अफलाइन बुकिङमा जाँदा पठाओ राइडर अपहरण र लुटपाटमा परेको खुलासा

पठाओले शनिबार राति अपहरणमा परेको भनिएका राइडर आफ्नो नभएको स्पष्ट पारेको छ । कम्पनीले पठाओ अनलाइन राइड शेयरिङ एप भएको स्पष्ट पार्दै आफ्नो सिस्टममा उक्त राइडको विवरण नभेटिएको जनाएको छ ।
‘पठाओको सेवा लिन र दिन मोबाइल एपमार्फत बुकिङ गर्नुपर्ने हुन्छ । यसरी सेवा प्रदान गर्दा यात्रा गरिरहेको सवारीको विवरण, सेवाग्राही र राइडर दुवैको व्यक्तिगत जानकारी तथा यात्रा गरिरहेको स्थानको विवरण पठाओको एपमा उपलब्ध हुन्छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसअघि प्रहरीले कोटेश्वरबाट शनिवार राति एकजना पठाओ राइडर अपहरित भएको र चढेकै यात्रुले राइडरलाई धापाखेल पुर्याई अपहरण लुटपाट गरेको जानकारी बाहिर ल्याएको थियो । तर समाचारमा बताइएको घटना भएको समयमा लिइएको राइड पठाओको अनलाइन राइड नभएको कम्पनीले स्पष्ट पारेको छ ।
‘यस्तो राइड सुरक्षित र सुनिश्चित दुवै नहुने भएकाले अफलाइन राइड लिने र दिने काम नगर्न हामीले बारम्बार सेवाग्राही र राइडर दुवैलाई सुझाउँदै आएका छौँ,’ कम्पनीले अगाडि भनेको छ । पठाओ मोबाइल एपको विवरण अनुसार अपहरण र लुटपाटमा पर्ने व्यक्ति प्रवीन राईले सो घटना हुनु अगाडि सो दिन सामाखुसीदेखि कोटेश्वरसम्म अन्तिम राइड लिएको देखिन्छ ।
रातको ११ बजेर १८ मिनेट जाँदा सामाखुसीबाट लिएको राइड ११ बजेर ३३ मिनेट जाँदा कोटेश्वरमा टुंगिएको थियो । तर कोटेश्वरदेखि घटनास्थल धापाखेल पुगेको कुनै पनि विवरण पठाओ एपमा उपलब्ध नरहेको बताइएको छ ।
‘यसरी हेर्दा पठाओको सेवा लिँदा वा दिँदा घटना भएको देखिँदैन । निजले बाटोमा भेटेका व्यक्तिलाई बार्गेनिङ गरेर राइड लिएको देखिन्छ, जुन सरासर गलत हो,’ पठाओ नेपालले भनेको छ ।
अफलाइन राइड लिने दिने दुवैलाई असुरक्षित सडकमा बसेर यात्रुलाई बार्गेनिङ गरी राइड लिने प्रवृत्ति देखि सावधान हुन कम्पनीले आग्रह गरेको छ । मोबाइल एपमार्फत राइड रिक्वेस्ट नगरी वा रिक्वेस्ट गरेको राइड क्यान्सिल गरी अफलाइन राइड लिँदा सेवाग्राही र राइडर दुवैको व्यक्तिगत विवरण र राइड तथा सवारीको विवरण रेकर्डमा हुँदैन ।
जसले गर्दा दुवैलाई सुरक्षा संवेदनशीलता बड्छ । त्यसैले यो घटनामा जस्तै आपराधिक मानसिकता भएका मानिसले गलत फाइदा उठाउन सक्छन् ।
अनलाइन राइडको समयमा कसैले गलत गरिहाले पनि व्यक्तिगत, राइड र सवारीको जानकारी मोबाइल एप तथा पठाओको आईटी सिस्टममा हुने भएकाले सप्रमाण प्रहरीमा उजुरी दिन सकिन्छ र सो जानकारीका आधारमा पीडकलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई समेत सहज हुन्छ । यति मात्र होइन पठाओले अहिले राइड सेयरिङ बीमा समेत सुरु गरेको छ ।
पठाओ एप मार्फत सहजीकरण गरि उपलब्ध सेवाहरू प्रयोग गर्ने सेवाग्राही तथा राइडरहरूको एक लाखसम्मको दुर्घटना उपचार बीमा र सवारी दुर्घटनाका कारण मृत्यु वा अपाङ्गता हुन पुगेको खण्डमा दश लाखसम्म बीमा दाबी गर्न सकिन्छ ।
तर अफलाइन राइड लिँदा बीमा समेत सुविधा पाइँदैन । ‘त्यसैले सुरक्षित, सुनिश्चित राइडका लागि अनलाइन राइड मात्र लिन र दिन हामी हाम्रा सम्पुर्ण सेवाग्राही र राइडर साथीहरूलाई अनुरोध गर्दछौँ,’ कम्पनीले आग्रह गर्दै भनेको छ ।