Mar 20, 2023

अत्यावश्यक बाहेकका सबै सरकारी काम अनलाइनबाट गर्न सुझाव

Jan 25 , 2022

काठमाडाैं । निजामती कर्मचारीमा कोरोना सङ्क्रमण तीव्र बन्दै गएपछि कर्मचारीहरूले अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्न सरकारलाई सुझाव दिएका छन् । अनलाइन माध्यमबाट सेवा प्रवाह गर्न सकिने सबै सेवा अनलाइन प्रणालीबाटै प्रवाह गर्नुपर्ने कर्मचारीहरूले बताएका छन् ।

उक्त ट्रेड युनियनका महासचिव तेजकुमार केसीले अहिले ३० प्रतिशत कर्मचारीलाई कोभिड भएको र यही गतिमा सङ्क्रमण तीव्र बन्दै गए अधिकांश कर्मचारीमा कोरोना सङ्क्रमण हुने बताए । उनले भने, ‘अत्यावश्यकबाहेकका काम अनलाइन माध्यमबाटै ‘वर्क फ्रम होम’ गर्नुपर्छ, व्यक्तिको स्वास्थ्यभन्दा काम ठूलो होइन ।’

उनका अनुसार कार्यालयमा सुब्बादेखि सचिवसम्मले एउटै फाइलमा काम गर्नुपर्ने हुनसक्छ । त्यसैले कम्तीमा माघभर सबै कर्मचारीले अनलाइनको माध्यबाट घरबाटै काम गर्ने वातावरण सरकारले मिलाउनुपर्छ ।

अहिले बढी भीडभाड हुने सबैजसो जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, मालपोत, राहदानी विभागलगायतका कार्यालयमा भने आलोपालो प्रणालीबाट सेवा प्रवाह भइरहेका छन् । सरकारले गत वर्ष वैशाख र जेठमा कोरोना सङ्क्रमण दर उच्च तहमा पुगेपछि घरबाटै अनलाइन सेवा प्रवाह गरेको थियो ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले पनि अहिलेको प्रविधिअनुसार अनलाइनबाटै सेवा प्रवाह गर्नुपर्ने बताउँछन् । सरकारले वैकल्पिक व्यवस्था अपनाएर अनलाइनकै माध्यबाट काम गर्ने व्यवस्था गर्नुपर्ने र जीवन रक्षाका लागि पनि यही विधि उत्तम हुने उनकाे भनाइ छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रवीन्द्रजङ्ग थापाले बढीमा माघभर कोभिड सङ्क्रमण दर उच्च तहमा पुग्ने अनि क्रमिक रूपमा घट्दै जाने स्वास्थ्य विज्ञहरूले बताएकाले सो अवधिभर अनलाइनबाटै सेवा प्रवाह गर्नुपर्ने बताए ।

उनले भने, ‘सम्भव भएका सबैजसो कार्यालयमा अनलाइन सेवा र कागजविहीन प्रणाली सुरु गर्नुपर्छ ।’

अहिले पनि कोभिड सङ्क्रमण दर ५० प्रतिशतभन्दा बढी भएकाले अनलाइनबाट सेवा प्रवाह गर्न सकिने सबै काम अनलाइनबाटै गर्नुपर्ने मन्त्रालयले जनाएको छ । -गाेरखापत्र

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अनुसार तीनै तहका गरी करिब डेढ लाख कर्मचारीमध्ये ३० प्रतिशत कर्मचारीलाई कोरोना सङ्क्रमण भएको अनुमान गरिएको छ ।