उत्कृष्ट फोटोको प्रर्दशनी पोखरामा सुरू

फोटो पत्रकार क्लब (पिजे क्लब) को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट तस्बिरको प्रदर्शनी पर्यटन बोर्ड, पोखराको हलमा सुरू भएको छ ।
फोटो प्रर्दशनीको उद्घाटन पोखराका वरिष्ठ फोटोग्राफर विश्व रत्न शाक्य र नेपाल पत्रकार महासंघ कास्की शाखाकी अध्यक्ष, बिमला भण्डारीले संयुक्तरूपमा गरेका छन्। प्रदर्शनी पुस १३ देखि १६ गते शुक्रबारसम्म ४ दिन चल्नेछ।
प्रदर्शनीमा उकृष्ट ११७ फोटो राखिएको छ। विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण रोकिएको प्रदर्शनी अहिले ५ औं पामे अन्तर्राष्ट्रिय फिल्म फेष्टिबलसँगको सहकार्यमा पोखरामा गरिएको पिजे क्लवले जनाएको छ।
नेपाल फोटो प्रतियोगिता २०७६ मा समावेश सात विधाअन्तर्गत सहभागी ७ सय १५ व्यवसायिक र एमेच्योर फोटोग्राफरका गरि जम्मा ६ हजार २ सय २५ फोटोबीच प्रतिस्पर्धा भएको थियो।एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलमा वरिष्ठ फोटोग्राफर मणि लामा, वरिष्ठ फोटो पत्रकार बिकास रौनियार, किम्फका निर्देशक तथा वरिष्ठ पत्रकार रम्यता लिम्बु, वरिष्ठ लेखक तथा डकुमेन्ट्री निर्माता शेखर खरेल र वरिष्ठ फोटो पत्रकार एवं क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा रहेको निर्णायक मण्डलले विजेतासहित उत्कृष्ट १ सय ७५ फोटो छनोट गरेको थियो।