मैले नै ०७४ को निर्वाचनमा बालबाल जितेको हुँ यार ! गठबन्धन नगरी कसरी हुन्छ ?- देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन गरेरै जानुपर्ने बताएका छन् । गठबन्धनबिना प्रतिस्पर्धा गर्दा २०७४ सालको संसदीय निर्वाचनमा पार्टीले थोरै सिट जितेको भन्दै उनले सत्ता गठबन्धनका दलबीच चुनावी तालमेलको विकल्प नरहेको बताएका हुन् ।
सोमबारको केन्द्रीय समिति बैठकमा शेखर कोइरालासहितका केही नेताले गठबन्धनको विपक्षमा धारणा राखेपछि सभापति देउवाले गठबन्धन गरेर जाँदा नै सहज हुने बताए ।
‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार । गठबन्धन नगरी कसरी हुन्छ ? पहिला धेरै साथीले हारेका हैनन् र ?’ केन्द्रीय समिति बैठकमा देउवाले भने ।
विगतमा माओवादीले आफूलाई समेत गोली हानेको प्रसंग निकाल्दै देउवाले पुराना कुरा भुलेर माओवादीसँग गठबन्धन गरेर नै अघि बढ्नुपर्ने बताए ।
सत्ता गठबन्धनका दलहरुसँगका विगतका कुरा भुलेर अगाडि बढ्नुपर्ने उनले बताए ।