Sep 26, 2023

अंगेला मर्केल अर्थात् १६ वर्ष जर्मनीमा शासन चलाएकी ‘मुत्ती’

Sep 26 , 2021

युरोपियन मुलुक जर्मनीमा आइतबार आमनिर्वाचन हुँदैछ। सन् २००५ पछि लगातार १६ वर्षसम्म जर्मनीकी चान्सलर बनेकी अंगेला मर्केल यही चुनावपछि राजनीतिबाट बिदा हुँदैछन्।

मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियनका आर्मिन लासेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालेना बेएरबोक चान्सलर बन्ने दौडमा छन्।

उनीहरूबीच कडा प्रतिष्पर्धा हुने र कुनै पनि दलले संसदको तल्लो सदन बुन्डेस्ट्यागमा एकल बहुमत ल्याउन नसक्ने विभिन्न सर्वेक्षणहरूले देखाएका छन्। कुनै पनि दलले बहुमत नल्याए  गठबन्धन सरकार बनाउनु पर्ने हुन्छ। त्यसका लागि केही महिना मर्केलले नै जर्मनीको काम चलाउ चान्सलर भएर काम गर्नुपर्ने हुन सक्छ।

८ करोड ३० लाख जनसंख्या भएको जर्मनीमा ६ करोडभन्दा बढी मतदाता छन्। जर्मनीमा प्रत्यक्ष र समानुपातिक गरी मिश्रित चुनाव प्रणाली छ।

को हुन् १६ वर्षसम्म जर्मनीमा शासन गरेकी मर्केल?

युरोपियन मुलुक जर्मनीमा आइतबार आमनिर्वाचन हुँदैछ। सन् २००५ पछि लगातार १६ वर्षसम्म जर्मनीकी चान्सलर बनेकी अंगेला मर्केल यही चुनावपछि राजनीतिबाट बिदा हुँदैछन्।

-सन् १९५४ जुलाई १७ मा ह्यामबर्गमा मर्केलको जन्म भएको थियो। उनको सुरूको नाम अंगेला कासनर थियो।  केही समयमै उनको परिवार कम्युनिष्ट शासन व्यवस्था भएको पूर्वी जर्मनीमा बसाइँ सरेको थियो। उनका बुवा पास्टर थिए।

-सन् १९७७ अलरिच मर्केलसँग उनले विवाह गरिन्। विवाहपछि उनले पनि आफ्नो थर फेरेर मर्केल नै राखिन्। सन् १९८२ मा अलरिच र अंकेलाको पारपाचुके भयो तर उनले  मर्केल थर फेरिनन्।

-सन् १९८६ मा अंगेलाले क्वान्टम फिजिक्समा पिएचडी गरिन्।

-सन् १९९१ मा उनी हेलमट कोलको सरकारमा मन्त्री बनिन्। १९९८ सम्म उनी मन्त्रीको भूमिकामा काम गरिन्।

-सन् २००० मा क्रिस्टियन डेमोक्र्याटिक युनियन (सिडियु) की अध्यक्ष बनिन्।

-२००५ मा जर्मनीको चान्सलर निवार्चित भइन्। चान्सलर बन्दा उनी ५१ वर्षकी थिइन्। उनी जर्मनीकी पहिलो महिला चान्सलर हुन् र सबैभन्दा कम उमेरमा चान्सलर बन्ने पनि उनै हुन्।

-२००९, २०१३ र २०१८ मा उनी लगातार चान्सलरमा पुन: निर्वाचित भइन्। सन् २००८ को आर्थिक मन्दी, २०१५ को शरणार्थी समस्या र २०२०को कोरोना महामारीका बेला मर्केलले देखाएको नेतृत्वले उनलाई विश्वस्तरीय नेता बनाएको छ।

-२०१४ मा उनी युरोपियन युनियनमा सबैभन्दा लामो समय शासन गर्ने सरकार प्रमुख बनेकी थिइन्।

-२०१८ मा मर्केलले सिडियुको नेतृत्व छोडिन्।

-६७ वर्षीया मर्केलले अब अवकाशको जीवन बिताउनले बताएकी छन्। उनले आफू निकै थाकेको बताएकी छन्।

-पहिलो विवाह पारपाचुकेमा टुंगिएपछि मर्केलले सन् १९९८ जोआकिम सउरसँग विवाह गरिन्।  मर्केलका आफ्ना सन्तान छैनन् तर जर्मनीमा उनलाई धेरैले मुत्ती उपनामले चिन्छन्। जर्मन भाषामा आमालाई मुत्ती भनिन्छ।  सुरूमा उनलाई विपक्षीहरू  आलोचना गर्दै मुत्ती भनेका थिए। पछि सबै जर्मनहरूले त्यही शब्द प्रयोग गर्न थाले र उनले पनि त्यसलाई स्वीकारिन्।

-मर्केललाई जर्मनले मात्रै आमा ठान्दैनन्। २०१५ को सिरिया संकटपछि जर्मनीले झन्डै १२ लाख आप्रवासीलाई शरण दिने घोषणा गर्‍यो। कतिपय युरोपेली देशले आप्रवासीप्रति कडा नीति लिएका बेला मर्केललै नै त्यति ठूलो संख्यामा आप्रवासीलाई शरण दिने निर्णय गरेकी हुन्। ती आप्रवासीले अहिले आफ्ना सन्तानका नाममा मर्केलको नाम राख्ने गरेका छन्।

(एएफपी, न्युयोर्क टाइम्सलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणहरूमा आधारित)

Facebook Notice for EU! You need to login to view and post FB Comments!