Sep 26, 2023

पौडेल पक्षले भन्यो- मन्त्री छान्दा पार्टीमा छलफल हुनुपर्छ

Sep 22 , 2021

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्रिमन्डल विस्तार गर्दा पार्टीमा छलफल हुनुपर्ने बताएको छ।

मन्त्री नियुक्त गर्ने अधिकार प्रधानमन्त्रीमा रहे पनि त्यसबारे सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा छलफल गर्नुपर्ने पौडेल पक्षको भनाइ छ।

प्रधानमन्त्री देउवाले आज नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका थिए। यसअगाडि देउवाले गृहमन्त्रीमा बालकृष्ण खाण र कानुन मन्त्रीमा ज्ञानेन्द्र कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए।

उनीहरू चारै जना देउवानिकट हुन्। मन्त्रिपरिषद विस्तार गर्दा पार्टीमा छलफल नगरेको भन्दै पौडेल पक्ष सभापति देउवासँग असन्तुष्ट छ।

आज यसबारे महामन्त्री शशांक कोइराला निवासमा पनि छलफल भएको थियो। ‘मन्त्रिपरिषद विस्तार हुँदा पार्टीमा छलफल हुनुपर्छ। हाम्रो पक्षले कति संख्यामा मन्त्री पाउने हो?,’ केन्द्रीय सदस्य बलबहादुर केसीले भने।

यस्तै एनआरएनको चुनाव र महाधिवेशनबारे पनि आज छलफल भएको थियो। कांग्रेसमा ६४ जिल्लामा वडा अधिवेशन सकिएको छ भने १३ जिल्लामा हुन बाँकी छ। तर कहिले यी जिल्लामा वडा अधिवेशन हुन्छ टुंगो छैन।

आज सभापति देउवाले यसबारे छलफल गर्न पदाधिकारी बैठक राखेका छन्। बाँकी रहेका १३ जिल्लामा वडा अधिवेशनपछि मात्रै एकैदिन गाउँ/नगरको अधिवेशन गर्नुपर्ने पक्षमा पौडेल पक्ष छ। असोज ९ मा गाउँ/नगर अधिवेशन तोकिएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!