Oct 25, 2021

१३ वर्षमा आमा बनेकी बालिकालाई न परिवारले हेर्‍यो न प्रशासनले देख्यो

Aug 12 , 2021

लमजुङ, सुन्दरबजार नगरपालिकाकी रिमा (नाम परिवर्तन) मर्स्याङ्दी किनारमा बालुवा बोक्थिन्। त्यहीँ काम गर्ने हरि (नाम परिवर्तन) सँग उनको भेट भयो। उनीहरू एकअर्काको ‘प्रेममा’ परे। लगत्तै ‘बिहे’ पनि गरे।

तीन वर्षअघि बिहे गरेका उनीहरूको अहिले पहिलो सन्तान जन्मिएको छ।

उनीहरूको बिहे र सन्तान जन्माउनु भने सामान्य होइन, न उमेरले न कानुनले। बिहे गर्दा रिमा जम्मा दस वर्ष लागेकी थिइन्, हरि १६ वर्षका।

पढौं, खेलौं, कुदौं भन्ने कलिलो उमेरमा १३ वर्षे रिमा छोरीकी आमा बनेकी छन्। बुवा हरि २० वर्ष लागे। काम, बास र के खाने केही टुंगो नभएको अवस्थामा उनीहरू अभिभावक बनेका हुन्।

सडक बालकका रूपमा हुर्किएका हरि मर्स्याङ्दी किनारमा बालुवा बोक्न पुगेका थिए। आमाले छाडेर गएपछि बुबाले आफूलाई सडकमा छाडेको उनी बताउँछन्। उनले अहिलेसम्म आफ्नो घर पनि देख्न पाएका छैनन्।

रिमा पनि परिवारमा उचित रेखदेख नपाएकै कारण जीवन धान्ने बाटो खोज्दै बालुवा बोक्न पुगेकी थिइन्। उनका बुबा अर्काको घरमा बसेर काम गर्छन्। स्थानीयका अनुसार एकातिर नाजुक आर्थिक अवस्था, अर्कातिर मानसिक समस्या भएकाले उनले छोराछोरी हेर्न सक्ने अवस्था छैन।

परिवारको माया, रेखदेख, शिक्षा, स्वास्थ्य पाउनुपर्ने बेला रिमा र हरि बालुवा बोकेर जिविका चलाउँथेँ। यत्तिकैमा एक दिन हरिले रिमालाई बिहेको प्रस्ताव गरे। आफूहरूबीच ‘लभ’ परेको र बिहे गरेको रिमा बताउँछिन्।

रिमाले कलिलैमा बिहे गर्दा परिवारले पटक पटक छुटाउने प्रयास गरेका थिए। उनकी फुपूले दुईपटकसम्म छुटाएर लगिन्। घर लगे पनि रिमालाई उचित शिक्षा र पुनर्स्थापना हुने मौका दिन सक्ने अवस्था भएन। रिमा फुपू र परिवारको आँखा छलेर हरिसँग बसिन्।

हरिसँग बसेको भएको तीन वर्षपछि रिमा गर्भवती भइन्। त्यो बेला उनी आफ्नो परिवारसँगै बस्थिन्। सुत्केरी व्यथा लागेपछि हरिले जिल्ला अस्पताल, बेसीसहर लगे।

रिमाका अनुसार उनले साढे दुई किलोकी छोरी जन्माइन्। बच्चा जन्माएर फर्किएपछि सुत्केरी रिमालाई उनका दाजुले घरभित्र पस्न दिएनन्। गोठमा लगेर राखिदिए।

गोठमा सुत्केरीको बिजोग देखेपछि रिमाकी फुपूले उनलाई आफ्नो घर लगेर राखेकी छन्। सानी रिमालाई बच्चा स्याहार्न निकै समस्या परेकी फुपू बताउँछिन्।

‘गोठमा एउटा तन्नामा सुत्केरीलाई सुताएको देखेँ। बच्चाको दिसा–पिसाब स्याहार्न पनि सकेकी थिइन। जति सक्छु सम्हाल्छु भनेर लिएर आएँ,’ रिमाकी फुपूले भनिन्, ‘यिनीहरू आफैं बच्चा छन्। बच्चाले बच्चा जन्माएपछि कसरी हुर्काउने? भाँडाकुटी खेले झैं बच्चा जन्माए। बच्चाको हालत के हुने हो थाहा छैन।’

बच्चा स्याहार्न त रिमाले फुपूसँग सिकिरहेकी छन्। तर फुपूकै घरको अवस्था राम्रो नभएकाले पोसिला खाना र बस्न समस्या छ। अर्कातिर बुवा हरिको परिवार सम्हाल्ने कुनै आधार छैन।

स्कुल गएर पढ्ने उमेरका केटाकेटी आमाबुवा बन्दा न उनीहरूलाई परिवारले हेरेको छ, न जिम्मेवार स्थानीय प्रशासनले नै उनीहरूको अवस्था देख्यो।

संविधानले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक हुने भनेको छ। अभिभावकबाट संरक्षण पाउन नसकेकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुन्छ। त्यस्तै बालबालिकालाई जोखिमपूर्ण काम-श्रममा लगाउन पाइँदैन।

