Sep 21, 2023

देश संघीयता, लोकतन्त्रको व्यवस्थाअनुरुप चल्न सकेन- सांसद खिमलाल भट्टराई

Dec 14 , 2021

राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले हिउँदे अधिवेशनको पहिलो दिनमा स्वागत, शुभकामना आदानप्रदान कार्यक्रम नहुनु गम्भीर विषय भएको बताएका छन्।

मंगलबार बैठकमा बोल्दै नेकपा एमाले राष्ट्रिय सभाका प्रमुख सचेतकसमेत रहेक भट्टराईले देश संघीयता, लोकतन्त्रको व्यवस्थाअनुरुप चल्न नसकेको दाबी गरे। उनले सरकारको अकर्मण्यता र सभामुखको अकर्मण्यताका कारण देशको राजनीति गलत दिशामा अघि बढीरहेको आरोप लगाए।

उनले सभामुखको अकर्मण्यताबाट संघीय संसद पनि प्रभावित रहेको र सही ढंगबाट चल्न नसकेको बताए। उनले सरकार र सभामुखले संसद चलाउन नचाहेको आरोपसमेत लगाए।

देश सरकार बिहीनताको अवस्थामा रहेको भन्दै अहिले जनताले सरकार छ र? भन्न थालेको समेत बताए। सांसद भट्टराईले सरकार मन्त्री र उनीहरुको परिवारको लागि मात्रै भएको बताए।

सदस्य भट्टराईले भने, ‘हिउँदे अधिवेशनको पहिलो दिनमा स्वागत, शुभकामना आदानप्रदान कार्यक्रम नहुनु गम्भीर विषय बनेको छ, देश संघीयता, लोकतन्त्रको व्यवस्थाअनुरुप चल्न सकेको छैन’, उनले भने, ‘देश सरकारको अकर्मण्यता र सभामुखको अकर्मण्यताका कारण देशको राजनीति गलत दिशामा अघि बढीरहेको छ, देश सरकार बिहीनताको अवस्थामा रहेको छ अहिले जनताले सरकार छ र भन्न थालिसकेका छन् । सरकार मन्त्रीहरु र उनीहरुको परिवारको लागि मात्रै भएको छ।’

बैठकमा गृहमन्त्री बालकृष्ण खाँडको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सामाजिक सुरक्षा ऐनसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेश गरे।

राष्ट्रियसभाको अर्को बैठक आगामी पुस ५ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!