May 29, 2023

१६ वर्षपछि पूरा भएको पानी सपना

Nov 19 , 2021

‘हरिया छन् बारी, खुसी छन् गाउँले, विद्यार्थी चिटिक्क परेर स्कुल आउँछन्’

भेरी नदी छेउमा छ यो वस्ती। गाउँपालिकाको नाममै पानीको स्रोत जोडिएको छ- बराहताल गाउँपालिका।

तर वडा नम्बर-६ इखेनीकी अमृता विकको परिवारमा पोहोर सालसम्म सबभन्दा दुःख पानीकै थियो। वरिपरि खोलानालाले घेरिएको यो ठाउँमा बर्खामै खानेपानी जुटाउन हम्मे हुन्थ्यो।

बर्खामा भेरीमा कालो लेदो बगेर आउँथ्यो। सङ्लो पानी ल्याउन नजिकको खोला धाउनुपर्थ्यो। लगातार वर्षा भयो भने खोलामा पनि पानी धमिलिन्छ।

‘भेरी भएर पनि के गर्नु, खानलायक पानी नै नहुने,’ उनले भनिन्, ‘बर्खामा खोलाको पानी ल्याउन झरी रोकिँदासम्म कुर्नुपर्थ्यो।’

अमृताको मात्र होइन इखेनीका १०५ घरधुरीलाई नै यो वर्षको असारअघि हिउँदमा भेरी र बर्खामा ठाडो खोलाकै पानीमा भर पर्नुपरेको थियो। बर्खाको सिजनमा मकै लगाउने यहाँको मानिसले हिउँदमा तरकारी पनि फलाउन सक्थेनन्।

वस्तीमा खानेपानी नहुँदा भेरीबाट बोकेको पानीले उनीहरूलाई बारीमा हाल्न पुग्थेन। नदीबाटै बोकेर भए पनि बारीमा हाल्ने आँट गरेर तरकारी लगाउँदा उत्पादन राम्रो हुन्थेन।

‘लगाउने भनेको खुर्सानी हो। त्यो पनि भेरीबाट पानी ल्याएर बेलाबेलामा चार्ने गर्थ्यौं,’ अमृताले भनिन्, ‘पानी नभएर होला, फल्ने बेलासम्म बोटै सुकिसक्थे। उत्पादनै नहुने।’

अहिले उनको बारीमा काउली, भान्टा, बन्दा, खुर्सानी, आलु छन्। बारी पनि हरियाली देखिएको छ ।

अहिले अमृताको परिवारले घरवरिपरिको बारीमा पूरै तरकारी लगाएका छन्। त्यो तरकारीले कम्तीमा पनि ६ महिना धान्ने अपेक्षा उनीहरूको छ।

इखेनीवासीलाई अहिले खानेपानीको सुख छ। घरघरमै धारा जडान गरिएको छ। इखेनीवासीको धाराको शुद्ध पानी पिउने सपना १६ वर्षपछि पूरा भएको हो।

पिउने पानी खलखली धारामा आउन थाले पनि वर्षौं पानीको अभाव झेलेको उनीहरूले बिर्सिन सकेका छैनन्।

‘कहिलेकाहीँ त बर्खामा लगातार पानी पर्थ्यो, खोलामा पनि पानी सङ्लिनै पाउँथेन,’ इखेनीकी मीरा तामाङले भनिन्, ‘पानी कहिले रोकिएला र सङ्लो पानी ल्याउँला भन्दाभन्दै घरमा भएको पानी सकिन्थ्यो। धमिलो भए पनि ल्याएर सलले छानेर काम चलाउँथ्यौं।’

 इखेनीमा अहिले घरघरै धारा जडान गरिएको छ। भेरीको पानी लिफ्टिङ गरी प्रत्येक घरमा धारा जडान गरिएको हो।

तामाङका अनुसार एक घरपरिवारले महिनाको सय रूपैयाँ शुल्क तिर्ने गरेका छन्। एक महिनाभित्र सात युनिट पानी प्रयोग भएमा सय र त्यसभन्दा माथि पानी प्रयोग भएमा तोकिएभन्दा बढी शुल्क तिर्ने गरेको तामाङले बताइन्।

‘अहिले त बारी पनि घरघरमै हरियाली देखिन्छन्,’ उनले भनिन्, ‘पहिला पनि भेरीबाट पानी बोकेर बारी चार्ने त गर्थ्यौं, तर पुग्थेन। सोचेजस्तो बाली कहिल्यै भएन।’

