May 25, 2023

१० लाखमा खुलेको चिया चौतारी, पाइन्छ २५ स्वादको चिया

Dec 27 , 2021

सोम भन्छन्- महिनामा तीन लाख कमाइन्छ भन्ने आशा छ

यस्तै चिया पाइन्छ कीर्तिपुर नयाँबजारस्थित चिया चौतारी एन्ड फुड ल्यान्डमा।

नयाँबजार मुख्य चोक नपुग्दै बौद्ध बिहारनजिकै रहेको चिया चौतारी यही साल मंसिर १ गतेबाट खुलेको हो। यसका सञ्चालक हुन् २७ वर्षीय सोमराज अधिकारी।

भर्खरै फस्टाउँदै गरेको कीर्तिपुर बजारमा दस लाख रूपैयाँ लगानीमा सोमले चिया पसल खोलेका हुन्। यहाँ सोमको केही आफ्नै कमाइ र केही ऋण परेको छ।

‘यसलाई अन्य सामान्य चिया पसलभन्दा फरक बनाउने सोचेर खोलेको हुँ,’ उनले  भने, ‘त्यसैले मेनुमा एउटा होइन, विभिन्न स्वादका चिया राखेको छु।’

यहाँ चियाका स्वादलाई विभिन्न समूहमा बाँडिएको छः तन्दुरी, अल्टरनेटिभ, डिफरेन्ट र चिल्ड।

तन्दुरी चियाअन्तर्गत मट्का, कडक, कोकोनट, बटर लगायत ६ स्वादको चिया पाइन्छ। त्यस्तै अल्टरनेटिभमा मिन्ट, लेमन, इलाम, ग्रिन गरी नौ स्वाद। डिफरेन्टमा र चिल्डमा पनि विभिन्न स्वाद छन्। सबैगरी २५ स्वादमा चिया पाइन्छ जुन मुख्यगरी इलामबाट आउँछन्।

अझै नयाँ स्वाद थप्दै जाने योजना छ,’ सोमले भने, ‘ग्राहकलाई कम्तीमा ४० स्वादको चिया पस्किने योजना छ। कफी लाटे भनेझैं चिया लाटेको स्वाद पनि दिन खोजिरहेको छु।’

यहाँ एकपटकमा ६० जनासम्म ग्राहक अटाउँछन्। मट्कामा चिया पिएपछि त्यसमा हस्ताक्षर, नाम लेखेर छाड्न सकिन्छ। यी मट्का चिया चौतारीको रिसेप्सनको भित्तामा मिलाएर राखिएको छ। चियासँगै मःम, चाउमिन, बर्गर, फ्रेन्च फ्राइज, रोल लगायत अरू थुप्रै खाजा पनि खान सकिन्छ।

‘चिया पिउन आउनेलाई खाजाका लागि अर्को क्याफे जान नपरोस् भन्ने सोचले यस्तो व्यवस्था गरेका हौं,’ सोमले भने, ‘तर यहाँको विशेष चाहिँ चिया नै हो।’

चिया चौतारीमा ३० देखि एक सय रूपैयाँसम्मको चिया पाइन्छ। एक कप चिया पाक्न करिब ७ मिनेट समय लाग्छ। अहिले यहाँ सोम र उनकी साझेदार सोनिया थापा मगरसहित छ जना कर्मचारी छन्।

बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म उनीहरू चिया चौतारीमा खटिन्छन्। पसल खोलेको छोटो समयमै भ्याइनभ्याइ भएको उनीहरू बताउँछन्। यसलाई सोम सुरूआती सफलता मान्छन्।

‘मिठो स्वादमा चिया पाइन्छ भन्ने सुनेपछि चियापारखी खोजीखोजी आउने रहेछन्,’ उनले भने, ‘यहाँ चिया पिउनेहरूले राम्रो प्रतिक्रिया दिनुहुन्छ। फर्कीफर्की आउनुहुन्छ। यसले गर्दा काम गर्ने ऊर्जा अझै थपिएको छ।’

सोमका अनुसार चिया चौतारीमा विशेषगरी त्रिभुवन विश्वविद्यालयका विद्यार्थी धेरै आउँछन्। सँगै चियापारखी, कर्मचारीहरू, जेष्ठ नागरिक र कीर्तिपुरका स्थानीय पनि चिया गफका लागि छिर्छन्।

‘खासमा विद्यार्थीलाई नै लक्षित गरेर खोलेका हौं,’ सोमले भने, ‘घरबाट पैसा पठाएर पढ्नेलाई ठूला रेस्टुरेन्टमा जान मुस्किल छ। यहाँ थोरै रकममा सफा र स्वच्छ वातावरणमा बसेर चिया पिउन सकून् भन्ने उद्देश्य हो।’

स्थायी घर स्याङ्जा भएका सोम कीर्तिपुरकै पाँगा दोबाटोमा डेरा गरी बस्छन्। सानैदेखि उनलाई व्यवसायी बन्ने इच्छा थियो। तर के गर्ने निश्चित थिएन। गाउँमै एसएलसी सकेर उनी काठमाडौं आएका थिए। अध्ययन खर्च जुटाउन फेन्सी पसलमा सेल्स म्यान भएर काम गरे। केही अनुभव बटुलेपछि आफैं फेन्सी पसल खोले। तर २०७२ सालको भूकम्पले उनको व्यवसाय बिग्रियो।

यसपछि उनको बाटो मोडियो। उनी हस्पिटालिटी क्षेत्रमा प्रवेश गरे। यही कामका लागि युएई र कतार पुगे। काम सिके र सिकाए।

‘झन्डै ९ वर्ष भयो हस्पिटालिटी क्षेत्रमा काम गरेको,’ उनी भन्छन्, ‘यो क्षेत्र फरक छ, गाह्रो पनि। बिहानैदेखि बेलुकासम्म व्यस्त भइन्छ तर रमाइलो छ।’

उनी यो क्षेत्रलाई आफ्नो ‘प्यासन’ बताउँछन्। यही प्यासनले डोर्‍याएर उनी चिया चौतारी खोल्ने मनस्थितिमा पुगेका हुन्। पसल खोल्नुअघि उनले भारत गएर विभिन्न स्वादमा चिया बनाउन तालिम पनि लिएका थिए।

नेपालीहरू चिया रूचाउँछन्। यसमै राम्रो अवधारणाका साथ काम गर्नसके थोरै लगानीले धेरै आम्दानी गर्न सकिने सोमको बुझाइ छ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!