May 10, 2022

‘तरकारी फलाएर यत्रो पुरस्कार पाउँला भन्ने सोचेकै थिइनँ’

Dec 22 , 2021

कुनै बेला कृषि नै मनै नपराउने उनी तरकारी खेतीबाटै बचाउँछन् महिनामा २ लाख

धादिङ धुनेबेसी नगरपालिका वडा–५ का युद्धप्रसाद न्यौपानेले जीवनमा कहिल्यै सोचेका थिएनन्- तरकारी फलाएर पुरस्कार पाउँछु!

उनलाई त कृषि भनेपछि सानैदेखि मनै पर्थेन।

तर उनको जीवनमा नसोचेकै भयो। उनले तरकारी फलाएरै पाँच लाख रूपैयाँ पुरस्कार पाए।

इजरायलमा काम गरी फर्केर कृषि गरेकामध्ये सर्वोत्कृष्ट एक किसानलाई इजरायल दूतावासले मंसिर २३ गते काठमाडौंमा एक कार्यक्रम गरी सम्मान पत्रसहित पाँच लाख पुरस्कार दिएको हो।

‘एकछिन त म अकमक्क परेँ। सपना हो कि विपनाझैं लाग्यो,’ उनले हँसिलो पाराले भने, ‘अनुभूति गर्नै सकेको छैन। कताकता मेरो मेहनतको कदर हो कि भन्ने पनि लाग्छ।’

ठूलो परिमाणमा खेती गरेकाले युद्धलाई यो पुरस्कारको विजेता आफैं हुँला जस्तो त लाग्थ्यो, तर अन्तिम दसमा छानिएका प्रतिस्पर्धीहरू पनि कम नभएकाले ढुक्क भइसकेका थिएनन्।

पुरस्कार आफैंले हात पारेपछि उनी दंग छन्। दूतावासले दिएको पुरस्कार आफ्नो जीवनकै पहिलो पुरस्कार भएको युद्ध बताउँछन्।

‘स्कुलमा खेल खेल्दा, कविता प्रतियोगिता हुँदा जितेर पुरस्कार पाएको थिएँ। यति ठूलो धनराशीको यो नै पहिलो हो। तर सबै पुरस्कारको आ–आफ्नै मूल्य हुँदो रहेछ।’

युद्धको धादिङमा श्री चेतना कृषि तथा पशुपंक्षी फार्म छ। पुरस्कार पाएको पाँच लाख रूपैयाँले वातावरण अनुकूल ग्रीन हाउस बनाउने योजना छ।

‘केही प्रविधि त अहिले पनि छन्। तर वातावरण अनुसारको ग्रीन हाउस छैन,’ उनले भने, ‘यसले बाहिर तातो छ भने भित्र चिसो र बाहिर चिसो छ भने भित्र तातो दिन्छ।’

यो प्रकारको ग्रीन हाउसले जुनसुकै मौसममा बाली लगाउँदा नबिग्रिने उनी बताउँछन्। यो पैसाले उक्त प्रकारको ग्रीन हाउस बनाउन नपुगे पनि बाँकी रकम सहकारीबाट ऋण झिक्ने तयारी गरिरहेका छन्।

आफ्नो काम र मेहनतको कदर भएपछि उनको मनोबल पनि बढेको छ। पहिले उनलाई आफू कृषकका छोरा हुँ भन्नसमेत उनलाई लाज लाग्थ्यो। किसान बुवाका छोरा युद्धलाई कृषि मनै नपर्ने।

कलेज पढ्न काठमाडौं आउँदा साथीहरूले बुवा के गर्नु हुन्छ भनेर सोध्थे। उनको जवाफ अर्कै हुन्थ्यो, ‘मलाई कृषि गर्ने हो भन्नै लाज लाग्थ्यो, व्यापारी हुनुहुन्छ भन्थेँ।’

चार जना छोराछोरीमध्ये युद्ध घरका जेठा सन्तान हुन्। पहिल्यैदेखि घरको मुख्य आम्दानी स्रोत कृषि। तर कृषि पेसाले सम्मान नपाएकाले उनलाई नपढेकाले, गरिबले खेती गर्छन् भन्ने लाग्थ्यो। अहिले त यो नै सबभन्दा ठूलो काम हो जस्तो उनलाई लागेको छ।

