May 11, 2022

जसका बुवा बुटवलबासीलाई फिल्म हेर्न सिकाएर बेपत्ता भए

Dec 30 , 2021

बटौलीका सिनेमा हलवालाको दुईपुस्ते कहानी       

आजभन्दा करिब पाँच दशकअघिको कुरा हो।

पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र हुँदाताका बुटवलको बटौली बजार गुलजार थियो। त्यसमाथि उबेलै एउटा सिनेमा हल!

२०३१ सालतिरको कुरा हो, महेश्वरगोपाल लाकौलले आफ्नै घरमा सिनेमा हल खोलेका थिए। त्यसको नाम थियो- मिलन प्रकाश चलचित्र मन्दिर।

त्यति बेला नेपाली फिल्म फाट्टफुट्ट मात्र बन्थे। भारतीय फिल्म पनि उतैको हलमा देखाएको धेरै समयपछि मात्र नेपाल आउँथे। बटौलीको एक मात्र सिनेमा हल पनि बन्द भएपछि चलचित्र हेर्न रूचाउनेहरू भैरहवा, भारतको नौतनवा र गोरखपुरसम्म जान थाले। जब नयाँ फिल्म लागेको थाहा हुन्थ्यो, उनीहरू साइकलमा बत्तिँदै उता पुग्थे।

बुटवलका रामचन्द्र क्षेत्रीलाई आफ्नो ठूलो साइकल दुई-तीन घन्टा चलाएर हरेक साता नौतनवासम्म फिल्म हेर्न जाँदाको रमाइलो अहिले पनि सम्झना आइरहन्छ।

‘नौतनवामा जयहिन्द र ओम भन्ने दुइटा हल थिए। नयाँ फिल्म लागेको छ रे भन्ने थाहा पाएपछि साथीहरू मिलेर साइकलमै पुग्थ्यौं,’ रामचन्द्र भन्छन्, ‘बुटवलबाट ३५/४० किलोमिटरको बाटोपछि अर्को साथीलाई राखेर साइकल कुदाउँदा पनि फिल्म हेर्ने हुटहुटीले थकाइ लाग्थेन।’

स्कुल र क्याम्पस पढ्दा बिदाको दिनमा साथीहरू मिलेर धेरैपटक भैरहवा र नौतनवा पुगेको उनी बताउँछन्।

‘मसँग धेरै मिल्ने साथी मिनबहादुर ध्वजु थिए। हामी स्कुल र क्याम्पसमा सँगै पढ्यौं। म धेरैजसो उनीसँगै फिल्म हेर्न पुग्थेँ,’ उनले भने।

रामचन्द्रले सबभन्दा पहिले हेरेको चलचित्र हो ‘वनफूल’। हिन्दी फिल्म वनफूल २०२८ सालतिरै बनेको हो। तर उनले २०३१ सालमा बटौलीकै उही पुरानो मिलन प्रकाश हलमा हेरे।

कालिकानगरकै नारायण अर्याल पनि बटौली उक्त हलमा ४० पैसामा फिल्म हेरेको सम्झिन्छन्।

‘फिल्मको नाम त अहिले बिर्सिएँ। तर ४० पैसाको टिकट काटेर सबैभन्दा अगाडि काठको बेन्चमा फिल्म हेरेको सम्झना छ,’ नारायणले भने।

तर बटौलीबासीलाई फिल्मको मजा दिने यो मिलन प्रकाश चलचित्र मन्दिर २०३१ सालमै बन्द भयो। हल बन्द भएपछि भने नारायण पनि रामचन्द्रजस्तै गरी फिल्म हेर्न भैरहवा र नौतनवासम्म पुग्थे।

‘बसमा नौतनवा पुगेर फिल्म हेरेर फर्किन दस रूपैयाँ नेपाली चाहिन्थ्यो। उति बेला दस रूपैयाँ पाउन कम्ता मुस्किल थिएन। फिल्म हेर्न पुग्ने पैसा भयो भने साइकलमा जान्थ्यौं,’ उनले भने।

