Oct 25, 2021

९ महिनामा साढे चार करोडसहित काठमाडौंबाट पक्राउ परे १७ हुन्डी कारोबारी

Sep 22 , 2021

गत साउन २५ गते काठमाडौं-२२ गडबहाल क्षेत्रबाट हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गर्‍यो।

तनुज इन्टरप्राइजेज प्रालिका सञ्चालक तरुण अग्रवालसहित चार जनालाई पक्रँदा प्रहरीले ९१ लाख ९६ हजार रुपैयाँ बरामद गरेको थियो।

कोरोनाभाइरसको महामारीका कारण त्यतिबेला काठमाडौं लकडाउनबाट विस्तारै ‘लुजडाउन’को मोडालिटीमा गइरहेको थियो। बैंक तथा वित्तीय संस्थामा कारोबार आरम्भ भइसकेको थियो। अग्रवाल भने ती निकाय छलेर गैरकानुनी माध्यमद्वारा पैसाको कारोबार गरिरहेका थिए।

प्रहरीको आँकडा हेर्ने हो भने काठमाडौं उपत्यकामा हुन्डी कारोबार मौलाउँदो देखिन्छ। लकडाउन हुनु केहीअघि र पछि बैंक तथा वित्तीय संस्था छलेर हुन्डीमार्फत् कारोबार गरिएका तथ्यांक काठमाडौं प्रहरीको अभिलेखमा छ।

प्रहरीले २०७७ पुस २० गते नागढुंगाबाट स्रोत नखुलेको १ करोड ४७ लाख ४६ हजार रुपैयाँ फेला पारेको थियो। कपिलवस्तुबाट काठमाडौं आइरहेको प्रदेश ३-०१-०२३च २२५९ नम्बरको सिल्भर रंगको कारबाट उक्त बराबरको स्रोत नखुलेको उक्त रकम प्रहरीले बरामद गरेको थियो।

यो सँगै गत पुसयता सात पटक गरेर काठमाडौं प्रहरीले चार करोड ६१ लाख ७३ हजार रुपैयाँ हुन्डीको रकम बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा १७ जनालाई पक्राउ गरिएको छ।

रकमसहित पक्राउ परेका ती १७ जना सबैलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको छ।

‘प्रहरी जाँदा रकम भेटिने तर मानिस भागेका केही उदाहरण पनि छन्, त्यस्तो रकम भने हामी राजश्व अनुसन्धान विभाग पठाउने गरेका छौं,’ परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह भन्छन्, ‘अधिकांश ठाउँमा रकमसहित व्यक्ति समातिएका छन्, उनीहरूलाई सम्पत्ति शुद्धीकरण प्रयोजनार्थ पठाएका छौं।’

पछिल्लो समय कोरोनाभाइरसको महामारीका कारण व्यापार, व्यवसाय र रेमिट्यान्स घटेको स्थितिमा पनि हुन्डी कारोबार भने भइरहेको छ।

‘योचाहिँ हाम्रो सूचनामा आइपुगेको र हामीले कारबाही गर्दा फेला परेको रकम हो,’ सिंह भन्छन्, ‘हामीले थाहा नपाएको त कति होला कति।’

आयस्रोत नदेखिएको त्यस्तो रकमको कारोबारबाट मानिसले कालो धन आर्जन गरेको हुनसक्ने शंकामा विभागले पनि पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्ने गरेको छ।

काठमाडौंमा हुन्डी कारोबार हुने मुख्य क्षेत्र न्युरोड हो। न्युरोडबाट मात्र प्रहरीले पटक-पटक गरेर एक करोडभन्दा बढी बरामद गरेको छ। भिडभाड र व्यापारिक गतिविधि हुने क्षेत्र भएकाले यहाँ हुन्डी कारोबार बढी हुने गरेको सिंह बताउँछन्।

हुन्डी रेमिट्यान्स भए पनि यो अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिँदैन। सरकारी कोषमा विदेशी मुद्रा नआउने भएकाले अभिलेखमा रहँदैन।

घर परिवारले पाएको रकम बढिरहेको तर औपचारिक च्यानलबाट आएको रकम भने कम देखिन्छ।

अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति घटाउने, अनौपचारिक क्षेत्रमा लगानी हुने हुनाले अनधिकृत व्यापार, व्यवसायसँगै राजश्वसमेत घटाउँछ।

‘हुन्डी नियन्त्रण हुन नसक्दा अन्य किसिमका अपराध पनि बढेको देखिन्छ,’ सिंह भन्छन्।

हुन्डीको कारोबार सुन तस्करी, लागुऔषध, हतियार तस्करीमा समेत प्रयोग हुने गरेको उनी बताउँछन्।