तर रिमा र हरिले यी कुनै हक पाएनन्। उनीहरूका लागि बनेका कुनै हक लागू नभएकै कारण उनीहरू कलिलैमा आमाबुवा बन्नुपर्ने अवस्था आएको लमजुङका बालअधिकार अभियन्ता नवीनचन्द्र घिमिरे बताउँछन्।

‘संविधानको मौलिक हक र बालबालिकाको संरक्षणका लागि बनेका सबै कानुन यस घटनामा उल्लंघन भएको छ,’ बाल कल्याण समितिमा समेत काम गरिसकेका घिमिरे भन्छन्।

बालबालिकालाई बालुवा निकाल्ने र बोक्नेजस्ता जोखिमपूर्ण काममा लगाउँदा पनि प्रशासनले आँखा चिम्लेको छ। राज्यका अरू कुनै निकायले यसमा ध्यान नदिएको उनी बताउँछन्।

‘रिमाको पुनर्स्थापना, संरक्षण र स्याहार गर्न तत्काल स्थानीय सरकारले अग्रसरता लिनुपर्छ,’ घिमिरेले भने।

तर सुन्दरबजारका मेयर जनकराज मिश्र बालिका सुत्केरी हुनुअघिसम्म यसबारे कुनै जानकारी नै नभएको बताउँछन्।

‘उनीहरू विवाह दर्ता गर्न पनि आएका थिएनन्। हाम्रो नगरपालिकाका स्थायी बासिन्दा पनि होइन रहेछन्,’ मिश्रले भने, ‘अब कसरी व्यवस्थापन गर्ने भनेर सल्लाह गर्दैछौं।’

अहिले रिमालाई विभिन्न संस्था र युवा क्लबले सहयोग गरिरहेको भन्दै आवश्यकता अनुसार नगरपालिकाले पनि सहयोग गर्ने उनले बताए।

मिश्रका अनुसार कानुनी प्रक्रियामा जाँदा बालिकाले श्रीमान भनेका हरिलाई बलात्कार मुद्दा लाग्ने र विवाह स्वीकार गर्ने परिवार समेत मुद्दामा जोडिन सक्छ। यस्ता घटना हुन नदिन नगरपालिकाले आफ्नो क्षेत्रका बालबालिकाको अवस्था मूल्यांकन गर्ने पनि उनको भनाइ छ।

बीस वर्ष नपुगेकाले रिमा र हरिको बिहे बदरयोग्य, दर्ता हुन नसक्ने र बालविवाह गराउने कसुर गरेकालाई ३ वर्ष कैद र ३० हजार रूपैयाँ जरिवाना हुन सक्ने अभियन्ता घिमिरे बताउँछन्। हरेक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक दिएकाले जन्मिएको शिशुको जन्मदर्ता भने हुन सक्छ।

लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुँइटेलले घटनाबारे आफूले जानकारी लिइरहेको बताए। यो विवाह गैरकानुनी भएको भन्दै उनले कानुनी कारबाहीमा जाँदा सुत्केरी बालिकालाई झनै समस्या आउनेतर्फ सचेत हुनुपर्ने बताए।

‘सुत्केरी हुनुअघि नै बालविवाहको सूचना आएको भए कुरै अर्को हुन्थ्यो,’ सिडिओ लुइँटेलले भने, ‘सरसल्लाह गरेर यो घटनाको सम्बोधन गर्छौं।’

हरि र रिमाको घटना उदाहरण मात्रै भएको भन्दै अभियन्ता घिमिरे अन्य ठाउँमा पनि यस्तो भएको हुन सक्ने बताउँछन्। तीनै तहका सरकार बालबालिकाको मुद्दामा चासो नदिएका कारण यस्ता घटना बढ्न सक्ने उनले चिन्ता जनाए। बाल अधिकार स्थापित गराउन बाल अदालतको व्यवस्था भए पनि अहिलेसम्म गठन हुन सकेको छैन। उजुरी नआउँदासम्म प्रहरीले छानबिन नै नगर्नु पनि यस्ता घटना हुनुको अर्को कारण भएको उनको भनाइ छ।

‘स्थानीय सरकारले आफ्नो पालिकाका बालबालिकाको तथ्यांक समेत अद्यावधिक गर्दैनन्,’ उनले भने, ‘जोखिममा रहेका बालबालिका पहिचान गरेर राज्यले संरक्षण गर्नुपर्छ। स्थानीय सरकारले विवरण लिएर संरक्षणका लागि विभिन्न संस्थासँग सहकार्य गर्न सक्छ। बाल अधिकार भोगचलन गराउन सबभन्दा जिम्मेवार स्थानीय सरकार हुनुपर्छ।’

बालबालिका सम्बन्धी ऐन २०७५ ले प्रदेश स्तरमा सामाजिक विकास मन्त्रीको संयोजकत्वमा बालअधिकार परिषद व्यवस्था गरेको छ। स्थानीय तहमा उपप्रमुख वा उसले तोकेका व्यक्तिको संयोजकत्वमा स्थानीय बालअधिकार समिति गठन गर्नुपर्ने उल्लेख छ। उक्त ऐन जारी भए पनि अहिलेसम्म यस्ता परिषद र समिति प्रदेश र स्थानीय तहले बनाएका छैनन्। यस कारण प्रदेश र स्थानीय तहमा बालबालिकालाई हेर्ने आधिकारिक संरचना नै छैन।