यसपछि २०३२ सालतिर भैरहवा खजहनामा ‘पञ्चरत्न चलचित्र मन्दिर’ सञ्चालन भयो। भैरहवा, नौतनवासम्म जान नसक्नेहरू भने मेलाहरूमा देखाइने नाटक र फिल्म हेरेर मनोरञ्जन लिन्थे।

२०३५/३६ सालतिर बुटवलको कान्ति स्कुलमा हरेक वर्ष हिउँदमा मेला लाग्थ्यो। २०/२५ दिन लाग्ने मेलामा विभिन्न सामग्रीको किनमेलसँगै जादु र फिल्म पनि देखाइन्थ्यो। विराटनगरका भगवानदास गुप्ता अस्थायी सिनेमा घर बनाएर फिल्म देखाउन बुटवल आइपुग्थे।

टिन र प्लास्टिक बारेर बनाइने अस्थायी सिनेमा हल मेला अवधिभरि दर्शकले खचाखच भरिन्थ्यो। मेला सकिएपछि बन्द भइहाल्ने। फिल्मका पारखीहरूलाई मजा चखाएर जान्थ्यो।

त्यही मजाको स्वाद बुटवलका द्वारिका उदयलाई परेको थियो।

फिल्ममा निकै रूचि भएकाले मेलामा फिल्म देखाउन बुटवल आएका भगवानदाससँग द्वारिकाको संगत बढ्दै गयो। मेला अवधिभर भगवानदाससँगै घुमफिर गर्ने उनले पछि आफैं फिल्म देखाउने सोच बनाए। भगवानदाससँग सबै कुरा बुझे। अनि मेला सकिएपछि त्यही वर्षदेखि फिल्म देखाउन सुरू गरे।

द्वारिकाले सानो घुम्तीमा फिल्म देखाउने चाँजो मिलाएका थिए। त्यसको नाम राखे- राजेश टुरिङ प्याकेज।

यो घुम्ती सिनेमा हल बुटवलको हाटबजारपछि अहिलेको भलाई कोष रहेको स्थान नजिकै थियो। टिनले छाएर बनाइएको हलमा असार-साउनको बर्खामा पानी चुहिन्थ्यो।

पानी परेर चुहिन थालेपछि द्वारिकाले यसलाई बर्खाका बेलामा भने सार्ने सोचे। अहिले बुटवल उपमहानगरपालिका कार्यालय अगाडि रहेको बालमन्दिरको घर भाडा लिए। अनि त्यहीँ फिल्म लगाउन सुरू गरे।

बर्खाभरि बालमन्दिरमा र हिउँदमा बाहिर घुम्ती सिनेमा देखाउँदा देखाउँदै उनी बुटवलमा फिल्म हलका मालिक भनेर चिनिन थालेका थिए।

भगवानदाससँगको संगतले द्वारिकालाई बुटवलमा बाह्रै महिना चल्ने सिनेमा हल चलाउने बाटो देखाइदियो।

द्वारिकाले हाटबजार, बालमन्दिर र फर्साटिकरमा समेत राजेश टुरिङ र पछि लक्ष्मी टुरिङ प्याकेज चलाए। २०४३ सालदेखि भने बुटवलको ट्राफिकचोकमा जग्गा भाडा लिए। त्यसमा त्रिपाल टाँगे र फिल्म देखाउन थाले। पछि उनले त्यहीँ पक्की हल बनाए।

उक्त हलको नाम रह्यो बुटवल चलचित्र मन्दिर।

यसैलाई बुटवलको पहिलो पक्की सिनेमा हल मानिन्छ। बुटवल चलचित्र मन्दिर खुलेपछि फिल्म हेर्न भैरहवा र नौतनवासम्म पुग्नेहरूलाई धेरै सजिलो भयो।

धेरै अगाडिदेखि फिल्म हेर्न भारतसम्म धाउने रामचन्द्र क्षेत्री द्वारिकाको हलले नै बुटवलवासीलाई फिल्म हेर्न सिकाएको बताउँछन्।

