यी हुन् राष्ट्रियसभा निर्वाचनमा एमालेलाई ‘क्लीन स्वीप हुनबाट जोगाउने एक्ला उम्मेदवार

सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पा राष्ट्रियसभाका १९ सिटका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनको ‘क्लीन स्वीप’ रोक्ने नेकपा एमालेका एक्ला उम्मेदवार बनेका छन् ।
नेकपा एमालेका उम्मेवार शेर्पा ४,७७० मतसहित अल्पसंख्यकतर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।
को हुन् शेर्पा ?
सोलुखुम्बुको नाम्चे बजारका शेर्पा २०४६ सालबाटै नेकपा एमालेसँग जोडिएका व्यक्ति हुन् । शेर्पाले ‘नेपाल ल क्याम्पस, काठमाडौं’मा अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्यका रुपमा विद्यार्थी राजनीतिमा प्रवेश गरेर एमालेसँग जोडिएका थिए ।
२०५७ सालमा उनी नाम्चे गाविसको अध्यक्ष भए । पछि पार्टीको जिल्ला कमिटी सदस्य हुँदै पर्यटन विभागको केन्द्रीय सदस्य पनि भए । उनको नाम्चे बजारमा होटल व्यवसाय पनि छ । गाविस अध्यक्षको रुपमा कार्यकाल पूरा गरेपछि उनी सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा चार कार्यकाल अध्यक्ष भए ।
उनलाई एमाले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक सांसदको उम्मेवारको सूचीमा पनि राखेको थियो । तर उनी सिफारिसमा परेनन् ।