Oct 17, 2021

कोठा दिनुअघि घरबेटी राख्छन् महिनावारी बार्नुपर्ने सर्त!

Sep 27 , 2021

‘महिनावारी हुँदा महिलालाई सहरमा पनि कहर रहेछ’

२३ वर्षीया माया (नाम परिवर्तन) थारूको परिवारमा महिनावारी हुनु एकदम स्वभाविक कुरा हो: यसलाई न पाप मानिन्छ, न बारिन्छ।धनगढी नआउन्जेल उनलाई महिनावारी भएकी महिलाले छोएको पानी अरू मानिसले बार्छन् भन्ने थाहै थिएन।

अचेल उनी महिनावारी हुँदा अलग्गै बस्न, धाराह्य-बाथरूम नछुन बाध्य छन्।

पूर्वी कैलालीको देहातमा रहेको आफ्नो घर छोडेर धनगढी आएपछि हरेक महिनाका पाँच दिन अपमानित हुनु परेको उनी बताउँछन्।

‘घर छोडेर आइयो यहाँ आएपछि डेरामा बस्न परिहाल्यो। घरबेटीले महिनावारी बार्न पर्ने सर्त राखेका छन्। महिनाको पाँच दिन अछुत बनाउँछन्, बेइज्जत गर्छन्,’ उनले भनिन्।

यस्तो गर्नु परेपछि उनलाई यो अवधिमा ५-७ दिन तनाव हुन्छ। घरबेटीले महिनावारी भएकाहरूका लागि भनेर छुट्टै नल्का त बनाइदिएका छन्। तर अरू बेला बाथरूममा ढुक्कले नुहाउने उनी महिनावारी भएको बेला बाहिर खुला ठाउँमा भएको नल्कामा नुहाउन पर्दा अप्ठेरो महशुस गर्छिन्।

‘नुहाउन, लुगा धुनभन्दा पनि घरबेटीले महिनावरी भएका बेला कचकच गर्छन्, धेरै यताउती, छुइछाई नगर्नु भन्छन्। त्यो बेला अपमानित महशुस हुन्छ,’ उनले भनिन्।

पढाइको लागि धनगढी पुगेकी बझाङकी १८ वर्षीया दीपा (नाम परिवर्तन) ले भने पहिलो पटक महिनावारी हुँदा घरदेखि टाढाको छाउघरमै बस्नु परेको थियो। उनको घरमा महिनावारी कडा तरिकाले बार्नुपर्थ्यो। देउता रिसाउँछन् भन्ने अन्धविश्वासका कारणले उनले गाउँमा महिनाका पाँच दिन निकै कष्ट बेहोर्नु परेको थियो। जब उनी कलेज पढ्न धनगढी जाने भइन्, सहरमा त महिनावारी हुँदा बार्नु पर्दैन भनेर खुसी थिइन्।

यहाँ आएपछि घरबेटीले बार्नुपर्ने शर्त राख्दा उनी हैरान भइन्। अचेल हरेक महिना उनी हैरान हुन्छिन्।

‘गाउँमा महिनावारी हुनु अछुत हुनु थियो। पाप मान्थे,भगवान् रिसाउँछन् भनेर छुन दिन्नथे। निकै गाह्रो हुन्थ्यो,’ उनले भनिन्, ‘गाउँ हुँदा सहरमा त यस्तो कहर हुन्नहोला जस्तो लाग्थ्यो। पढे-लेखेका मान्छे हुने समाज पनि उस्तै रैछ। घरमा त अरूले पकाएर दिन्थे, खानसम्म पाइन्थ्यो। यहाँ पकाएर दिने मान्छे पनि छैन पकाउन पनि पाइन्न कस्तो गाह्रो।’

अर्कै कोठा सरेर जाने झोंक नचलेको होइन तर अर्को घरबेटीले पनि यही सर्त राख्छन् भन्ने उनलाई थाहा छ।