यो अनुभव उनलाई इजरायल बस्दा नै भएको हो।

एसएलसी गाउँमै सकेर २०५९ सालमा काठमाडौं आएका उनी जनमैत्री बहुमुखी क्याम्पसमा व्यवस्थापन पढ्न भर्ना भएका थिए। कक्षा बाह्र पढेपछि विदेश जाने हुटहुटी चल्यो। उनको एउटै सपना थियो- राम्रो पढ्ने, राम्रै जागिर खाने तर कृषि नगर्ने।

दुई जना साथीको लहलहैमा लागेर उनी होटल म्यानेजमेन्ट पढ्न २०६२ सालमा सिंगापुर हानिए। विदेशमा उनीहरूले सोचेजस्तो भएन। दलालको हातमा पैसा परेपछि उनीहरू दुई महिनामै नेपाल फर्किन बाध्य भए।

‘दलालले हामीलाई फसाएछ। उहाँ पढ्न त के हामी त सुरूमा लुकेरै बस्नुपर्‍यो। पछि हाम्रो अवस्थाबारे बताएपछि घरबाट ६० हजार पैसा जहाज भाडा मगाएर फर्कियौं,’ उनले भने।

कृषि मन नपर्ने, विदेशमा पनि सोचेजस्तो नभएपछि उनले गाउँमै स्टेसनरी पसल खोले। त्यसबीच उनको बिहे भयो। स्टेसनरीमा राम्रै व्यापार हुन्थ्यो।

पछि उनलाई एक्कासि एक वर्षका लागि इजरायल जाने प्रस्ताव आयो। उनका अनुसार इजरायल जान बाह्र कक्षा पास, अंग्रेजी भाषा बोल्न जान्ने साथै फर्केपछि यहाँ आएर कृषि गर्नुपर्ने शर्त थिए। योग्यता त युद्धमा थियो, तर कृषि गर्नुपर्ने सोचेर उनलाई अलमल भयो। घरगाउँका सबैले जानुपर्छ भनेर दबाब नै दिएपछि भने उनी राजी भए।

‘सिंगापुर जाँदा डुबाएको पैसा कमाउनु थियो। कृषि गर्छु भनेर झुक्याएर जान्छु, अनि आएर चाहिँ गर्दिनँ भनेरै जाने सोचेको थिएँ,’ उनले भने।

२०६८ सालमा स्टेसनरी पसल भाइलाई जिम्मा लगाएर उनी इजरायल गए। राती पुगेका थिए, बिहान उठेर हेर्दा चारैतिर मरूभूमि देखेपछि खुब रोए, ‘५० डिग्रीको तातोमा कसरी बस्ने भन्ने लाग्यो।’

गएको दिन उनलाई आराम गर्न भनिएको थियो। भोलिपल्ट बिहानै मालिकले फार्म लगे। फार्म हेरेपछि उनको दिमाग एकैझट्कामा मोडियो। उनलाई लाग्यो- अब यहाँबाट गएपछि कृषि नै गर्छु।

‘त्यस्तो मरूभूमिमा, माटो, पानी सबै अन्तबाट ल्याएर उनीहरूले कति राम्ररी खेती गरेका रहेछन्। हाम्रो त माटोमा बिऊ छरिदिएको भरमा उम्रिन्छ भने किन नगर्ने भन्ने सोच आयो,’ उनले आफ्नो बालापनदेखिको मनस्थिति फेरिएको क्षण सम्झे।

त्यहाँ उनी तरकारी टिप्ने, प्याकिङ गर्ने लगायत सबै काम मेसिनको सहायतामा गर्थे। लगभग एक वर्ष काम गरेपछि उनी फर्किए। सात लाख कमाएर ल्याएका थिए। उक्त पैसाले कसैको ऋण नतिरी आफ्नै १५ रोपनी जग्गामा टनेल बनाए। अरू दस लाख सहकारीबाट ऋण लिएर जम्मा १७ लाखमा उनले तरकारी खेती सुरू गरे।

