Mar 18, 2023

भैरहवा विमानस्थलमा साढे दुई अर्ब बढीको बुद्ध मूर्ति राखिने

Oct 03 , 2021

भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा साढे २ अर्ब बढी रुपैयाँको मूर्ति राखिने भएको छ।पत्थरबाट निर्माण गरिएको

उक्त मूर्तिको मूल्य दुई करोड १६ लाख अमेरिकी डलर पर्छ।

शान्तिका प्रतीक सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विश्वभर प्रचारप्रसार होस् भन्ने उद्देश्यले चार वर्ष पहिले स्पेनमा स्थापना गरिएको लुम्बिनी गार्डेन फाउन्डेसनको सहयोगमा यो मूर्ति भैरहवा विमानस्थलमा राख्न लागिएको हो।

नयाँ निर्माण गरिएको टर्मिनल बिल्डिङको अगाडि बगैंचामा राखिने उक्त बुद्धमूर्तिको आगामी कार्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्ने कार्यक्रम तय भएको छ।

फाउन्डेसनका महासचिव एकराज गिरीका अनुसार उक्त मूर्ति अहिले भारतको कोलकाता आइपुगेको छ। केही दिनभित्रै भैरहवा आइपुग्ने मूर्ति राख्नका लागि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले टर्मिनल बिल्डिङ अगाडीको बगैंचामा बेस निर्माण गर्न सुरू गरेको छ । गिरीले मूर्ति राख्ने स्थानको पहिचान र बेस निर्माणको काम विमानस्थल आयोजनाले गरेको बताए।

उनका अनुसार फाउन्डेसनले स्पेनमा १ सय १० हेक्टर क्षेत्रमा बुद्धमूर्ति सहितको पार्क निर्माण गर्दैछ।

बहुमूल्य पत्थर ‘ह्वाइट जेड स्टोन’ बाट निर्मित उक्त मूर्ति म्यानमारका खानी उद्योगीले फाउन्डेसनको सोही पार्कलाई उपलब्ध गराउन निर्माण गरिएको थियो। स्पेनमा भन्दा नेपालमा यसको महत्व धेरै हुने भएकाले यहाँ ल्याउन पहल गरिएको गिरीले बताए।

बुद्धमूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेश सभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र अन्य दुई जना मन्त्रीसमेत आउने कार्यक्रम रहेको गिरीले जानकारी दिए।

उनले बुद्ध जन्मस्थलको प्रवेशद्वारको रूपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा पुगिसकेकोले यहाँ आउने पर्यटकहरूलाई लुम्बिनी र बुद्धको बारेमा अझै बढी जानकारी होस् र सबैले दर्शन गर्न पाऊन् भन्ने उद्देश्यले विमानस्थलमै राख्ने निर्णय गरिएको बताए।

‘लुम्बिनीको प्रचार-प्रसारको लागि स्थापना फाउन्डेसन स्थापना गरिएकोले त्यति बहुमूल्य मूर्ति स्पेनभन्दा बुद्ध जन्मस्थलमै राख्नुपर्छ भनेर यहाँ ल्याउने योजना बनेको हो,’ गिरीले सेतोपाटीसँग भने।

मूर्ति स्थापना र अनावरणपछि लुम्बिनी, भैरहवा, तौलिहवा, देवदह, रामग्रामलगायत आसपासका स्थानीय पालिकामार्फत् नेपाल सरकारलाई प्रदान गरिने छ।

‘ह्वाइट जेड स्टोन’ बाट निर्मित उक्त मूर्तिको तौल १ हजार ८ सय किलोग्राम छ। गिरीका अनुसार हङकङमै पनि १ ग्राम ‘ह्वाइट जेड स्टोन’ को मूल्य १२ अमेरिकी डलर पर्छ ।

‘ह्वाइट जेड स्टोन’ बहुमूल्य पत्थर भएकोले मूर्ति निर्माण गर्दा साढे दुई अर्ब मूल्य पर्ने भए पनि उक्त मूर्ति म्यानमारका खानी उद्योगीले उपलब्ध गराउने भएकोले फाउन्डेसन र नेपाल सरकार कसैको नगद लगानी नभएको गिरीले स्पष्ट पारे।

‘एउटै मूर्ति यति महंगो किन राख्नुपर्‍यो भन्ने कुराहरू पनि सुनिने गरेको छ, तर मूर्तिको लागि हाम्रो लगानी भएको छैन, फाउन्डेसनमार्फत् नेपाल सरकारलाई म्यानमार सरकारले डोनेसन गर्न लागेको हो,’ गिरीले भने।

मूर्ति ल्याउँदा लाग्ने ढुवानी खर्च भने फाउन्डेसनले व्यहोर्ने छ। अठार सय किलो तौलको यति बहुमूल्य मूर्ति १२ हजार अमेरिकी डलर ढुवानी चार्ज तिरेर म्यान्मारबाट नेपाल ल्याउन लागिएको हो। मूर्ति ल्याउँदा लाग्ने ढुवानी खर्च फाउन्डेसनले व्यहोर्ने र भन्सार शुल्क भने नेपाल सरकारले छुट दिएको गिरीले बताए।

अघिल्लो वर्ष राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी लगायतको टोली स्पेन गएको बेला यो मूर्ति नेपाल ल्याउने पहल अगाडि बढेको गिरीले बताए।

गिरीका अनुसार म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले बनाएको एक दशमलव नौ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको पत्थरजडित बुद्धमूर्ति हेर्दै आकर्षक रहेको हो।

फाउन्डेसनले यसअघि स्पेनमा एउटा बुद्धमूर्ति राखिसकेको छ भने नेपालमा ल्याउन लागिएको यो पहिलो। यस्तै नेपालसँगै भुटान, थाइल्याण्ड र हङकङमा पनि बुद्धमूर्ति राख्ने तयारी भइरहेको गिरीले बताए।

फाउन्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकको सहयोगमा अहिले लुम्बिनीमा स्वास्थ्य शिविर पनि सञ्चालन गरिरहेको छ। एक सातासम्म चल्ने स्वास्थ्य शिविरमा आउने बिरामीको स्वास्थ्य परीक्षणको लागि स्पेनबाटै स्वास्थ्यकर्मीको टोली ल्याइएको गिरीले बताए।

त्यस्तै फाउन्डेसनले लुम्बिनीमा प्रसुति सेवा सहितको कम्तीमा १ सय शैयाको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार अस्पताल निर्माणको लागि सम्भावित स्थान पहिचान गर्ने काम भइरहेको उनले बताए।

Facebook Notice for EU! You need to login to view and post FB Comments!