‘बुटवल चलचित्र मन्दिर सुरू भएपछि त शनिबार फिल्म हेर्ने दिन नै हुन्थ्यो। क्याम्पस पढ्ने बेलामा साथीहरू हुल बनाएर हेर्न जाने चलन थियो,’ रामचन्द्रले सम्झिए, ‘अहिलेजस्तो केटा र केटीहरू सँगै मिलेर हेर्न जाने चलन थिएन। केटीहरू दिदीबहिनी र साथीहरू मिलेर जान्थे। हामी पनि केटा साथीहरू मात्रै जान्थ्यौं।’

आफूले बिहे गरेपछि भने श्रीमती तारालाई लिएर धेरैपटक फिल्म हेर्न पुगेको उनले बताए।

रामचन्द्रजस्तै बुटवलका रन्जित शेरचन, शिवनारायण श्रेष्ठ, अरूण श्रेष्ठ, मृगेन्द्र शेरचन लगायत त्यति बेला धेरै सिनेमा हेर्नेहरूमा गनिन्थे।

द्वारिकाले घुम्ती सिनेमा हल चलाउँदा उनका छोरा प्रदीप नौ वर्षका थिए। पछि बुवाकै बाटोमा हिँड्दै उनी चलचित्र निर्माण र सिनेमा हल सञ्चालनमा लागे।

‘बुटवल चलचित्र मन्दिर सुरू गर्दा पनि म सानै थिएँ। बुवालाई मेरा दाइ राजकुमारले सघाउनुहुन्थ्यो,’ प्रदीपले भने।

प्रदीपका अनुसार एक हजार ७३ जना अट्ने बुटवल चलचित्र मन्दिरमा फिल्म हेर्न बुटवल वरिपरिका गाउँबाट मानिसहरू बस चढेर आउँथे, ‘शनिबारको दिन त टिकट पाउन हम्मे हुन्थ्यो।’

उक्त हल त्यति बेलै एक करोड रूपैयाँ लगानीमा बनेको प्रदीप बताउँछन्। दर्शकहरू भरिएको देखेर हौसिएका द्वारिकाले छोरा प्रदीपलाई निर्माता बन्न हौस्याए।

२०४५ सालतिर यादव खरेल नेपाल परिवार नियोजनमा जेनरल म्यानेजर थिए। बुटवलमा परिवार नियोजन संघ सञ्चालन गर्दा यादवसँग द्वारिकाको चिनजान भएको थियो। सामान्य चिनजानबाट सुरू भएको उनीहरूको मित्रता घनिष्ठ भइसकेको थियो। यादव र द्वारिका मिलेर फिल्म बनाउने निधो गरे। नाम राखे ‘चेलिबेटी’।

यादव निर्देशक रहेको उक्त फिल्म निर्माताको जिम्मेवारी द्वारिकाले छोरा प्रदीपलाई नै दिए। त्यही फिल्मको निर्माता बन्ने बुवाको आग्रहले आफूलाई चलचित्र उद्यमी बनाएको प्रदीप बताउँछन्।

‘विज्ञान विषय पढिरहेको म पढाइसँगै विद्यार्थी राजनीतिमा थिएँ। बुवाको पहिलो चलचित्रमै निर्माता बनेर काम गरेपछि उतै लत बस्न लाग्यो,’ उनी भन्छन्।

‘चेलिबेटी’ बाट निर्माण थालेका प्रदीपले त्यसयता ‘मालतीको भट्टी’, ‘अल्पविराम’, ‘कहीँ मिलन कहीँ विछोड’, ‘नमस्ते नेपाल’, ‘अर्धकट्टी’, ‘हाम्रो माया जुनीजुनीलाई’, ‘शुभलभ’ लगायत ११ वटा फिल्म बनाइसकेका छन्। एउटा नेवारी फिल्म निर्माणाधीन छ।

बुवाको प्रेरणाबाट चलचित्र क्षेत्रमा लागेका प्रदीपलाई २०५९ सालमा बज्रपात पर्‍यो। अरूलाई फिल्म देखाउँदै मनोरञ्जन दिइरहेका द्वारिकाको जीवन फिल्मी शैलीमै मोडियो।

