकाउने

Apr 26 , 2022

बीमा कम्पनीको चुक्तापुँजी वृद्धि योजना, सेयरधनीमा छैन सूचनाको समान पहुँच

सञ्चालनमा रहेका ३९ बीमा कम्पनीहरूमध्ये आइतबारसम्म २४ वटा कम्पनीहरूले मात्रै बीमा समितिमा पुँजी वृद्धि योजना पेस गरेका छन्। १५ वटाले पेस गर्न बाँकी छ।

योजना पेस नगर्नेमा केही संस्थाको चुक्तापुँजी पुगिसकेको पनि बीमा समितिले जनाएको छ। पुँजी पुगे पनि योजना पेस नगर्ने कम्पनीलाई कारबाही गरिने बीमा समितिले बताइरहँदा समितिबाट गम्भीर चुक भने भइरहेको छ।

त्यो हो, सर्वसाधारण सेयरधनीहरूमा सूचनाको समान पहुँच।

सेयर बजारमा मूल्य प्रभाव पार्ने सूचना सकेसम्म सबैले एकैचोटि पाउनुपर्छ भन्ने मान्यता छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले समेत कम्पनीहरूलाई मूल्यमा प्रभाव पार्ने कुनै पनि सूचना कम्पनीहरूको सञ्चालक समितिले निर्णय गर्नेबित्तिकै नेप्सेमार्फत् सार्वजनिक गर्न निर्देशन दिँदै आएको छ। सर्वसाधारण सेयरधनीले समान रूपमा सूचना पाउने माध्यम पनि यही हो।

यसरी मूल्य प्रभाव पार्ने विषय बैठकमा लैजाने भएमा सञ्चालक समितिको बैठकसमेत बजार खुल्नुअगावै, सेयर बजार खुल्नुअघि वा बन्द भएपछि बसेर नेप्सेको वेबसाइटमार्फत् लगानीकर्तालाई यस्तो निर्णयको जानकारी दिनुपर्ने व्यवस्था नेप्सेले गरेको छ।

‘कम्पनी र नेप्सेबीच सेयर सूचीकरणको क्रममा हुने सम्झौतामा पनि मूल्य प्रभाव पार्ने यस्ता निर्णय तत्काल जानकारी गराउनु पर्ने उल्लेख छ,’ नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने, ‘हाम्रो सम्झौताको अभिप्रायः पनि लगानीकर्ताहरूले सूचनामा समान पहुँच पाऊन् भन्ने हो।’

तर अहिले समाचारहरूमा उडन्ते खबर हरू सार्वजनिक भइरहेका छन्। कतिपय सञ्चारमाध्यममा भनिएका छन्, ‘स्रोतका अनुसार धेरै कम्पनीहरूले पुँजी वृद्धिका लागि हकप्रद जारी गर्ने उल्लेख गरेका छन्।’

बीमा समिति भने पुँजी वृद्धिसम्बन्धी जानकारी सार्वजनिक नगर्ने पक्षमै छ।

‘संस्थाहरूले बुझाएको पुँजी वृद्धि योजना कतिको सम्भव छ/छैन हामी हेर्दैछौं,’ समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले भने, ‘हामीले यो सूचना सार्वजनिक गर्ने छैनौं। मलाई लाग्दैन यसले बजारमा भित्री कारोबार हुन सहयोग पुग्नेछ।’

हुन त संस्थाले पेस गरेको योजनामा लगानीकर्ता विश्वस्त नभए सो कम्पनीको सेयरमा लगानी गर्ने/नगर्ने निर्णय लगानीकर्ताले नै गर्छन्। तर यसलाई नै लुकाउने गरेमा यसको लाभ पहुँचवालाहरूले मात्रै पाउने छन्।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको चुक्तापुँजी चार गुणाले बढाउँदासमेत सबै बैंकहरूलाई यससम्बन्धी विवरण आ-आफ्नो वेबसाइटमै राख्न लगाएको थियो।

बीमा समितिले जीवन बीमा कम्पनीका लागि पाँच अर्ब र निर्जीवन बीमा कम्पनीका लागि दुई अर्ब ५० करोड रूपैयाँ चुक्तापुँजी तोकेको छ। जीवन बीमा कम्पनीबाट १३/१४ वटाको योजना आएको र निर्जीवनबाट भने ३/४ वटाको मात्र योजना पेस हुन बाँकी रहेको समितिले उल्लेख गरेको छ।

भित्री कारोबारको सम्भावना 

नेपाली सेयर बजारमा भित्री कारोबारका उदाहरण कम छैनन्।

यसअघि नै पनि बजारमा सूचीकृत अजोड इन्स्योरेन्स कम्पनीबाट सञ्चालकहरूले नै हकप्रदको सूचना चुहाएर ‘इन्साइडर ट्रेडिङ’ गरेका थिए। कम्पनीको तेस्रो वार्षिक साधारण सभाले ५० प्रतिशत हकप्रद सेयर दिनुअगावै यो सूचना चुहाइएको थियो। यसमा धितोपत्र बोर्डले एक सञ्चालकलाई कारबाहीका लागि अध्ययन गरिरहेको बताएको थियो। तर बोर्डले न यस्तो अध्ययनको नतिजा सार्वजनिक गर्‍यो, न कारबाही नै।

‘नेपाली सेयर बजार सट्टेबाजीजस्तो मात्र बन्नुको कारण पनि भित्री कारोबार हो,’ लगानीकर्ता निरव पुडासैनीले भने, ‘हाम्रोमा हरेक संस्थाबाट भित्री सूचनाहरूको चुहावट भइरहेको हुन्छ।’

केही समयअघि जलविद्युत कम्पनीहरूमा पनि यसरी सूचना सार्वजनिक हुनुअगावै संस्थापक आफैंले आफ्ना सेयर बिक्री गर्ने गरेको पाइएको थियो। पछिल्लो समय सेयर बजारमा विभिन्न झुण्डहरू बन्ने गरेका छन्। सञ्चालकहरू, नीतिगत तहका मानिसहरूसँग पहुँच बनाउने र बजारबाट लाभ लिने प्रवृत्ति बढेको छ। सञ्चालकहरूले नै यस्ता सूचना आफू अनुकूलका समूहलाई बाँड्ने प्रवृत्ति समेत बजारमा छ।

त्यसैले पनि सेयर बजारमा प्रभाव पार्न सक्ने यस्ता सूचना लुकाइरहने नभई सबैले एकैपटक प्राप्त गर्न सक्ने गरी सार्वजनिक गर्न लगाइनु पर्छ।