Sep 28, 2023

अमेरिकाको तल्लो सदनबाट पारित भयो इजरायललाई एक अर्ब डलर दिने प्रस्ताव

Sep 24 , 2021

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले इजरायललाई एक अर्ब डलर रकम दिने प्रस्ताव पारित गरेको छ।

समाचार संस्था रोयटर्सका अनुसार इजरायलको आइरन डोम मिसाइल प्रतिरक्षा प्रणालीका लागि दिन लागिएको उक्त रकमबारे बिहाबार संसदमा मतदान भएको थियो। उक्त मतदानमा ४२० जनाले पक्षमा मत हालेका थिए भने ९ जना सांसदले  विपक्षमा मतदान गरेका थिए। विपक्षमा मतदान गर्नेमध्ये ८ जना सांसद सत्तारूढ डेमोक्र्याटिक पार्टीका हुन्।

प्रगतिशील डेमोक्र्याटहरूले इजरायलले प्यालेस्टाइनीहरूको मानव अधिकार उल्लंघन गरिरहेको उल्लेख गर्दै उसलाई पैसा दिन नहुने तर्क गरेका थिए। इजरायलप्रति अमेरिकाको नीतिमा पुनर्विचार गर्नुपर्ने उनीहरूको भनाइ छ।

यहुदी बहुल राष्ट्र इजरायललाई अमेरिकाका दुबै पार्टीले लामो समयदेखि सहयोग गर्दै आएका छन्। त्यही भएर रिपब्लिकन पार्टीका सांसदहरूले पनि इजरायललाई सहयोग गर्ने पक्षमा मत हालेका हुन्।

इजरायलका प्रधानमन्त्री नाफ्टाली बेनेटले अमेरिकी संसदका दुबै पार्टीलाई सहयोगका लागि धन्यवाद दिएका छन्।

अमेरिकाले दिने १ अर्ब डलर इजरायलले गत मेमा गाजाबाट हानिएका रकेट निस्तेज पार्न प्रयोग गरिएका सामान फेर्न प्रयोग गरिने जनाइएको छ।

हाउस अफ रिप्रिजेन्टेटिभ्सले उक्त प्रस्ताव सिनेटमा पठाएको छ। सिनेटले प्रस्ताव पारित गरे इजरायलले पैसा पाउने छ।