Sep 28, 2023

सभापति हारे भने प्रधानमन्त्रीबाट हटाउँछन्, मैले जित्नु आवश्यक छ– देउवा

Dec 12 , 2021

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा जसरी भएपनि आफूलाई जिताउन आग्रह गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित पार्टीको १४ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिलाई बधाइ तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सम्बोधन गर्दै देउवाले आफूले महाधिवेशनमा हारेको खण्डमा अहिलेको सरकार राष्ट्रिय चुनावसम्म टिकिरहन नसक्ने बताएका हुन् ।

पार्टी सभापतिमा हारेको खण्डमा नैतिकताले पनि प्रधानमन्त्री भइ बस्ने नमिल्ने भन्दै सभापति देउवाले आफूले जित्नै पर्ने आवस्यकता रहेको बताएका छन् । सभापति हार्नेले देश के गरी चलाउँछ भन्ने प्रश्न उठ्ने भन्दै जुनसुकै हालतमा पनि आफूलाई जिताइदिन देउवाले महाधिवेशन प्रतिनिधि समक्ष आग्रह गरेका छन् ।

‘यो महाधिवेशनमा सभापति जित्नु मेरो आवश्यक छ। पार्टी सभापति जितेन भने पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छ, के प्रधानमन्त्री बन्न सक्छ भन्छ। त्यसैले अहिलेको बेला, मैले कसैलाई मेरो खिलाफ उठेकोमा मेरो विरोध होइन। तर मेरो यो अन्तिम बेला हो,’ देउवाले भने ।

त्यसैगरी आफू एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर प्रधानमन्त्री बन्न सफल भएकाले यस पटक आफ्नो जीत आवश्यक रहेको पनि उनको दाबी छ ।

‘म ओलीलाई हटाएर प्रधानमन्त्री बन्न सफल भएको छु । यदि म जितेमा मात्रै यो पार्टीलाई नेपालमा पूरा सबै पार्टीहरुलाई तलदेखि माथिसम्म मिलाएर सबै दलहरूको सरकार बनाउन सक्नेछु। त्यसैले मैले पार्टी सभापति जित्नु आवश्यक छ। नत्र भोलिपल्टै शेरबहादुर त हार्‍यो, हार्नेलाई के बनाउने भनेर प्रधानमन्त्रीबाट हटाउनेछन्। प्रधानमन्त्री हटेपछि के अवस्था हुन्छ थाहा छ ? अघिल्लो पटक के भएको थियो हालत ? त्यसकारण प्रधानमन्त्री नेपाली कांग्रेसको हुनु आवश्यक छ। मैले हुन आवश्यक छ,’देउवाले भने ।