कृषि क्रान्तिको महत्व वामपन्थीले मात्र बुझेका छन्– नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको घोषणा तथा सपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको औँल्याए । कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्न सकेमा अर्थतन्त्रमा आमुल परिवर्तन हुने उनले दावी गरे । ‘ कृषि क्षेत्रमा रुपान्तरण गर्ने कुराबाट हामी बिमुख हुन सक्दैनौँ । हाम्रो फोकस नै त्यसमा हुनुपर्दछ । नेपाली अर्थतन्त्रको बलियो आधारशिला भनेको कृषि क्षेत्रको रुपान्तरण हो । कृषि क्षेत्रको आधुनिकीकरण गर्ने, व्यवसायिकरण गर्ने र यसको यान्त्रिकीकरण गर्ने, यो काम गर्न सकियो भने मात्रै यसमा आमूल परिवर्तन गर्न सकिन्छ । कृषि क्षेत्रमा मात्रात्मक होइन, गुणात्मक परिवर्तनको आवश्यकता छ ।’ नेता नेपालले भने ।