Sep 19, 2023

सरकारले संविधानको मर्म र भावना अनुसार नै स्थानीय चुनाव गराउनु पर्छ– प्रकाशमान सिंह

Feb 01 , 2022

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको मर्म र भावना अनुसार निर्धारित मितिमै स्थानीय तहको निर्वाचन गर्नु पर्ने बताएका छन् । निर्वाचन आयोगले संविधान र कानुन बमोजिम सरकारलाई स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेको अवस्थामा आवश्यक प्रक्रिया पुरा गरी तत्काल निर्वाचनको मिति घोषणा गर्नु पर्ने उनले बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा खोव कार्यक्रमको निरीक्षणका क्रममा रहेका नेता सिंहले वर्तमान सत्ता गठबन्धन र सरकार नै संविधान र लोकतन्त्रको रक्षा गर्ने सन्दर्भमा निर्माण भएकाले यो सरकारले संविधान मिच्न नमिल्ने बताए ।

‘स्थानीय तहको निर्वाचनका लागि आयोगले मिति प्रस्ताव गरिसकेको छ। त्यसआधारमा सरकारले स्थानीय तहको मिति निर्धारण गरेको राम्रो हो,’ उनले भने ।

कानुन संशोधन  गरेर भन्दापनि अहिलेको संविधान र ऐनमा जे व्यवस्था रहेको छ त्यही अनुसार सरकारले स्थानीय तहको निर्वाचन गराउनु पर्नेमा उनले जोड दिएका छन् ।

‘यो सरकार नै विशेष अवस्थामा गठन भएको हो। तत्कालीन कम्युनिष्ट सरकारले म्याण्डेड बमोजिम कार्य गर्न नसकेको र संविधानलाई भंग गर्ने प्रयास गरेकाले त्यो संविधानको रक्षा गर्न यो गठबन्धन सरकार बनेको हो’ उनले भने, ‘त्यसैले यो सरकारले संविधानको मर्म र भावनाबमोजिम काम गर्नुपर्ने हुन्छ। कानुन संशोधन गर्नेभन्दा पनि अहिलेको संविधान र ऐनमा जे व्यवस्था छ, त्यहीअनुसार सरकारले काम गरेको राम्रो हुन्छ।’