Sep 28, 2023

१५० ग्राम ब्राउन सुगरसहित भारतीय नागरिकसहित एक महिला पक्राउ

Dec 22 , 2021

प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक भारतीय नागरिकसहित नेपालगञ्जकी एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदोकी ४५ वर्षीया चन्द्रा राना र भारतको उत्तर प्रदेश जिल्ला बहराइच मन्सुरगञ्ज निकट जामा मस्जिदका १८ वर्षीय समिर अन्सारी छन्।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही-९ अमेलिया क्षेत्रबाट गोप्य सूचनाका आधारमा उनीहरूलाई सोमबार दिउँसो साढे ४ बजे पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा एसपी काफ्लेले उक्त ब्राउन सुगर भारतीय नागरिकले भारतबाट बिक्रि गर्न नेपालगञ्जस्थित भन्सार नाकाबाट ल्याएको बताए। २ लाख ४० हजारको प्रलोभनमा परि रानाले उक्त ब्राउन सुगर दाङ ल्याउँदै थिए।

‘एक सय पचास ग्राम ब्राउन सुगरको मूल्य झन्डै बाह्र लाख पर्ने र त्यसबाट रानालाई झन्डै साढे दुई लाख दिने प्रलोभनमा पारि ब्राउन सुगर बोकाएर ल्याएको देखियो,’ एसपी काफ्लेले भने, ‘महिलालाई चेक जाँच कम हुन्छ भनेरै त्यो चलाखी गर्न खोजिएको देखिन्छ।’

पैदल हिँडिरहेका उनीहरूलाई सुराकीको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा रानाले लगाएको हाइनेकमा घाँटी मुन्तिर लुकाएर राखेको अवस्थामा तीन वटा पोकामा उक्त ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

पत्रकार सम्मेलनमा उपस्थित गराइएकी रानाले आफूले प्रलोभनमा परेर पहिलो पटक नगर्ने काम गरेको स्वीकार गरिन्। ‘मेरो बिजोग हुने भयो, डामाडोल हुने भयो,’ उनले अगाडि भनिन्, ‘ यस्तो हुन्छ भन्ने थाहाँ पाएको भए मैले गर्ने नै थिइनँ।’

उनले दुई लाख चालिस हजार पाउने प्रलोभनमा परि आफुले जीवन मै पहिलो पटक भरिया बनेर ब्राउन सुगर पुर्‍याउन आएको बताइन्। तर, प्रहरीले भने यसअघि पनि रानाले भरिया बनेर ब्राउन सुगर सप्लायर्सको काम गरेको हुन सक्ने आशंका गरेको छ।