‘आतंकवादी क्रियाकलापको पैसा पनि हुन्डीमार्फत् एक देशबाट अर्को देशमा पुग्ने गरेको छ,’ सिंह भन्छन्।

प्रहरीका अनुसार हुन्डी कारोबारले बैंक तथा वित्तीय कारोबारको दायित्व पूरा गरेको हुँदैन। राष्ट्र बैंकले लागू गरेको बैंकिङ प्रणालीभित्रबाट कारोबार नहुने भएकाले यो गैरकानुनी हो।

हुन्डीको प्रमुख स्रोत भनेको चाहिँ रेमिट्यान्स हो। कतार, दुबई, साउदी अरब, मलेसियाबाट नेपालमा रेमिट्यान्स औपचारिक र अनौपचारिक दुई तरिकाले आउने गरेका छन्।

नेपालमा बस्ने तर भारतीय व्यक्तिहरू समेत यो कार्यमा देखिएको सिंह बताउँछन्। हतार-हतारमा कुनै कारोबार गर्नुपर्दा उनीहरू एजेन्टमार्फत् व्यक्ति-व्यक्तिका हातमा रकम पुर्‍याइदिने चाँजो मिलाउँछन्।

अनौपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्सलाई हुन्डी भनिएको हो। हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध माध्यम हो, दुबै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार गरिने गरिएको छ।

‘भारतबाट पैसा पठाउन हुन्डीको त्यहाँको नेपालको एजेन्टलाई खबर गर्छ। नेपालको एजेन्टलाई पैसा दिएपछि भारतको एजेन्टले आफ्नो व्यक्तिलाई पैसा उपलब्ध गराउँछ,’ उनले भने, ‘यसबापत उनीहरूले केही प्रतिशत कमिशन लिने गर्छन्।’

विदेशबाट पैसा पठाउँदा बैंकिङ च्यानलबाट पठायो भने त्यो रेमिट्यान्समा गनिन्छ। बैंकिङ च्यानलबाट नभई अन्य दलालमार्फत् सिधै पैसा पठायो भने बैंकिङ प्रणालीभित्रको राजश्व रकम तिर्न पर्दैन।

कार्यथलोमै लिन आउने र घरमै पुर्‍याइदिने, धेरै शुल्क पनि नलाग्ने भएकाले मानिसहरू हुन्डीमा आकर्षित हुने गरेका छन्।

‘हुन्डीबाट पैसा पठाउँदा बैंकिङ प्रणालीबाट पठाउँदाभन्दा कम समय लाग्ने, पैसाको स्रोत खुलाउने तथा अन्य प्रक्रियागत झन्झट पनि नहुने भएकाले मानिसहरू आकर्षित भएका हुन्,’ सिंह भन्छन्।

यस्ता कारोबार रोक्ने चुनौती भने प्रहरीलाई नै आइपर्ने गरेको उनी बताउँछन्।

‘हुन्डी बढ्यो भने सुन तस्करी, लागुऔषध तस्करीलगायत अपराध बढ्छन्,’ उनले भने, ‘यस्ता तस्करी रोक्ने दायित्व प्रहरीलाई नै नै छ।’

सूचना संकलन र परिचालनले भ्याएसम्म हुन्डी कारोबार रोक्न खोजिएको सिंह बताउँछन्।

राष्ट्र बैंकका अनुसार हुन्डी कारोबार रोक्नका लागि नेपालमा विभिन्न रेमिट कम्पनीलाई लाइसेन्स दिइएको छ। उनीहरूमार्फत् औपचारिक च्यानल प्रयोग गरी रेमिट्यान्स पठाउन सकिन्छ।

‘हामीले जनतालाई जानकारी पनि दिने गरेका छौं, दुई चार पैसा बच्ला तर व्यक्ति ठगिने सम्भावना बढी हुन्छ। देशको लागि पनि घाटा हो। त्यसैले हामीले वित्तीय चेतनामूलक सन्देशहरू दिइरहेका छौं,’ राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेल भन्छन्।

उनका अनुसार रेमिट्यान्स पठाउन बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सकिने व्यवस्था पनि मिलाइएको छ।  त्यसरी खाता खोल्ने व्यक्तिलाई मौज्दात रकमको एक प्रतिशतसम्म ब्याज थपिदिने व्यवस्था मिलाइएको छ।

‘साधारणत: ७ प्रतिशत ब्याज पाइन्छ भने औपचारिक च्यानलबाट पठाउनेलाई प्रोत्साहित गर्न एक प्रतिशत ब्याज थपिदिने गरिएको छ,’ उनी भन्छन्, ‘हुन्डीबाट आउँदा विदेशी मुद्रा उतै रहने भएकाले मुद्रा राज्यको ढुकुटीमा सञ्चिति रहँदैन। त्यसैले, राज्यले चाहेको बेला ऋण लिइरहनु परेको छ।’