मीराको परिवारले पनि आफ्नो बारीमा आलु, भाजी, प्याजलगायतका तरकारीहरू लगाएका छन्। आफ्नै घरमा जडान गरिएको धाराको पानी यो तरकारीहरूमा प्रयोग गर्ने गरेका छन्।

गाउँमा खानेपानी सुचारू हुनुअघि बालबच्चालाई सरसफाई गर्न समेत पानी नपुग्ने अमृताले बताइन्। भेरी नदीबाट पानी छानेर ल्याएर खाना पकाउँदापकाउँदै छोराछोरीलाई स्कुल जान समेत ढिला हुने गरेको उनले बताइन् ।

इखेनीवासीलाई भेरीबाट पानी ल्याउन कम्तिमा आधा घण्टासम्म लाग्थ्यो।

घरमै पानीको धारा जडान भएपछि तरकारी खेती बढाउने र नियमित गर्ने योजना पनि अमृताले बनाएकी छिन्।

‘अब त भएको बारीभरि हिउँदको सिजनलाई हुने तरकारी लगाउने हो, पहिलाको जस्तो पानीको समस्या छैन,’ उनले भनिन्, ‘घरको धाराबाट प्रयोग भएको पानी हाले पनि पहिलाको भन्दा त धेरै नै फल्ला।’

गाउँमा खानेपानी भएपछि विद्यालय आउने बालबालिकाको बानीमा समेत परिवर्तन भएको जनजागरण प्राथमिक विद्यालय इखेनीको शिक्षक रमेश नाम्जालीले बताए।

‘गाउँघरमा खाने पानी समेत पुर्‍याउन मुस्किल हुन्थ्यो, विद्यालय आउने बालबालिकाले सरसफाइ गर्न चाहे पनि सोचेजस्तो थिएन,’ उनले भने, ‘अहिले त स्कुल आउँदा बालबालिका पनि चिटिक्क परेर आएका हुन्छन्, सरसफाइमा प्रगति भएको छ।’

कतिपय समय विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्दा, सानोतिनो कुरामा मर्मतसम्भार जस्ता कार्य गर्दा समेत विद्यार्थीले भेरीमा गएर स्कुलमा पानी बोक्ने गरेको उनले बताए।

‘रातो माटो, त्यहीँमाथि चैत–वैशाखमा विद्यालयको मैदानमा धूलो उडेर हैरान बनाउँथ्यो,’ शिक्षक नाम्जालीले भने, ‘पानी हालेर धुलो मारौं भने पनि सम्भव थिएन। कतिपय दिनमा विद्यार्थीहरू दिउँसोको खाली समयमा पनि मैदानमा नगएर कोठाभित्रै खेल्नुपर्ने अवस्था थियो। अब पानी आएपछि यो समस्या हट्नेछ।’

जनजागरण प्रावि इखेनी गाउँमा भएको एक मात्र विद्यालय हो। विद्यालयमा भने अहिलेसम्म धारा जडान भएको छैन। प्रक्रिया भने पूरा भइसकेको नाम्जालीले बताए।

गाउँमा सोलार ऊर्जामार्फत भेरीको पानी लिफ्टिङ गरी ल्याइएकोले बादल लागेको दिनमा २/३ घण्टा मात्र पानी उपलब्ध हुन्छ। घाम लागेको दिन भने दिनभर पानी आउने गरेको छ।

इखेनी वस्तीमा ६५ लाख लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो। गैरसरकारी संस्था सुन्दर नेपाल र स्थानीय सरकारको लगानीमा खानेपानीको आयोजना निर्माण गरिएको उनले बताए।

बराहताल गाउँपालिका–६ मा पर्ने इखेनी वस्ती २०६२ सालमा बसेको हो। सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीको सुकुम्बासीलाई घरजग्गा दिने अभियान अन्तर्गत बसालिएको बस्तीमध्येको इखेनी वस्ती पनि एक हो।

आम्दानीका हिसाबले भने इखेनीका पूरै परिवार भारतको भर पर्ने गरेका छन्। उनीहरूको परिवार पाल्ने आम्दानीको मुख्य स्रोत भनेकै भारतको रोजगारी हो। भारतमा काम खुल्ने सिजनमा इखेनी बस्तीमा रहेका ४६५ जनसंख्यामध्ये ९५ प्रतिशत भारत जाने गरेको स्थानीय उज्ज्वल कामीले बताए।

सुरूमा जंगल मासेर ५५ घरधुरी बसेको इखेनीमा अहिले दैलेख, अछाम, प्युठान, सुर्खेत, कालिकोट, जाजरकोट र जुम्लाका मानिस बसाइ सरेपछि १०५ घरधुरी छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!