Mar 27, 2023

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पद धरापमा

Mar 31 , 2022

संसदमा अविश्वासको प्रस्ताव दर्ता भएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पद धरापमा परेको छ।

अविश्वासको प्रस्तावमा मतदान हुनुअघि एउटा सत्तारूढ घटकले विपक्षी समूहलाई सघाउने निर्णय गरेपछि खानको पद धरापमा परेको टाइम्स अफ इन्डियाले जनाएको छ।

३४२ सदस्यीय नेसनल एसेम्ब्लीमा बहुमतका लागि १७२ सांसद चाहिन्छन्। बुधबार सत्तारूढ मुत्ताहिद्दा क्वामी मुभमेन्ट-पाकिस्तानले विपक्षीलाई साथ दिने निर्णय गरेपछि अब सत्तारूढ गठबन्धनसँग १६४ सांसदमात्रै बाँकी रहेका छन्।

विपक्षीहरूसँग १७७ सांसद पुगेका छन्। खानको आफ्नै पार्टीभित्र पनि विवाद छ। उनलाई समर्थन नगर्ने सांसदको संख्या २५ देखि ४० जना रहेको बताइन्छ। पाकिस्तानको इतिहासमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पूर्ण कार्यकाल चलाउन पाएका छैनन्।

पूर्वक्रिकेटर खान प्रधानमन्त्री भएको चार वर्ष भएको छ। उनीविरूद्ध यसअघि पनि अविश्वासको प्रस्ताव आएको थियो। त्यतिबेला उनले सत्ता जोगाएका थिए। अब अप्रिल पहिलो साता अविश्वासको प्रस्तावमाथि मतदान हुने भनिएको छ। यसपालि पद जोगाउन खानलाई मुस्किल पर्ने देखिन्छ।

यसअघि खानले आफ्नो सरकार ढाल्न विदेशीहरूले पैसा दिएको आरोप लगाएका थिए। अल्पमतमा परे पनि खानले राजीनामा नदिने सञ्चार मन्त्री फवाद चौधरीले बताएका छन्। ‘प्रधानमन्त्री अन्तिम बलसम्म लड्नु हुनेछ,’ चौधरीले ट्वीट गर्दै भनेका छन्।