प्रभुपे प्रयोगकर्ताले अब फोनपेको क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र भुक्तानी सेवा प्रदायक प्रभुपेबीच सहकार्य भएको छ ।
बुधबार एक कार्यक्रमका बीच फोनपेका तर्फबाट नायव प्रमुख कार्यकारी दिवस सापकोटा र प्रभु पेका प्रमुख कार्यकारी अधिकृत विक्की शाहीले सम्झाैतामा हस्ताक्षर गरे ।
सम्झौतासँगै अब प्रभु पे फोनपे नेटवर्कमा आबद्ध भएको छ । अबदेखि प्रभु पे प्रयोगकर्ताले फोनपेको क्यूआर (Scan & Pay) मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् ।
डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडि स्थापना भएको फोनपेमा हाल पाँच लाख ५० हजारभन्दा बढी मर्चेन्ट रहेका छन् ।
बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् ।
हालसालै खल्ती वालेट पनि फोनपेको क्यूआर सेवामा एकीकृत भएको छ । देशका प्रमुख डिजिटल वालेट फोनपे नेटवर्कमा आवद्ध भएसँगै थप लाखौं नेपालीले क्यूआर स्क्यान गरी विभिन्न भुक्तानी गर्नसक्ने भएका छन् ।