स्थानीय तहमा जुन पार्टी बलियो उसैलाई गठबन्धनको उम्मेदवार बनाइने, कसको पक्कड बलियो ?

सत्तारुढ गठबन्धनमा आगामी स्थानीय तह निर्वाचनमा मिलेरै जाने भन्नेबारे छलफल भइरहेको छ । बिहीबार भएको सत्ता गठबन्धनको बैठकमा मिलेरै आगामी स्थानीय तहको चुनावमा जानेबारे छलफल भएको नेताहरुले बताएका छन् ।
बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले अघिल्लो चुनावमा गठबन्धनभित्रका जुन दलको स्थानीय तहमा बलियो उपस्थिति रहेको छ उही दललाई उम्मेदवार दिएर बाँकी दललाई सघाउन सकिने बारे धारणा राखेका थिए ।
यस्तै गठबन्धन कमजोर भएको स्थानमा चाहिँ छलफलका आधारमा साझा उम्मेदवार खडा गर्न सकिने देउवाले धारणा राखेका छन् । यसबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबारको केन्द्रीय समिति बैठकमा पनि ब्रिफिङ गरेको एक नेताले दाबी गरे ।
उनले भने, ‘मिलेर नै चुनावमा जाने भनेर गठबन्धनमा छलफल भएको प्रचण्डले बनाउनु भएको छ । त्यसका निम्ति आवश्यकताअनुसार विभिन्न कार्यदलहरू बनाएर जाने पनि भन्नु भएको छ ।’ यद्यपि स्थानीय तहको हकमा बढी स्थानीय तहलाई नै सक्रिय पारिनुपर्नेमा पनि गठबन्धनमा कुरा आएको छ ।
अघिल्लो स्थानीय चुनावको अङ्कगणित, कसको कति ?
–नेपाली कांग्रेस
नेपाली कांग्रेसले गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुख गरी २ सय ६६ स्थानीय तहको नेतृत्व जितेको थियो । कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष र नगर उपप्रमुखमा २ सय २२ जना निर्वाचित भएका थिए । त्यस्तै २ हजार २ सय ८७ वडामा कांग्रेसले वडा अध्यक्ष जितेको थियो भने ८ हजार ६ सय ८० जना वडासदस्य कांग्रेसबाट निर्वाचित भएका थिए । यसरी कांग्रेसले २०७४ को स्थानीय निर्वाचनमा कुल ११ हजार ८ सय ५६ जना जनप्रतिनिधि जितेको थियो ।
–माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुख गरी १ सय ६ स्थानीय तहको नेतृत्व जितेको थियो । माओवादीबाट १ सय ११ जना गाउँपालिका उपाध्यक्ष र नगर उपप्रमुखमा जित्दा १ हजार १ सय २२ वडा अध्यक्ष निर्वाचित भएका थिए । माओवादी केन्द्रबाट ४ हजार १ सय २१ वडा सदस्यसहित कुल ५ हजार ४ सय ४० स्थानीय जनप्रतिनिधि निर्वाचित भएका थिए ।
–नेकपा एकीकृत समाजवादी
अघिल्लो चुनावमा यो पार्टी दर्ता भएको थिएन । तत्कालिन समयमा यस पार्टीका नेता कार्यकर्ता नेकपा एमालेमा रहेका थिए । तसर्थ यसको यथस्त आंकडा निर्माण हुन सकेन ।
–राष्ट्रिय जनमोर्चा पार्टी
राष्ट्रिय जनमोर्चाले दुई प्रमुख र दुई उपप्रमुख जितेको थियो ।