विदेशबाट आउनुभन्दा एक महिनाअघि नै उनले भाइलाई स्टेसनरी पसल बेच्न लगाएका थिए। अनि भाइकै सहयोगमा उनले आएको दुई-तीन दिनमै तरकारी रोप्न थाले।

युद्धले बारीमा सबभन्दा धेरै गोलभेँडा र मौसमी तरकारी फलाएका थिए। बजारको चिन्ता थिएन। पहिल्यैदेखि बुवाले खेती गर्ने भएकाले उत्पादन कालिमाटी बजारमा सजिलै बिक्री हुन्थ्यो।

‘मलाई परिमाण र गुणस्तरमा ध्यान दिएपछि बजारको चिन्ता हुँदैन भन्ने लागेको थियो। नभन्दै बजारको समस्या भएन। पछिपछि त व्यापारीहरू घरमै आउन थाले,’ उनले भने।

अहिले उनले ७० रोपनी जग्गामा तरकारी लगाएका छन्। ५० रोपनी उनको आफ्नै जग्गा हो भने २० रोपनी भाडामा। फार्ममा ट्रयाक्टर, टनेल, थोपा सिँचाइ, खाल्डा पार्ने मेसिन, मल्चिङ प्लास्टिक लगायत सबै आवश्यक प्रविधि छन्। भन्छन्, ‘इजरायलको जस्तो त छैन, तर नेपाली परिवेशका लागि राम्रै छ।’

अघिल्लो वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत चक्लाबन्दी कार्यक्रममा उनले ५० प्रतिशत अनुदानमा टुक्रा जग्गा सम्याएर ठूलो पाटो बनाए। अहिले थप २० रोपनी जग्गा भाडा लिएर केरा खेती गर्ने योजना बनाएका छन्।

‘बजारमा माग छैन तर गाउँमा केरा एकदमै महँगो छ। त्यसैले गाउँलाई नै लक्षित गरेर केरा लगाउने सोचमा छु,’ उनले भने।

उनको फार्म अहिले गाउँकै नमूना फार्म पनि भएको छ। ठूला सरकारी व्यक्तित्वदेखि विदेशीसम्म उनको फार्म हेर्न पुग्ने उनले बताए।

‘अहिले त गाउँमा सबैले माया गर्छन्। हाम्रो गाउँको नाम राख्यो भन्छन्। घरमा त परिवार खुसी नहुने कुरै भएन,’ उनी आफैं खुसी हुँदै भने।

अहिले युद्ध मात्रै होइन, उनको परिवारै कृषिमा संलग्न छ। २०७५ सालमा उनका भाइ दिवाकरले पनि इजरायल गएर कृषिमा काम गरेपछि उनलाई झनै सहयोग भएको छ। फार्ममा चार जना महिनावारी तलबमा कर्मचारी राखेका छन्। सिजनका बेला त ५/६ सय जनालाई ज्यालादारीमा काम दिन्छन्।

अहिले आफूले परिवार पालेर महिनामा दुई लाख रूपैयाँ बचत गरिरहेको उनले बताए।

उनी भन्छन्, ‘सीप र ज्ञान सिक्न विदेश जानुस्, तर पसिना बगाउन आफ्नै ठाउँमा आउनुस्। परिवारसँग रमाएर राम्रै आम्दानी गर्न सकिन्छ।’

युद्ध यहाँ खुला नाका भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न भने असहज भएको बताउँछन्। त्यस्तै कहिलेकाहीँ बालीमा रोग-कीरा लगायतका ठूला समस्या आउँदा गाउँमा जान्ने-बुझ्ने प्राविधिकको कमी पनि महसुस गरेका छन्।

सरकारले उत्पादनमा सहजीकरण र बजारीकरण गरिदिने हो भने यहाँ कृषिको भविष्य रहेको उनी बताउँछन्।

‘उत्पादन बढाउनुपर्छ, अनुदान हटाउनुपर्छ। अनुदान व्यक्तिलाई होइन, उत्पादित सामानलाई दिइयो भने नेपालमा कृषिको ठूलो भविष्य छ,’ उनले भने।

Facebook Notice for EU! You need to login to view and post FB Comments!