May 31, 2023

साफ च्याम्पियनसिपमा श्रीलंकाविरूद्ध २२ वर्षपछि जित निकाल्ने लक्ष्यमा नेपाल

Oct 04 , 2021

श्रीलंकन फुटबल टिम पछिल्ला वर्ष खराब नतिजाबाट गुज्रिरहेको छ। सन् २०२१ खेलेका सबै खेलमा पराजित भएको श्रीलंका फिफा वरीयतामा पनि खस्कदो अवस्थामा छ।

श्रीलंका विश्व वरीयतामा २०५औं स्थानमा रहेको छ। एसियाली देश र दक्षिण एसियाली देशको वरीयतामा श्रीलंका पुछारमा रहेको छ।

शुक्रबारबाट सुरू भएको १३औं संस्करणको साफमा पनि श्रीलंकाको सुरूवात सुखद् रहेन। पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १-० पराजित गर्‍यो।

पछिल्ला वर्षमा खराब अवस्थमा रहेको श्रीलंकाको नेपाली फुटबल टिमविरुद्ध भने बलियो इतिहास छ।

पहिलो खेलमा आयोजक माल्दिभ्सलाई हराएको नेपालको लक्ष्य सोमबार श्रीलंकाविरुद्धको खराब इतिहासलाई सुधार गर्नु हुनेछ।

सोमबार मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली टिम जितका लागि मैदान उत्रने प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन्। खेल नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ।

साफमा नेपाल र श्रीलंकाबीच अहिलेसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ। ती मध्ये नेपालले तीन खेलमा हार, एक खेलमा बराबरी र एक खेलमा जित हात पारेको छ।

साफमा नेपालले पछिल्लो पटक सन् २०१५ मा श्रीलंकाविरुद्ध खेलको थियो। सो खेलमा नेपाल १-० गोलले पराजित भएको थियो।

नेपालले सन् १९९९ को साफमा श्रीलंकालाई हराएको थियो। भारतमा भएको खेलमा नेपाल ३-२ ले विजयी भएको थियो। सो खेलमा नेपालका लागि नरेश जोशीले ह्याट्रिक गरेका थिए। त्यसयता नेपालले साफमा श्रीलंकालाई हराउन सकेको छैन।

समग्र तथ्यांक हेर्ने हो भने नेपाल र श्रीलंकाबीच १७ भिडन्त भएको थियो। जसमा नेपाल ३ खेलमा मात्र विजयी भएको छ। ८ खेल बराबरीमा सकिँदा नेपाल ६ खेलमा पराजित भएको छ।

यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।

पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।

साफमा नेपालको खेल 
नेपाल भर्सेस माल्दिभ्स – असोज १५ गते – राति ९:४५ बजे (नेपाल १-० ले विजयी)
नेपाल भर्सेस श्रीलंका – असोज १८ गते – राति ९:४५ बजे
नेपाल भर्सेस भारत – असोज २४ गते – राति ९:४५ बजे
नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४:४५ बजे

Facebook Notice for EU! You need to login to view and post FB Comments!