सत्ता गठबन्धन र कानुनविद्बीच छलफल, होला त वैशाखमा स्थानीय निर्वाचन ?

सत्तारुढ गठबन्धनले वरिष्ठ कानुनविद्सँग निर्वाचनका सन्दर्भमा छलफल गर्न लागेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे गठबन्धनका शीर्ष नेता र कानुनविद् बीच छलफल हुन् लागेको हो ।
नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले सत्तारुढ पाँच दलका शीर्ष पाँच नेताले निर्वाचनका सन्दर्भमा कानुनविद्सँग राय लिन लागेको बताए । उनले भने, ‘स्थानीय सरकारको समयावधि र तीनै तहको निर्वाचन एकै पटक गर्ने सन्दर्भमा कानुनविद्सँग छलफल गर्न लागिएको हो ।’ शुक्रबार बसेको गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले निर्वाचनका सन्दर्भमा कानुनविद्सँग छलफल गर्ने निर्णय गरेको थियो ।तीन चरणमा सम्पन्न स्थानीय तहको समयावधि वैशाख ३१, जेठ १४ र असोज २ मध्ये कसलाई भन्ने भन्नेमा विवाद छ । गठबन्धनका नेताहरुले असोज २ लाई समयावधि भन्नुपर्ने तर्क राखेको पाइन्छ भने विपक्षी एमाले वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने पक्षमा छ । तर गठबन्धनभित्र आगामी मंसिरतिर तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने विषयमा छलफल सुरु भएको छ । यस विषयमा गठबन्धनले कानुनविद्सँग छलफल गरेर निर्णयमा पुग्ने तयारीमा छ ।