Nov 26, 2021

कृषि क्रान्तिको महत्व वामपन्थीले मात्र बुझेका छन्– नेपाल

Nov 16 , 2021

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको घोषणा तथा सपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको औँल्याए । कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्न सकेमा अर्थतन्त्रमा आमुल परिवर्तन हुने उनले दावी गरे । ‘

कृषि क्षेत्रमा रुपान्तरण गर्ने कुराबाट हामी बिमुख हुन सक्दैनौँ । हाम्रो फोकस नै त्यसमा हुनुपर्दछ । नेपाली अर्थतन्त्रको बलियो आधारशिला भनेको कृषि क्षेत्रको रुपान्तरण हो । कृषि क्षेत्रको आधुनिकीकरण गर्ने, व्यवसायिकरण गर्ने र यसको यान्त्रिकीकरण गर्ने, यो काम गर्न सकियो भने मात्रै यसमा आमूल परिवर्तन गर्न सकिन्छ । कृषि क्षेत्रमा मात्रात्मक होइन, गुणात्मक परिवर्तनको आवश्यकता छ ।’ नेता नेपालले भने ।

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरु किसानको मुक्तिको लागि बनेको भन्दै किसान आन्दोलन उठाउनको लागि वामपन्थी शक्तिहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले किसानको हित र कल्याण गर्नु नै आफूहरुको राजनीतिको मूल विषय भएको उल्लेख गरे ।

नेता नेपालले भने,‘किसान आन्दोलन उठाउनको लागि वामपन्थी शक्तिहरुको भूमिका महत्वपूर्ण छ । किनभने वामपन्थीहरुले कृषि क्रान्तिको जति महत्व बुझेका छन्, कम्युनिष्टहरुले यसको जुन महत्व बुझेका छन्, कम्युनिष्टहरुले किसानलाई जति महत्व दिने गर्दछन्, यत्रो ठूलो संख्यामा फैलिएका किसानको मुक्तिको निम्ति कम्युनिष्टहरु नै लाग्ने गर्दछन् । त्यसो हुनाले हाम्रो शक्तिको आधार भनेको किसानहरु हुन् । किसानहरुको हित र कल्याण गर्ने कुरा नै हाम्रो राजनीतिको मूल विषय हो ।’