Oct 25, 2021

इटालियन निर्देशकले लेखेको खुदुनाबारीकी सरिताको कथा

Sep 24 , 2021

१३ वर्षीया सरिता शिवभक्त हुन्। उनलाई एक दिन भगवान शिवले बिर्सिने रोग (एम्नेसिया) को वरदान दिन्छन्। झापाको भुटानी शरणार्थी शिविर खुदुनाबारीमा जन्मे-हुर्केकी सरितालाई त्यसपछि शिविरभित्रका मानिस र आफ्नै परिवारका सदस्यका कुरा अनौठा लाग्न थाल्छन्।

सरिताको आंशिक स्मृति हराए पनि उनको परिवार र शिविरभित्रका मानिसले भुटानबाट निष्कासित हुनुको पीडा बिर्सन सकेका हुँदैनन्। शिविरभित्र पुरानो पुस्तामा आफ्नै देश भुटान फर्कने उत्कट चाहना हुन्छ। नयाँ पुस्ता भने तेस्रो देशमा गराइन लागेको पुनर्वासलाई विकल्प मान्न बाध्य हुन्छन्।

सरिताकै परिवारभित्र उनकी हजुरआमामा भुटान फर्किन पाउने दिनको प्रतीक्षा छ। उनका बुबा, आमा र दिदी नर्वे जान तयार छन्। सरितालाई भने देश निकाला, निर्वासन र पुनर्वासको कुराले रनभुल्लमा परेको छ।

उनलाई भुटानी इतिहासका कथा, आफ्नो परिवार र शिविरभित्रकै धेरै कुरा अनौठो लाग्न थाल्छ। उनी पहिचानको संकटमा पर्छिन्। त्यसपछि सरिताको स्मृति फर्काउने र आफ्नो विगतसँग जोडिने यात्रा सुरू हुन्छ।

‘सरिता- टेल मी हु आइ एम’ फिल्ममा भुटानी शरणार्थी किशोरीको त्यही यात्राको कथा छ। यो फिल्म हाल जारी नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलमा प्रदर्शन भइरहेको छ। यो भर्चुअल प्रदर्शन शनिबार सकिन्छ।

इटालियन निर्देशक सर्जियो बासोको लेखन तथा निर्देशन रहेको फिल्ममा साशा विश्‍वासले सरिताको भूमिकामा अभिनय गरेकी छन्।

सन् २०१९ मा सार्वजनिक भएको यो फिल्म खुदुनाबारी, झापामा रहेको तत्कालीन भुटानी नेपाली शरणार्थी शिविरमा छायांकन भएको थियो। शिविरका केही फुटेजसमेत प्रयोग गरिएको यो फिल्म वास्तविकताको धेरै नजिक छ।

भुटानका राजा जिग्मे सिंगे वाङचुङको सरकारले सन् १९९० को दशकमा लामो इतिहास बोकेका एक लाखभन्दा बढी नेपाली भाषी नागरिकलाई जबर्जस्ती देश निकाला गरे। नेपालसँग सीमा नजोडिएका ती भुटानी भारत हुँदै बलपूर्वक नेपाल ल्याइए। पूर्वी नेपालको झापा र मोरङका शरणार्थी शिविरहरूमा वर्षौं बिताएपछि सन् २००७ बाट सुरू भएको पुनर्वास कार्यक्रमअन्तर्गत हालसम्म एक लाख दस हजारभन्दा बढी तेस्रो देश पुगिसकेका छन्।

यो फिल्मले पुनर्वास गराइनुअघिको समयमा शिविरभित्र शरणार्थीले झेलिरहेको मानसिक दुबिधाको चित्रण गरेको छ।

फिल्ममा देश र पहिचान गुमाएका मानिसको कथा भन्न किशोरी सरितालाई माध्यम बनाइएको छ। उनकै माध्यमबाट दर्शकले ल्होत्सम्पा समुदायका नेपालीभाषी भुटानीले शिविरमा भोगेका दुःखलाई नजिकबाट महसुस गर्छन्।

