Sep 24, 2023

सुदूरपश्चिममा थप तीन सांसदले रोजे एकीकृत समाजवादी, बन्यो एमालेभन्दा ठूलो दल

Sep 05 , 2021

सुदूरपश्चिममा थप तीन जना एमाले सांसदहरूले  नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन्।

आइतबार सांसदहरू  दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावल धनगढीस्थित निर्वाचन आयोग  कार्यालयमा गएर सनाखत गरेका हुन्।

उनीहरूले सनाखत गरेसँगै प्रदेश सभा एकीकृत समाजवादीका सांसद १३ जना पुगेका छन्। ५३ सदस्यीय प्रदेश सभा एमालेका सभामुखसहित २५ सांसद थिए। १३ सांसद एकीकृत समाजवादीमा गएपछि उक्त पार्टी एमालेभन्दा ठूलो बनेको छ।

यसअघि प्रदेश सभा सदस्यहरू पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अम्मर साउँद, मना साउँद, चुनकुमारी चौधरी, कुलबिर चौधरी,  सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्टले एमाले छोडेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका थिए।

एमालेमा विवाद हुँदा सुदूरपश्चिम प्रदेश सभामा २५ मध्ये १७ सांसद वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा उभिएका थिए। सुदूरपश्चिमको एमाले राजनीतिमा बलियो प्रभाव रहेका उपाध्यक्ष भीम रावल पनि त्यतिबेला नेपाल समूहमै थिए।  पछिल्लो समय रावल नेपालको साथ छोडेर एमालेमै रहेका छन्। सुदूरपश्चिममा भने उनले चार जना सांसदबाहेकलाई नेपाल नेतृत्वको नयाँ पार्टीमा जानबाट रोक्न सकेका छैनन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!