May 30, 2023

कांग्रेस अधिवेशन: बाबु वडामै हारे, १८ वर्षीया छोरीले जितिन् क्षेत्रीय प्रतिनिधि

Nov 21 , 2021

हिजोआज नेपाली कांग्रेसको अधिवेशन चलिरहेको छ।

कांग्रेसले वडादेखि अधिवेशन गर्दै आएको छ। अहिलेसम्म प्रदेश सभा क्षेत्रीय अधिवेशन सकिएका छन्। अब प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनपछि मंसिर २४ देखि २६ सम्म केन्द्रीय महाधिवेशन हुनेछ।

कांग्रेसमा यसपालि युवाहरूको आकर्षण देखिन्छ।  कांग्रेसमा राजनीति सुरू गरेकी एक यूवा हुन बागलुङकी १८ वर्षीया उषा सापकोटा।

शनिबार भएको प्रदेश सभा अधिवेशनमा बागलुङबाट १८ वर्षीया उषा सापकोटा क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकी छन्।

कुराकानी गर्दै सापकोटाले आफू आउँदा कुनै पनि निर्वाचन नलड्ने बरू अरूलाई जिताउन लागिपर्ने बताएकी छन्। ‘म अहिले कुनै पनि चुनाव लड्दिनँ,’ उषाले भनिन्, ‘पार्टीको उम्मेदवार जिताउन लाग्छु।’

उनी २८६ मत ल्याएर निर्वाचित भएकी थिइन् जुन सबैभन्दा धेरै मत हो।

बागलुङको काठेखोला गाउँपालिका– ५ कि उषाले क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’बाट क्षेत्रीय प्रतिनिधि जितेकी हुन्। अब उनले मंसिर १६ र १७ मा हुने गण्डकी प्रदेश समितिको अधिवेशनमा मतदान गर्न पाउँछिन्।

प्रदेश अधिवेशनमा मतदाता क्षेत्रीय प्रतिनिधि हुन्छन्। यतिमात्र होइन, क्षेत्रीय प्रतिनिधि प्रदेश कार्यसमितिको सदस्य उठ्न पनि पाउँछ।

उषा विद्यार्थी हुन्। काठमाडौं मोडेल कलेजमा पढ्छिन्। कानुन बिषयमा ‘प्लस टु’ सकेकी छन्। उनी गत दसैंदेखि बागलुङमै छिन्। यसअघि पार्टीको कुनै पनि तहमा बसेर  काम गरेको अनुभव भने उनीसँग छैन।

उनी यसैवर्ष कांग्रेसको क्रियाशील सदस्य भइन्। वडाबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएकी थिइन्। प्रदेश सभा क्षेत्रीय अधिवेशनमा उनले आफूभन्दा सिनियर नेता सीता थापालाई हराइन्। प्रदेश अधिवेशनमा पोखरा गएर मतदान गर्ने र त्यसपछि मात्रै काठमाडौं फर्कने तयारी उनको छ।

उनको परिवारका सदस्य पनि राजनीतिमा छन्। यसैले आफूलाई प्रेरणा मिलेको उनले बताइन्। उनका बुवा राजु सापकोटा नेविसंघ बागलुङका पूर्वसभापति हुन्। राजु वडा अधिवेशनमै सदस्यमा हारेका थिए। उनी कापी उद्योग सञ्चालक पनि हुन्।

घरमा कांग्रेसका नेता/कार्यकर्ता आइराख्ने भएकोले पार्टी राजनीतिमा होमिन सहयोग पुगेको उषा बताउँछिन्।

‘हाम्रो परिवारमै राजनीतिको प्रभाव छ, वरपर सबै कांग्रेस छन्,’ उनले भनिन्, ‘त्यही भएर मलाई पनि राजनीतिमा लाग्न सजिलो भयो।’

उनी खसआर्य महिलाका लागि पार्टीले छुट्याएको १ कोटामा उठेर निर्वाचित भएकी हुन्। उनले आफू यो भन्दा माथिका पदमा अहिले नै प्रतिस्पर्धामा नउत्रने बताउँछिन्।

‘मैले पढाइलाई पनि अगाडि बढाउनुछ,’ उनले भनिन्, ‘समय मिलाएर पार्टीलाई योगदान दिने हो।’

उनले पार्टीमा युवा आकर्षण हुनुपर्ने पनि बताइन्। स्थानीय तहदेखिकै अधिवेशनमा गुटगत राजनीति भएको बागलुङमा उषाले आफू भने कुनै गुटमा नलाग्ने बताइन्।

‘योग्य व्यक्तिलाई मतदान गर्छु। म सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा वा वरिष्ठ नेता रामचन्द्र पौडेल कुनै पनि गुटमा छैन,’ उनले भनिन्।

उषाका बुबा राजुले छोरी आफ्नै चाहनाले राजनीतिमा लागेको बताए। उनलाई राजनीतिमा लाग्न वा नलाग्न परिवारबाट कुनै दबाब नरहेको उनको दावी छ।

राजुले छोरीलाई पढाइसँगै राजनीति पनि सँगै लैजान सुझाव दिएका छन्।

‘राजनीतिलाई पेशा बनाउन हुँदैन भनेर छोरीले बुझेकी छन्। छोरी राजनीतिमा अघि बढ्छु भनेपछि मैले रोक्ने कुरा पनि भएन। हामीले सक्दो सहयोग गरियो,’ उनले भने।