नेपालीभाषी भुटानीले देश निकाला हुँदाको भोगेका शारीरिक र मानसिक यातनालाई मार्मिक रूपमा देखाइएको छ। उनीहरूले पराइ भूमिमा भोगिरहेको पहिचानको संकटलाई पनि उत्तिकै सशक्त रूपमा चित्रण गरिएको छ।

फिल्मका पात्रहरू एकातिर छुटेको अतीतको शोकमा मन कुँडिने गरी रून्छन्, अर्कोतिर अनिश्चित भविष्यको त्रासले आत्तिन्छन्। यो पीडा र त्रासदीलाई हामीले दुई दशकभन्दा लामो समय आफ्नै आँखाले टुलुटुलु हेर्नुपरेको थियो। यो भुटान, नेपाल, भारत, संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय कुटनीतिलाई ‘लोप्पा’ खुवाउने राजनीतिक घटना थियो।

नेपालबाट अहिले धेरै भुटानी शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत धेरै संख्यामा अमेरिका र बाँकी अस्ट्रेलिया, क्यानडा र युरोपका केही देश पुर्‍याइसकिएको छ। फिल्मले पुनर्वास ती शरणार्थीको पहिलो चाहना वा प्राथमिकता कदापि थिएन भन्ने स्मरण गराउँछ।

आज पनि दर्ता र पहिचानसहितका करिब छ हजार पाँच सय भुटानी नागरिक झापाको दमक र मोरङको पथरीमा घरफिर्ती, स्थानीय बसोबास वा पुनर्वासको विकल्पबिना विचल्लीमा परेर बस्न बाध्य छन्। उनीहरूले पाउँदै आएको सीमित रासन-पानी पनि कटौती भएको छ।

फिल्मले पुनर्वास भइसकेका बाहेक विचल्लीमा परेका यी शरणार्थीका समस्यालाई गम्भीर रूपमा लिन पनि घचघचाउँछ।

‘सरिता- टेल मी हु आइ एम’ गम्भीर विषयमा बनेको फिल्म हो। तर यसको प्रस्तुति रोचक छ। फिल्मकी मुख्य पात्र सरिताको चञ्चल र जिज्ञासु छिन्। शरणार्थी जीवनका दुःखलाई पनि हामीले उनकै नजरबाट हेर्छौं।

उनीसँगै शिविरभित्रका फरक उमेर र पृष्ठभूमिका पात्रका कुरा सुन्छौं। सरिताले शिविरका कथालाई जोड्दै कक्षा कोठादेखि अस्पतालका शैयासम्म पुर्‍याउँछिन्।

अवोध किशोरी र विस्मृतिमा पुगेको पात्र रोजेर निर्देशक बासोले कथावाचनमा सन्तुलित देखिने प्रयत्न गरेका छन्। तर सरितामार्फत् विदेशी कुटनीतिज्ञदेखि भुटानी शरणार्थीका हकहितका लागि लडेका नेता टेकनाथ रिजालसम्मलाई गम्भीर प्रश्न गराउन उनी चुकेका छैनन्।

यो कथावाचनको अभिन्न हिस्साका रूपमा प्रयोग गरिएको फिल्म हो। सुरूमै गीत र नृत्यका माध्यमबाट रमाइलो शैलीमा शरणार्थी शिविरको अवस्था देखाइएको छ। फिल्मअघि बढ्दै जाँदा सरिताकी हजुरआमाले भुटानी कथा पनि गीतकै माध्यमबाट सुनाउँछिन्। शिविरभित्र रासन वितरण गर्नेबेला प्रयोग भएको नृत्यको कोरियोग्राफी फिल्मकै प्रभावशाली दृश्य हो। ड्रोनदेखि क्लोजअप सटसम्म प्रयोग गरिएको फिल्‍मको छायांकन तथा फोटोग्राफी निर्देशन रविन आचार्यले गरेका हुन्।

