देउवा–प्रचण्ड भेटवार्ता, एमसीसीले गठबन्धनलाई कुनै असर नगर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवाले गत शनिबारको गठबन्धन बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गराउनका लागि दलहरुसँग दवाब दिएसँगै गठबन्धमा विवादको स्थिति देखापरेको छ ।
सोमबार विहान प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच एमसीसी र स्थानीय तहको निर्वाचनका विषयमा १ घण्टा लामो छलफल भएको छ । छलफलका विस्तृत विवरण हाल खुलाइएको छैन । प्रचण्ड निकट स्रोतका अनुसार एमसीसीकै कारण गठबन्धनमा कुनै खटपट नहुने बताइएको छ ।
एमसीसीको पक्षमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी देखिएको छ । त्यसैगरी सत्ता प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई एमसीसी पास गर्नमा सघाउने वचन दिएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटालाई पदबाट हटाएको खण्डमा आफूले एमसीसी पास गर्न सघाउने भन्दै उनले देउवा समक्ष च्याँखे थापेका छन् ।
त्यसैगरी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा कुनैपनि हालतमा एमसीसी स्वीकार गर्न नसकिने बताएको छ । यस परिस्थितिमा दुई शीर्ष नेताहरुको भेटलाई विशेष रुपमा हेरिएको छ ।