‘धनगढीमा केटी मान्छेलाई सजिलै कोठा कहाँ दिन्छन्?  महिनावारी बार्ने कि नबार्ने भनेर पहिल्यै प्रश्न सोध्छन् अनि बार्नुपर्ने सर्त राख्छन्,’ उनले भनिन्।

उनका घरबेटीले त झन् धारा-नल्का दुबै छुन् दिँदैनन्। बाथरूममा नुहाउन पनि पाइँदैन।

‘घरबेटीले मोटर चलाइदिन्छन्, मोटरलाई नछोएर परैबाट त्यहीँ पानी थाप्दै, लुगा धुने नुहाउने गर्छु,’ उनले भनिन्।

सँगै कोठामा बस्ने उनका साना भाइले खाना पकाउन जान्दैनन्। दीपाले नै खाना पकाउँछिन्। घरबेटीले उनले छोएका भाँडा पनि नल्कामा पखाल्न दिँदैनन्। उनले भाँडा पखाल्न पनि अलग्गै पानी थाप्नुपर्छ।

‘यहाँ त धेरै गाह्रो छ, अरूले पानी दिएर महिनावारी हुँदा गर्नुपर्ने सरसफाइ  कहाँ सजिलो हुन्छ?,’ उनले भनिन्।

उनले आफूजस्तै भाडामा बसेर पढ्ने साथीहरूलाई पनि यस्तै समस्या रहेको बताइन्।

‘कलेजमा साथीहरूसँग महिनावारी भए कसका घरबेटी के भन्छन्, के गर्नुपर्छ भनेर एक अर्कालाई सोध्ने गर्छौं, धेरैले मेरोजस्तै समस्या सुनाउँछन्, नल्का, बाथरूम धारा छुन पाइन्छ भन्ने त एक-दुई जनामात्र छन्,’ उनले भनिन्।

दार्चुलाबाट प्राविधिक शिक्षा पढ्न गत वर्ष धनगढी पुगेकी रिमा धामी पनि महिनावारी भए तनाव हुने गरेको बताउँछिन्।

‘धारा, बाथरूम छुन पाइन्न भन्ने डरले नभनौं जस्तो लाग्छ, फेरि घरबेटीले थाहा पाए त मारिहाल्छन्, त्यही भएर आफैं छुँदैनौं,’ उनले भनिन्।

पढाइ तथा रोजगारको लामा कोठा भाडा लगेर बस्नेमध्येकी कोपिला कार्की पनि एक हुन्। उनी बैंकमा काम गर्छिन्। उनले पनि महिनावारी भएका बेला पानीसमेत बार्नुपर्ने समस्या भोग्नुपर्छ।

‘खानेपानी भर्न धारा छुन पाँइदैन, त्यो काम गर्न भाडामै बस्ने अरू साथीहरूको सहयोग माग्नुपर्छ,’ उनले भनिन्।

महिनावारी भए छुनु हुँदैन भन्ने मान्यताले अहिलेको आधुनिक युगसम्म महिलाहरूले समस्या भोगिरहनु परेको उनको भनाइ छ।

माया, दीपा, रिमा, कोपिला त उदाहरणका पात्र मात्रै हुन्। उनीहरूजस्तै कोठा भाडामा बस्ने थुप्रै किशोरी र महिलाहरुले महिनावारीका कारण विभेद भोग्न परिरहेको हुन्छ।

कतिपय किशोरीहरूलाई त घरमालिकले महिनावारी हुने र नबार्लान भन्ने शंका गर्दै कोठा भाडा दिनै मान्दैनन्। दिइहाले पनि महिनावारी बार्ने सर्तमा दिन गरेको किशोरीहरूको गुनासो छ।

शिक्षित र चेतनशील मानिसहरू बस्ने भनिएको सहरमा समेत महिलालाई महिनावारीका बेला ‘अछुत’ बनाइनु लज्जाजनक कुरा भएको यो क्षेत्रका अधिकारकर्मीहरू बताउँछन्।

