Sep 28, 2023

ओलीले सुनाए आफूले छानेका १९ जना पदाधिकारीको नाम, कुन पद कसले पाए?

Nov 29 , 2021

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्राप्त सर्वाधिकार प्रयोग गर्दै १९ जना पदाधिकारीको नाम बन्दसत्रमा पढेर सुनाएका छन्।

उनले अध्यक्षमा आफ्नै नाम प्रस्ताव गरेका छन् भने वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गरेका छन्।

त्यस्तै, महासचिवको दाबेदारी गर्दै आएका विष्णु पौडेललाई उपाध्यक्ष बनाउने ओलीको प्रस्ताव छ। अन्य प्रस्तावित उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ छन्।

त्यस्तै, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसब्बा गुरूङ, विष्णु रिमाल छन्।

सचिवमा टोपमहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम प्रस्ताव गरिएको छ।

ओलीको विरोध गर्दै आएका भीम रावल र घनश्याम भुसाल दुवैको नाम सूचीमा परेन।

यी सबै पदाधिकारीलाई भोलि निर्वाचन कार्यक्रमअनुसार मनोयनपत्र दर्ता गर्न पनि ओलीले भनेका छन्।

उनले यसअघि ३०१ जना केन्द्रीय सदस्यको नाम सर्वसम्मतिका लागि पेस गरिसकेका छन्।

आकांक्षी नेताहरूबीच भागबन्डा मिलाउन सकस परेपछि शनिबारको बन्दसत्रले अध्यक्ष ओलीलाई नै पदाधिकारी र केन्द्रीय सदस्यहरूको टुंगो लगाउने जिम्मा दिएको थियो। यही आधारमा ओलीले आफू बसेको सौराहाको पार्क भिलेज रिसोर्टमा दिनभरि निकट नेताहरूसँग चरणबद्ध छलफल गरेका थिए।

सूची तयार पार्न ढिलाइ भएकैले आइतबार १० बजे बस्ने भनिएको दोस्रो दिनको बन्दसत्र राति १२ बजे सुरू भएको हो।