Sep 26, 2023

आगामी जेठ पहिलो साता स्थानीय तहको निर्वाचन गर्ने सरकारको तयारी

Feb 01 , 2022

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ पहिलो साता स्थानीय तहको निर्वाचन गराउने बताएका छन् । देउवाले नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँसँगको भेटमा आगामी जेठ ४ भित्र स्थानीय तहको निर्वाचन गरिसक्ने र त्यसका लागि केही दिनमै निर्वाचनको मिति घोषणा हुने बताएका हुन् ।

साथै उनले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पनि निर्देशन दिएका छन् । बागमतीका सभापति बानियाँसँगै सहभागी काठमाडौंको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले प्रधानमन्त्री देउवा स्थानीय तहको निर्वाचन जेठ ४ पछाडि धकेल्ने पक्षमा नरहेको बताएका छन् ।

‘प्रधानमन्त्रीज्यूले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ मा गर्ने तयारी रहेको जानकारी दिनुभयो। उहाँ एक दिन पनि पर सार्ने पक्षमा हुनुहुन्न । हामीलाई प्रधानमन्त्रीज्यूले तपाईंहरु चुनावका लागि तयारी गर्नुस् भन्नुभयो,’ बस्नेतले भने ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटमा प्रदेश सभापति बानियाँले प्रधामन्त्री एवं पार्टी सभापति देउवासँग स्थानीय तहको निर्वाचनका बारेमा जिज्ञासा राखेका थिए ।

उक्त जिज्ञासको जवाफमा देउवाले आगामी जेठ ४ गतभित्र स्थानीय तहको निर्वाचन सकिने गरी मिति घोषणा हुने बताएका हुन् । साथै स्थानीय तहको निर्वाचनसम्म पनि गठबन्धन कायमै राखिने देउवाले बताएका छन् ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!