कतै पूरै काल्पनिक त कतै वृत्तचित्रजत्तिकै यथार्थपरक लाग्ने यो फिल्मका धेरै पक्ष सबल छन्। ठाउँ-ठाउँमा खुकुलो लाग्ने स्क्रिनप्ले र भारी शब्दहरू प्रयोग भएका संवादले भने बिझाउँछ। तर यसले फिल्मको महत्वलाई स्थापित गर्न रोक्दैन। सरिताको भूमिकामा साशाको अभिनयले फिल्मका मसिना कमी-कमजोरी बिर्साइदिन्छ।

इटालियन निर्देशक बासोले भुटानी शरणार्थीको जीवनका धेरै आयाम खोतल्ने शैली पनि उत्तिकै प्रशंसनीय छ। रंगमञ्च पृष्ठभूमिबाट फिल्ममा आएकाले होला निर्देशक बासो घटनाक्रममा नाटकीयता ल्याउन सिपालु देखिन्छन्।

उनले फिल्ममा शरणार्थी जीवनका कहरमात्र देखाएका छैनन्।

शिविरभित्रको दुःखलाई पनि मीठो धुन र लयमा प्रस्तुत गर्न सक्ने कुशलता देखाएका छन्।

गत वैशाखमा सम्पन्न ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा ‘सरिता- टेल मी हु आइ एम’ का लागि सर्जिओ बासोले उत्कृष्ट लेखकको पुरस्कार जितेका थिए। यो फिल्म जर्मनीको ‘ह्यामवर्ग फिल्म फेस्टिभल’ मा समेत मनोनित भएको थियो। उत्कृष्ट सिनेमाटोग्राफीका लागि अमेरिकाको ‘क्वीन्स फिल्म फेस्टिभल’ मा समेत यो फिल्म मनोनित भएको थियो।

नेपाल-युरोपियन युनियन चलचित्र महोत्सवको यो १० औं संस्करण हो। यही असोज १ देखि ९ सम्म चल्ने महोत्सवमा १४ युरोपियन मुलुकका १५ फिल्मका साथमा अन्य २४ फिल्म समावेश छन्। महोत्सवमा नेपालका ‘सरिता- टेल मी हु आइ एम’ सँगै विनोद पौडेल निर्देशित ‘बुलबुल’, धोन्डुप छिरिङ निर्देशित ‘आमा खान्डो’ लगायत फिल्म छन्।

यो फिल्म कसरी हेर्ने?

महोत्सवमा भएका फिल्म हेर्नका लागि इच्छुक दर्शकले सबभन्दा पहिले यो लिंकमा (https://www.festivalscope.com/) जानुपर्छ। साइटमा गइसकेपछि, नयाँ दर्शकले क्रिएट अकाउन्ट (Create Account) मा जानुपर्छ। त्यहाँ आफ्नो नाम, इमेल ठेगाना र पासवर्ड हाल्नुपर्छ। अनि त्योभन्दा तल आउने दुई बाकसमा क्लिक गरी सबमिट (Submit) गर्नुपर्छ। यसरी खाता खोलिसकेपछि तपाईंलाई एक इमेल आउनेछ र साइन-इन हुनेछ।

सजिलोका लागि, पेजमा पुगेपछि त्यहाँ पहिलो लहरको अन्तिममा भएको नेपाल-इयु भर्चुअल फिल्म फेस्टिभल लेखिएको ठाउँमा क्लिक गर्नुहोस्। अनि तल सार्दै ‘सरिता- टेल मी हु आइ एम’ मा क्लिक गर्नुहोस्। त्यहाँभित्र गएर शून्य डलर भएको ठाउँमा क्लिक गर्नुहोस्। त्यहाँ रेन्ट (Rent) लेखेको ठाउँमा क्लिक गर्नुहोस्। यसपछि प्ले नाउ (Play Now) गरेपछि फिल्म खुल्छ।

यो फिल्म शनिबारसम्म हेर्न मिल्नेछ।