फागुन १ गतेको त्यो घटना प्रदीप यसरी सम्झिन्छन्ः

उनी काठमाडौं बस्थे। फिल्मकै कामले मुम्बई जाने तयारी थियो। बुवा द्वारिका सँगै थिए। अघिल्लो दिन काठमाडौंमै रहेकी छोरीको घरमा बस्न भनेर गए। भोलिपल्ट बिहानै द्वारिका प्रदीपको कोठामा आए र ‘पोखरा जाने’ भन्दै हिँडे।

द्वारिका त्यसपछि कहिल्यै फर्किएनन्। एकाएक सबै चटक्क छाडेर बेपत्ता भए।

‘अघिल्लो दिन दिदीकहाँ गएर बिहान मेरो कोठामा आउनुभयो। म त्यही दिन मुम्बई जाँदै थिएँ। बुवाले पोखरा जाने भन्नुभयो। गाडी लिएर जानुभन्दा होइन प्लेनमा जान्छु भन्नुभयो। टिकट पनि लिइसक्नुभएको थियो। त्यसरी हिँड्नुभएको बुवा फर्किनुभएन,’ उक्त घटना सम्झिँदै प्रदीप भन्छन्।

बुवा बेपत्ता भएको खबर पाएपछि प्रदीप चार दिनमै मुम्बईबाट फर्किए। उनले भारत र नेपालका विभिन्न सहरमा द्वारिकालाई खोजे। कतै भेट्न सकेनन्।

द्वारिकाले पोखरा जाने टिकट रद्द गरेर भैरहवा गएको उनीहरूले थाहा पाए। उता पनि खुबै खोजी गरे।

‘बुवालाई मधुमेह थियो। औषधि लिने भनेपछि बुटवलका मानबहादुर केसीले सुनौलीसम्म छाड्नुभएको थियो रे। त्यसपछि नै सम्पर्कमा आउनुभएन।’

उनीहरूले द्वारिका गोरखपुरसम्म पुगेको पत्ता लगाएका थिए। त्यसपछि भने कता गए, केही पत्तो भएन। द्वारिका हराएका भए भेटिन्थे होला भन्ने प्रदीपलाई लाग्छ। तर आफैं परिवार छाडेर हिँडेकाले खोजी गरे पनि पत्ता लगाउन नसकिएको उनी बताउँछन्।

६२ वर्षको उमेरमा अचानक बुवाले किन घरपरिवार छाडेर हिँडे भन्ने कुरा पनि प्रदीपको परिवारले पत्ता लगाउन सकेको छैन, ‘आजको मितिमा उहाँ ८२ वर्षको हुनुभयो। कहाँ हुनुहुन्छ, केही थाहा छैन।’

द्वारिका हिँडेपछि उनीहरूको पारिवारिक र व्यवसायिक जीवन क्षतविक्षत भयो। काठमाडौं, बबरमहलका द्वारिकाको परिवार पाल्पा आएर त्यसपछि मात्रै बुटवल झरेका थिए। सामाजिक कार्यमा अग्रसर द्वारिका बुटवलमा पनि समाजसेवामा तल्लीन थिए। सरकारी कार्यालयलाई भौतिक संरचना निर्माण गर्न, विद्यालय, अस्पताल लगायत सञ्चालनमा उनी खट्थे।

ईलाका प्रहरी कार्यालयको पुरानो लामो भवन, परिवार नियोजन संघको भवन, सिद्धार्थ क्याम्पस, कान्ति स्कुल, लुम्बिनी अस्पतालको पुरानो भवन र सटरहरू द्वारिकाकै अगुवाइमा निर्माण गरिएको प्रदीप बताउँछन्।

बुटवलका लागि धेरै योगदान गरे पनि बुवा हराएपछि कतिपयले नकारात्मक टिप्पणी गरेको सुन्दा परिवारमाथि झनै चोट परेको थियो।

संयोग नै भन्नुपर्ला द्वारिका पत्तो नदिइ हिँडेकै बेला प्रदीप ‘कहीँ मिलन कहीँ विछोड’ चलचित्र बनाउँदै थिए। त्यही बेला बुवासँग विछोड भयो। त्यसपछि उनी आर्थिक अभावले पनि लामो समय चलचित्र निर्माणमा लागेनन्।

