Jun 07, 2023

दसैंका लागि खुल्यो हवाई टिकट बुकिङ, २५ प्रतिशतसम्म माग बढ्ने अनुमान

Sep 15 , 2021

दसैंका लागि हवाई टिकट बुकिङ सुरु भएको छ। दसैं आउन केही दिन बाँकी भए पनि धमाधम बुकिङ सुरु भएको वायुसेवा कम्पनीहरुले जानकारी दिएका छन्। दसैंकै लागि भनेर छुट्टै अग्रिम बुकिङ खुल्ला नगरिए पनि यो सिजनमा टिकट बुकिङ गर्ने यात्रुहरुको संख्या

बढ्ने वायुसेवा कम्पनीहरुको भनाइ छ।

‘टिकट त सामान्य अवस्थामा पनि अग्रिम बुकिङ भइरहेको हुन्छ। दसैंको समयमा यात्रुहरुको चाप बढ्ने मात्रै हो,’ बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले   भने।

पछिल्लो समय उडान संख्या र जहाजसमेत थपिएकाले दसैंको अवधिमा टिकट नपाउने समस्या खासै नरहने उनले बताए। कर्णकाअनुसार बुद्ध एयरले दैनिक एकतर्फी ७० उडान भर्दै आएको छ।

बुद्ध एयरले काठमाडौं र पोखराबाट देशका विभिन्न गन्तव्य भरतपुर, भैरहवा, नेपालगन्ज, सिमरा, तुम्लिङटार, जनकपुर, विराटनगर लगायत स्थानमा उडान भर्दै आएको छ।

दसैंका लागि तुम्लिङटारको लगभग ९० प्रतिशत टिकट बुकिङ भइसकेको सूचना अधिकारी कर्णले बताए।

‘अरु गन्तव्यको टिकट पनि बुकिङ भइरहेको छ। तुम्लिङटारमा उडान संख्या कम, माग बढी भएका कारण अभाव हुने देखिएको छ,’ उनले भने।

बुद्ध एयरले तुम्लिङटारमा दुई वटा जहाजमार्फत सेवा दिँदै आएको छ। ४२ र १८ सिट क्षमताका जहाजले यात्रुको माग नधानेपछि अर्को ७२ सिट क्षमताको जहाज थप्ने तयारी गरिएको उनले बताए।

‘हामी यसका लागि नागरिक उड्डयन प्राधिकरणसँग कुरा गरिरहेका छौँ। अझै केही समय लाग्छ,’ उनले भने।

श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धर पनि दसैंका लागि छुट्टै टिकट बुकिङ नहुने बताउँछन्। ‘दसैंका लागि भनेर अग्रिम टिकट खोल्दैनौँ तर बुकिङ भइरहेको छ, उनले सेतोपाटीसँग भने।

कोभिड महामारीको जोखिम कायमै रहेकाले यात्रुको संख्या सम्बन्धमा अनुमान गर्न नसकिने उनी बताउँछन्।
‘सामान्य अवस्थाको दसैंमा जसरी टिकट बुकिङ हुन्छ भनेर भन्न सक्ने अवस्था छैन’, उनले भने।

श्री एयरलाइन्सले भद्रपुर भैरहवा, विराटनगर, धनगढी, राजविराज जनकपुर, पोखरा लगायत स्थानमा उडान भर्दै आएको छ।

सीता एयरका वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्य भने टिकट बुकिङ सुरु भइनसकेको बताउँछन्।

‘हामीले दुर्गम क्षेत्रमा मात्रै सेवा दिँदै आएका छौँ। ति स्थानका लागि माग आइसकेको छैन,’ उनले भने। एयरलाइन्सले नेपालगन्ज र सुर्खेतमा उडान भर्दै आएको छ। एयरलाइन्सले कार्गो सेवालाई प्राथमिकतामा राखेको छ।

वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्कीले दसैंका लागि भनेर छुट्टै बुकिङ नखुले पनि धमाधम हवाई टिकट बुकिङ भइरहेको बताए। ‘दसैंका लागि छुट्टै बुकिङ खुल्ला हुँदैन। तर, आवश्यक पर्नेले टिकट बुकिङ गर्न सक्नुहुन्छ’ उनले भने।

दसैंमा सामान्य अवस्थाको तुलनामा २५ प्रतिशतसम्म टिकट माग बढ्ने उनले बताए। सोहीअनुसार वायुसेवा कम्पनीहरुले तयारी गरिरहेका छन्।

‘कोभिडका लागि चाप कम हुन्छ भन्ने हामीले अनुमान गरेका छौँ। चाप बढी भयो भने सोहीअनुसार अतिरिक्त उडान थप्छौँ,’ उनले भने ‘तर अतिरिक्त उडानका सम्बन्धमा अहिले भन्न सकिने अवस्था छैन।’

सरकारले तोकेको न्यूनतम र अधिकतम भाडादरअनुसार यात्रुलाई गन्तव्यमा लगिने संघले जनाएको छ। चाडपर्वको समयमा यात्रु एकतर्फीमात्र हुने हुँदा केही तलमाथि पर्न सक्ने वायुसेवा कम्पनीहरुले बताएका छन्।

कोभिड महामारी नहुँदा दसैं आउनुअघि हवाई टिकट बुकिङ सकिने गरेको थियो। त्यसले खासगरी लामो दूरी तथा दूर्गम गन्तव्यमा पुग्ने यात्रुहरुले सास्ती झेल्दै आएका थिए। हाल आन्तरिकतर्फ हेलिकप्टरसहित २० भन्दा बढी वायुसेवा कम्पनीहरुले उडान भर्दै आएका छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!