भीम रावलद्वारा पार्टी अध्यक्षमा उम्मेदवारी दर्ता

चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका छन्।
सोमबार बिहान ८ बजेबाट सुरू भएको मनोनयमा रावलले पार्टीको आगामी नेतृत्वका लागि आफ्नो उम्मदेवारी दर्ता गराएका हुन्।केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारी दर्ताको समय बिहान साढे ९ बजेसम्म तोकेको छ ।
यसअघि अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत गर्ने भन्दै पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म बन्दसत्रमा नामावली प्रस्तुत गरी अनुमोदन गराएका थिए।
योसँगै निर्वाचन प्रक्रिया सुरू हुने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गर्दै बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरू भएको हो।
यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो।
पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९:२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ । यस्तै ८ बजेदेखि बिहान ९:३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ ।
बिहान १०:३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए। बिहान १०:३० देखि १० : ४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १० : ५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ ।
यस्तै बिहान ११ : ५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ । बिहान १२ : ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरू हुनेछ।
मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि मतगणना हुनेछ ।
एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा केपी ओलीलाई दिइएको थियो। अध्यक्ष ओलीले आइतबार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गरेका छन्। उनले १९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए।
विगतको केन्द्रीय कमिटीका अधिकांशलाई समेट्दै ओलीले केन्द्रीय सदस्य थप गरेका हुन्। उनले प्रस्ताव गरेका नाममा महाधिवेशन प्रतिनिधिले ताली बजाएका थिए। यद्यपि केन्द्रीय सदस्यमा निर्वाचित हुनका लागि निर्वाचनको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
एमालेका १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी हुने व्यवस्था छ।
यो पनि हेर्नुहोस्