‘हाम्रो सम्पत्ति प्रशस्त भए पनि सबै बुवाकै नाममा थियो। बेचविखन गर्न र बैंकिङ कारोबार गर्न पाइएन। नेपालमा मानिस हराएको ११ वर्ष नभएसम्म हराएको नमानिने रहेछ। बुटवल चलचित्र मन्दिर लिजमा थियो। त्यसका कागजात पनि बुवासँगै गायब भए। पछि हल छाड्नुपर्‍यो,’ उनले भने।

द्वारिकाको सपना लुम्बिनी अञ्चलका ६ वटै जिल्लामा सिनेमा हल बनाउने थियो। बुटवलपछि कपिलवस्तुको कृष्णनगरमा ‘उदय चलचित्र मन्दिर’ निर्माण गरेका उनले नवलपरासीको सुनवलमा पनि ‘त्रिवेणी चलचित्र मन्दिर’ बनाएका थिए। अर्घाखाँची, पाल्पा र गुल्मीमा पनि एउटा/एउटा हल बनाउने योजना थियो।

माओवादी द्वन्द्वले चलचित्र उद्योग तहसनहस बनेपछि अरू जिल्लामा हल सञ्चालन गर्ने सपना २०५९ सालमा द्वारिका एकाएक बेपत्ता भएपछि झन् अधुरै रह्यो। द्वारिका हराएपछि लामो समय प्रदीप पनि बुटवल बाहिरै बसे।

पछि कपिलवस्तुको कृष्णनगरमा रहेको चलचित्र घर भत्काएर प्रदीपले जग्गा बेचे। त्रिवेणी चलचित्र मन्दिर भने माइला हजुरबुवालाई बिक्री गरे। तैपनि बुटवलमा ‘फिल्म हलवाला’ भनेर चिनिएको उदय परिवारको विरासत प्रदीपले मेटिन दिएका छैनन्।

चलचित्र संघका निवर्तमान अध्यक्षसमेत रहेका प्रदीपले विगत तीन वर्षदेखि बुटवलको राजमार्ग चौराहमा ‘द्वारिका उदय सिनेमा’ सञ्चालनमा ल्याएका छन्। दुई सय सिट क्षमताको उक्त हलमा लक्जरी सिट, पर्दा तथा मल्टिप्लेक्स निर्माण गरिएको छ।

छ महिनाको अन्तरमा उनले इटहरीमा पनि साझेदारीमा ‘इलाइट सिनेमा’ चलाए। तर खुलेको दुई वर्ष नहुँदै कोरोना आयो। यसपछि सिनेमा क्षेत्र चौपट भएको उनी बताउँछन्।

‘इटहरीमा काठमाडौंको कुमारी हलको शैलीमा हल खोलिएको थियो। एक वर्ष ९ महिना मात्र चलाउन पायौं। बुटवलको पनि तेह्र महिना चलेको थियो,’ उनले भने। दुई हल सञ्चालनमा ११ करोड लगाएका प्रदीप कोरोनाले थलिए पनि चलचित्र क्षेत्रबाट अन्यत्र जान नसकिने बताउँछन्।

‘बुवालाई बुटवलमा सबैले हलवाला भनेर चिन्थे। उदय परिवारलाई पछिसम्म पनि हलवाला भनेर चिनियोस् भनेरै बुटवलमा हल खोलेको हुँ। बुवाको सपना पनि यही थियो, त्यसैले नामसमेत द्वारिका नै राखेको छु,’ उनी भन्छन्।

विद्यार्थी बेलादेखि नै राजनीतिमा रूचि राख्ने प्रदीप चलचित्र उद्योगसँगै राजनीतिमा पनि सक्रिय छन्। उनी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेश संयोजकका रूपमा काम गरिरहेका छन्। बैंकमा जागिरे श्रीमती सुमी रञ्जित उदय र दुई छोरी अध्ययनका लागि काठमाडौंमा छन्।

तर उनी आफू भने बुवाले आर्जन गरेको बुटवल कर्मथलो छाड्न नसकेको बताउँछन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!