दलित महिला अधिकार मञ्च कैलालीकी अध्यक्ष सावित्रा घिमिरेका अनुसार धनगढीमा पढ्न आएका किशोरी तथा महिलाहरूले अर्काको घर भाडामा लिएर बस्नुपर्ने र महिनावारी बार्नुपर्ने सर्तका कारण मानसिक समस्या भोग्नु परिरहेको छ।

‘यस्ता कुरालाई बाहिर ल्याएर कानुनी उपचारमा जानु पर्ने हो,’ उनले भनिन्, ‘हाम्रो कानुनले महिनावारीको नाममा कुनै पनि विभेद गरे फौजदारी अपराध मान्छ।’

मुलुकी संहिताले रजस्वला भएका महिलामाथि छुवाछुत वा अन्य विभेद गर्नुलाई फौजदारी अपराध मानेको छ।

संहिताको दफा १६८ ले यस्तो व्यवहारलाई यस्तो व्यवहारलाई अपमानजनक र अमानवीय भनेको छ। सोही दफाको उपदफा ३ले यस्तो व्यवहार गर्न पनि नहुने र गराउन पनि नहुने भनेको छ।

‘महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्नु वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु गराउनु हुँदैन,’ उक्त उपदफामा भनिएको छ।

उपदफा ४ र ५ मा भने उक्त कसुरको सजाय तोकिएको छ।

रजस्वला भएकी महिलालाई छाउगोठमा राख्ने र छुवाछुत गर्नेलाई ३ महिना कैद र तीन हजारसम्म जरिवाना हुनेछ। सजाय र जरिवाना दुबै पनि हुनसक्ने छ।

उपदफा ५ अनुसार, महिनावारी भएकी वा सुत्केरी महिलालाई छाउ गोठमा पठाउने, छुवाछुत गर्ने/ गराउने व्यक्ति राष्ट्रसेवक रहेछ भने थप तीन महिना कैद हुने छ।

‘कानुन लागु भएको तीन वर्ष पुगिसक्दासमेत यसको कार्यान्वयन भने भएको छैन, जसले गर्दा महिनावारी भएकी महिलामाथि मानिसहरूले नहिच्किचाई अपमान गर्छन्,’ अधिकारकर्मी घिमिरेले भनिन्।

महिनावारी किशोरीहरूमा शारीरिक विकाससँगै हुने प्राकृतिक प्रक्रिया हो। यसलाई सुदूरपश्चिमका फरक जिल्लामा फरक-फरक नामले सम्बोधन गरेको पाइन्छ। केहीले छाउ भएकी, महिनावारी,  रजस्वला, मैली भएकी, बाहिर सरेकी, नछुने आदि शब्दबाट सम्बोधन गर्ने गरिएको पाइन्छ।

यसरी हेर्दा महिनावारीका बेला सम्बोधनमै महिलालाई विभेद हुने गरेको  अधिकारकर्मी घिमिरेको भनाइ छ।

उनले कानुनको  कडा कार्यान्वयन भए यस्तो समस्या कम हुने बताइन्।

राजनीतिक रूपले अघि बढेकाहरू पनि विकट गाउँदेखि सहर-बजारमा समेत महिनावारीका कारण महिला तथा किशोरीहरूले समस्या झेल्दै आउनु परेको बताउँछन्।

सुदूरपश्चिमकी प्रदेश सभा सदस्य देवकी मल्लले प्रदेशमा महिलासम्बन्धी कानुन छिटो बनाएर कार्यान्वयन गर्न सके यस्तो कुप्रथा हटाउन मद्दत मिल्ने बताइन्।

ग्रामीण भेगमात्र नभए सहर-बजारमा महिनावारीले किशोरी र महिलाको क्षमता, वृद्धि, विकासमा असर निम्त्याएको उनले बताइन्।

‘यस्तो विभेद सहनु पर्दा महिलालाई गाह्रो हुन्छ, त्यसकारण हामीले पटक-पटक भनेका छौं, प्रदेशमा महिला कानून बनाउनु पर्छ। यसबारे गृह मन्त्रीज्युसँग छलफल भइरहेको छ,’ उनले भनिन्।