Mar 18, 2023

न्याय माग्दै बाँकेबाट हिँडेर बुटवल पुगे १४ जना, पैदलै काठमाडौं जाने

Sep 26 , 2021

चप्पलले खुट्टामा पारेका ठेलाले खुट्टा भतभती पोले पनि ९ दिनदेखि उनीहरूको यात्रा रोकिएको छैन।

खुट्टामा उठेका ठेलाले रातभरि खुट्टा भतभती पोल्छ, खुट्टाको ठेलाभन्दा पनि दिनहुँजसो महिलामाथि भइरहने हत्या हिंसाका घटना र ती घटनाको अनुसन्धानमा प्रहरी प्रशासनले गर्ने बेवास्ताले उनीहरूको मन पोल्ने गर्छ।

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी गत साउन ५ गते आफ्नै घरमा मृत भेटिइन्। वर्षौदेखि घरेलु हिंसा खेप्दै आएकी धोबीको शव घरभित्र झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीले आत्महत्या गरेको भनिदियो।

गतवर्ष मंसिरमा बाँकेकै परस्पुर गाउँकी निर्मला कुर्मी बेपत्ता भइन्। एकल महिला कुर्मीको खोजी गर्न उनका आफन्त र महिला अधिकारकर्मीले मंसिर १६ गते प्रहरीमा किटानी जाहेरी दिए। प्रहरीले उनको खोजी र अनुसन्धानलाई अगाडि बढाएन। बेपत्ता भएको भनिएकी कुर्मीको मृत्यु भइसकेको बताएको प्रहरीले उनको शव भने देखाएन।

घरमै मृत भेटिएकी धोबी र बेपत्ता कुर्मीको घटना शंकास्पद रहेको भन्दै उनीहरूका आफन्त तथा स्थानीय महिलाले जाहेरी दिए पनि प्रहरीले अनुसन्धान गरेन। अहिले मृतकका आफन्त र महिला अधिकारकर्मी उनीहरूको मृत्युको अनुसन्धान गर्नु पर्ने माग गर्दै बाँकेदेखि काठमाडौंसम्म पैदल यात्रामा निस्किएका छन्।

प्रहरीले न्याय संगत छानबिन नगरेको भन्दै असोज १ गते जिल्ला प्रशासन कार्यालय बाँकेबाट पैदल यात्रा तय गरेका उनीहरू नवौं दिन शनिबार बुटवल आइपुगेका छन्।

बुटवल आए पनि उनीहरूको यात्रा रोकिने छैन। न्यायको लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको कार्यालय बुटवलमा आइतबार र सोमबार धर्ना दिएपछि फेरि उनीहरूको यात्रा काठमाडौंका लागि अगाडि बढ्ने छ।

‘न्यायको लागि आइतबार र सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिएपछि हामी काठमाडौं प्रस्थान गर्ने छौं,’ यात्रामा सहभागी रुबी खानले भनिन्।

‘लामो समयदेखि घरेलु हिंसा व्यहोर्दै आएकी धोबीको शव झुन्डिएको अवस्थामा घरमै भेटिए पनि उक्त घटना शंकास्पद भएकाले अनुसन्धानको लागि प्रहरी गुहारेका थियौं। प्रहरीले अनुसन्धान नै नगरी आत्महत्या भनेर अनुसन्धान अगाडी बढाएन,’ उनले भनिन्।

राष्ट्रिय महिला अधिकार मञ्चकी अध्यक्षसमेत रहेकी खानले धोबी र कुर्मी दुबै जनाको सम्पत्ति हड्पन हत्या भएको हुन सक्ने भए पनि प्रहरीले छानबिनमा तदारुकता नदेखाएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताइन्।

‘महिलामाथि भएको घटनालाई ढाकछोप गर्न हत्यालाई आत्महत्या गराउन खोजिएको छ, हामी उनीहरूको न्यायको लागि हिँडेका हौं,’ उनले भनिन्।

उनीहरू बाटोमा जहाँ जसले सहयोग गर्छ त्यही खाना खान्छन्।

‘यात्रा सुरू गर्दा कहाँ पुगेर बास बस्ने भन्ने निश्चित नै हुँदैन, हिँड्दै जाँदा जहाँ पुग्दा रात पर्छ त्यहीँ बास बस्छौं,’ खानले भनिन्, ‘बास बस्ने कतिपय ठाउँमा पुग्दा स्थानीय महिला अधिकारकर्मी र होटल व्यवसायीले खाना खुवाउने र बास बस्ने प्रबन्ध गरिदिए पनि अधिकांश स्थानमा भने आफैंले मागेर खाना खायौं।’

दिनभरिको थकान र भोलिको यात्राको सोचाइले राति निदाउनसमेत गाह्रो हुन्छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!