Mar 19, 2023

भर्खरै डिभोर्स गरेका सामन्था र नागा चैतन्यको मन छुने प्रेमकथा

Nov 21 , 2021

दर्शकहरू पर्दामा जस्तै वास्तविक जीवनमा पनि सेलेब्रेटीको प्रेम सम्बन्धबाट आकर्षित हुन्छन्। 

सेलेब्रेटीको प्रेम र वैवाहिक जीवनको सफलताको कथाले दर्शकहरूलाई खुसी बनाउँछ। सम्बन्ध बिग्रेको खबर आए उनीहरू दु:खी पनि हुन्छन्।

गत अक्टोबर २ मा दक्षिण भारतीय अभिनेत्री सामन्था र अभिनेता नागा चैतन्यले आफूहरू अलग भएको औपचारिक घोषणा गर्दा उनीहरूका आफन्तसँगै लाखौं प्रशंसकले मन दुखाए।

सामन्था र नागा रिल-लाइफबाट रियल-लाइफमा जोडी बन्न पुगेका कलाकार थिए। अनस्क्रिन होस् वा अफस्क्रिन, दर्शकको नजरमा उनीहरू क्यूट वा पर्फेक्ट जोडी थिए।

यो जोडीलाई यसरी मन पराइनुको पृष्ठभूमि सन् २०१० को तेलुगु फिल्म ‘ये माया चेसावे’ बाट सुरू भएको थियो। यही फिल्मको छायांकनमा भेटिएका सामन्था र नागाले आठ वर्ष प्रेम सम्बन्धमा रहेर सन् २०१७ मा बिहे गरेका थिए। त्यसपछिको एक दशक अवधिमा उनीहरूले ‘भिन्नाइ थांडी भरूभाया’, ‘मनम’, ‘थ्रायम’, ‘अटोनगर सूर्या’ जस्ता फिल्ममा सँगै अभिनय गरे।

यीमध्ये ‘ये माया चेसावे’ दर्शकमाझ लोकप्रिय छ। रोमान्टिक तेलुगु फिल्मको सूचीमा ‘ये माया चेसावे’ को नाम आज पनि लिने गरिन्छ।

‘ये माया चेसावे’ को अर्थ हो ‘तिमीले यो के जादू गर्यौ?’

फिल्मका मुख्य पात्र कार्तिक जब जेसीलाई पहिलोपटक देख्छन्, उनी यही प्रश्न गर्छन- तिमीले यो के जादू गर्यौ?

कार्तिकले जेसीलाई पहिलोपटक आफू बस्ने घरको गेटबाट भित्र छिर्ने बेला देखेका हुन्छन्। कार्तिकको परिवार जुन घरमा भाडामा बस्थ्यो, त्यही घरको माथिल्लो तल्लामा जेसी र उनका अभिभावक बस्थे।

एउटै घरमा रहँदा-बस्दा उनीहरूको आँखा जुध्नु वा जम्काभेट हुनु स्वाभाविक हो। तर कार्तिक अस्वाभाविक रूपमा जेसीलाई पछ्याउन थाल्छन्। कार्तिकका लागि जेसीसम्म पुग्ने बाटो सहज हुँदैन। धर्म, पारिवारिक मूल्य-मान्यता र उमेरको दुरी उनीहरूको सम्बन्धमा तगारो बन्छ।

कार्तिक हिन्दु हुन् भने जेसी क्याथोलिक क्रिश्चियन। उनी उमेरमा जेसीभन्दा दुई वर्ष कान्छा छन्। स्वभावले पनि कच्चा छन्। त्यही भएर जेसी कार्तिकबाट टाढा रहन खोज्छिन्।

कार्तिकलाई भने यी कुराको कुनै मतलब छैन। उनी पहिलो नजरको प्रेमबाट धेरै अघि बढिसकेका छन्। उनी जेसीको ‘नाइ’ लाई पनि ‘ल’ भनेर बुझ्छन्।

एकचोटि जेसी आफ्ना हजुरआमा र हजुरबुबासँग समय बिताउन हैदराबादबाट केरलाको अलापुझा गएकी हुन्छिन्। कार्तिक उनलाई पछ्याउँदै त्यहीँ पुग्छन् र जेसीलाई साथी बनाउन सफल पनि हुन्छन्।

के कार्तिकले जेसीको प्रेम पाउन सक्लान्? कि धर्म, उमेर र जेसीको डर र संकोचले उनीहरूको प्रेम अधुरै रहन्छ? अभिभावकले खोजिदिएको अर्कै केटासँग जेसीको बिहे हुन्छ कि?

यो कथा झट्ट सुन्दा खासै नयाँ लाग्दैन। तर प्रस्तुतिले कथालाई फरक बनाइदिन्छ। यो फिल्मको प्रस्तुति पनि यस्तै कथा भएका अरू फिल्मको दाँजोमा विशेष छ।

फिल्ममा दुई पात्रबीचको ‘लभ-हेट’ सम्बन्ध देखाउने क्रममा मुख्य पात्रका अँध्यारा-उज्याला पाटा उजागर भएका छन्। सामन्था र नागाको अभिनयले यसलाई सम्भव बनाएको हो। कार्तिक अपरिपक्व र आक्रामक छन्। जेसी परिपक्व र सन्तुलित छिन्। कथा अघि बढेसँगै दुवै पात्रमा रूपान्तरण देखिन्छ।

यो फिल्मका निर्देशक गौतम मेनन हुन्। प्रयोगात्मक रोमान्टिक फिल्म बनाउने निर्देशकका रूपमा चिनिएका गौतमले यो फिल्ममा छोटो भूमिकासमेत गरेका छन्।

मनोज परमहंसको कलात्मक सिनेमाटोग्राफी र एआर रहमानको मन छुने संगीत विशेष लाग्छ। यस फिल्मबाट निर्देशक, अभिनेता, अभिनेत्री, संगीतकार लगायतले अवार्ड जितेका थिए।

‘ये माया चेसावे’ बलिउडमा समेत काम गरेर सफलता पाइसकेकी सामन्थाको पहिलो फिल्म हो। सामन्थाले कलाकारका रूपमा पहिलो फिल्ममै आफ्नो सफल भविष्यको सम्भावना देखाएकी थिइन्।

अभिनेता नागा पनि आफ्नो यही दोस्रो फिल्मपछि स्टार बनेका हुन्।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!