Sep 24, 2023

अरू मुलुकलाई बाँड्न थप ५० करोड डोज कोरोना खोप किन्ने बाइडेनको घोषणा, लगाउन ४४ अर्ब पनि दिने

Sep 23 , 2021

अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारका न्यून र मध्यम आय भएका मुलुकलाई थप ५० करोड डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका छन्।

धनी र विकसित मुलुकहरूले गरीब मुलुकका नागरिकलाई खोपको सुनिश्चिताका लागि काम नगरेको भन्दै आलोचना भइरहेका बेला अमेरिकी राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका हो द न्युयोर्क टाइम्सले जनाएको छ।

बुधबार भएको भर्चुअल ग्लोबल कोभिड-१९ समिटमा सम्बोधन गर्दै बाइडेनले फाइजर कम्पनीले बनाएको थप ५० करोड डोज खोप अरू मुलुकलाई दिन अमेरिकाले किन्न लागेको बताएका हुन्।

थप खोप किनेसँगै अमेरिकाले संसारभरि बाँड्ने खोप १ अर्ब १० करोड डोज पुग्ने उनको भनाइ छ।

बाइडेनले खोपसँगै खोप लगाउन चाहिने पूर्वाधार र प्रशासनिक कामका लागि पनि अमेरिकाले सहयोग गर्ने बताएका छन्। त्यसका लागि ३७ करोड अमेरिकी डलर (४३ अर्ब ८७ करोड रुपैयाँ) छुट्ट्याइको बाइडेनले जानकारी दिएका छन्।

‘अमेरिकामा लगाइएको कोरोनाको एक डोज खोप साटो अरू मुलुकमा तीन डोज खोप लगाउन हामी प्रतिवद्ध छौं,’ सम्बोधनका क्रममा बाइडेनले भने।

उनले अहिलेसम्म अमेरिकाले संसारका एक सय मुलुकमा १६ करोड डोज खोप अनुदानमा दिइसकेको जानकारी दिए।

‘यो महामारीलाई परास्त गर्न हामीले हरेक ठाउँमा यसलाई परास्त गर्नुपर्छ,’ बाइडेनले भने,‘यो हामी सबै मिलेर सामना गर्नुपर्ने चुनौती हो।’

बाइडेनले कोरोना महामारीविरूद्धको लडाइँमा सरकार, अन्तर्राष्ट्रिय संघसंस्था, खोप उत्पादक कम्पनी, निजी क्षेत्र र नागरिक समाजले आ-आफ्नो ठाउँमा योगदान गर्नुपर्ने बताए।

अमेरिकाले बाँड्ने खोप सन् २०२२ बाट पठाउन सुरू गरिनेछ। स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले फाइजरसँग अमेरिकी सरकारले प्रतिडोज ७ डलरका दरले खोप किन्न लागेको उल्लेख गरेको छ।

सन् २०२० को सुरूदेखि संसारभरि फैलिएको कोरोना महामारीका कारण अहिलेसम्म ४७ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ भने अमेरिकामा मात्रै ६ लाख ७८ हजारले ज्यान गुमाएका छन्।

कोरोनाभाइरसविरूद्धको खोप वितरणमा धनी र गरीब मुलुकबीच गहिरो खाडल छ। विज्ञहरूले अहिलेसम्म संसारभरि लगाइएको कोरोना झन्डै ६ अर्ब डोज खोपमध्ये ७० प्रतिशत खोप धनी मुलुकमा मात्रै लगाइएको बताएका छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!