Mar 20, 2023

इन्टरनेटमा प्रयोग हुने सीडीएन के हो र यसबाट के फाइदा हुन्छ ? यसरी बुझ्नुहोस्

Mar 25 , 2022

काठमाडौं । ‘सीडीएन’को पूरा रूप ‘कन्टेन्ट डेलिभरी नेटवर्क’ हो । जसले प्रयोगकर्ताबाट टाढा रहेको अनलाइन सामग्रीलाई छिटो र सहज तरिकाले उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्दछ ।

यसले वेबसाइटको प्रस्तुति (पर्फर्मेन्स) का साथै यसको सुरक्षा र विश्वसनीयतामा सुधार ल्याउने काम गर्दछ । यो विशेषगरी धेरै ट्राफिक भएको वेबसाइटको व्यवस्थापनको लागि उपयुक्त हुन्छ ।

भिडिओ स्ट्रिमिङ प्लेटफर्महरू नेटफ्लिक्स, युट्युब, टिकटक तथा फेसबुक र ई–कमर्स कम्पनी अमेजन ,दराज जस्ता सोसल मिडिया प्लेटफर्महरूमा रहेका अनलाइन सामग्री  प्रयोगकर्तालाई छिटो उपलब्ध गराउन सीडीएन प्रयोग गरिएको हुन्छ ।सीडीएनलाई एउटा उदाहरणको रूपमा अझ सहज तरिकाले बुझौँ ।

यदि कुनै वेबसाइट अमेरिकामा बनाइएको छ । तर हामीले त्यसमा भएका अनलाइन सामग्री (फोटो, भिडिओ र लिखित) लाई नेपालबाट हेर्न खोज्यौँ भने धेरै समय लाग्छ । यसको प्रमुख कारण भनेको दूरी हो ।

तर यसमा सीडीएन प्रयोग गरियो भने दूरी घट्न पुग्छ । सीडीएनले स्थानीय पीओपी (प्वाइन्ट अफ प्रिजेन्स) मा अनलाइन सामग्रीलाई स्टोर (सञ्चित) गर्छ ।

जसले गर्दा नेपाल नजिक रहेको लोकल पीओपीबाट अनलाइन सामग्री छिटो र सहज रुपमा हाम्रो कम्प्युटर तथा मोबाइलसम्म आइपुग्छ । सीडीएन प्रयोग गर्दा अनलाइन सामग्री छिटो र सहज रुपमा उपलब्ध हुनुका साथै यसले डीडीओएस (डिनायल अफ सर्भिस अट्याक) नामक साइबर आक्रमणबाट पनि वेबसाइटलाई सुरक्षित राख्छ ।

यसको अर्को फाइदा भनेको छुट्टाछुट्टै क्षेत्रमा छरिएर रहेका प्रयोगकर्ताको आवश्यकताअनुसार वेबसाइट धनीले अनलाइन सामग्री उपलब्ध गराउन सक्नु हो ।

वेबसाइटमा कुनै एउटा क्षेत्रका प्रयोगकर्तालाई  एक प्रकारको अनलाइन सामग्री चाहिएको हुन सक्छ । तर अर्को क्षेत्रकालाई त्यो अनावश्यक पनि हुन सक्छ । यस्तोमा सीडीएनले अनलाइन सामग्री नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्दछ ।