Sep 26, 2023

भारतको नागाल्यान्डमा सुरक्षाकर्मीको गोली लागेर ११ नागरिकको मृत्यु

Dec 05 , 2021

भारतको पूर्वोत्तर राज्य नागाल्यान्डमा सुरक्षाकर्मीको गोली लागेर ११ जना नागरिकको मृत्यु भएको छ।

म्यानमारसँग सीमा जोडिएको नागाल्यान्डको मोन जिल्लामा शनिबार अपरान्ह ४ बजेतिर सेनाले गोली चलाउँदा नजिकैको कोइला खानीमा काम गरेर फर्किरहेका कामदारको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ती कामदारहरू मिनी ट्रकमा चढेर आइरहेका थिए। त्यही बेला सेनाले विद्रोहीहरू आइरहेको सूचना आधारमा अप्रेशन गर्न लागेको थियो। गल्तीका कारण विद्रोहीलाई नभई सेनाले कामदारमाथि गोली चलाएको बताइएको छ।

सधैँ फर्किने समयमा ती कामदारहरू घर नआएपछि गाउँलेहरू उनीहरूको खोजीमा गएका थिए। मिनीट्रकमा उनीहरूको शव देखेपछि स्थानीय आक्रोशित भएका थिए।

उनीहरूले सुरक्षाकर्मीका गाडी जलाइदिएका थिए। सुरक्षाकर्मीमाथि आक्रमण हुन थालेपछि आत्मरक्षाका लागि उनीहरूले फेरि गोली चलाएका थिए। घटनामा एक जना सुरक्षाकर्मीको पनि मृत्यु भएको उल्लेख गरिएको छ।

घटनापछि विज्ञप्ति जारी भारतीय सेनाले घटना पश्चातापपूर्ण भएको बताएको छ। उक्त घटनाको उच्चस्तरिय छानबिन गरिने सेनाले आश्वासन सेनाले दिएको छ।

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले घटनालाई दुर्भाग्यपूर्ण भन्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने बताएका छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!